११ श्रावण २०८१, शनिबार

मुस्ताङवासी चिसाे छल्न बेँसी झर्दै

चिसो मौसमको सुरुआतसँगै उपल्लो मुस्ताङका सर्वसाधारण बेँसी झर्न थालेका छन्। यही कात्तिक महिना सुरु भएदेखि नै उनीहरूले गाउँ छाडी विभिन्न जिल्लामा पुगेर घुम्ती व्यापार थालेका छन् ।

वृद्धवृद्धाबाहेक धेरैजसो सर्वसाधारण कात्तिकदेखि फागुन दोस्रो सातासम्म बेँसी झरेर घुम्ती व्यापारमा संलग्न हुँदै आएको व्यापारका लागि पर्वतको कुश्मा आइपुगेकी छोसेरकी ल्यामु छिरिङले बताए । यसरी व्यापारमा निस्किएका मुस्ताङीले आफ्नै लगानीमा लत्ताकपडाका साथमा सियो, धागो, जिम्बु, सिद्रा, हिंग, माला, शिलाजितलगायतका सामग्रीको व्यापार गर्दै आएका छन् ।

चार महिना हिमाली जिल्लामा अत्यधिक चिसो हुने भएकाले गत असोज अन्तिम हप्ताभित्र अन्नबाली थन्काएर सर्वसाधारण बेँसी झरेपछि गाउँ नै सुनसान बन्न थालेको छ । मुस्ताङको लोमान्थाङ, घमी, छोसेर, सुर्खाङ र छोन्हुपलगायतका गाउँबाट सर्वसाधारण जाडो छल्न तल बेँसी झर्ने गरेका हुन् ।

चिसोको मौसममा उपल्लो मुस्ताङमा सञ्चालित मावि तथा प्राविले पोखराको विभिन्न स्थानमा घुम्ती कक्षा सञ्चालन गरेर पठनपाठन सञ्चालन गर्ने गरेका छन् । घरमा पालेका बस्तुभाउ बूढाबूढीको जिम्मा लगाएर परिवारका अन्य सदस्य कात्तिक पहिलो हप्तादेखि घरबाट निस्किएका छुसाङकी डग्मी शेरचनले जानकारी दिए । उनी अहिले पर्वतका विभिन्न बस्तीमा व्यापार गर्दै डुलिरहेका छन्।

यस मौसममा मुस्ताङीले घुम्ती व्यापारबाट कम्तीमा रु दुई लाखदेखि पाँच लाखसम्म आम्दानी गरेर बर्खायामलाई पुग्ने गरी खाद्यान्न खरिद गरी लैजाने प्रचलन छ । मुस्ताङको उपल्लो क्षेत्रका बासिन्दा जिल्लाकै तल्लो क्षेत्रका साथै पर्वत, म्याग्दी, बागलुङ, कास्की, गोरखा, तनहुँलगायत देशका धेरैजसो जिल्लामा पुगेर घुम्ती व्यापार गर्ने गरेको हुन्छन ।

उपल्लो मुस्ताङका धेरैजसो बासिन्दा व्यापार व्यवसाय गर्न जाडो लाग्नासाथ बेँसी झर्न थाल्छन् । व्यापार गर्न नहिच्किचाउने र सानो ठूलो जुनसुकै व्यापार गरिरहने मुस्ताङीको विशेषता रहेको पाईन्छ ।