२३ भाद्र २०८१, आईतवार

भारतीय मूलका ऋषि सुनक बन्ने भए बेलायतका नयाँ प्रधानमन्त्री

७ कात्तिक, काठमाडौं । बेलायतको प्रधानमन्त्री ऋषि सुनक बन्ने भएका छन् । सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि उनीसँग प्रतिस्पर्धामा रहेकी पेनी मोर्डन्टले दलको नेतामा उम्मेदवारी फिर्ता लिएपछि सुनक प्रधानमन्त्री बन्ने पक्का भएको हो ।

लिज ट्रसले राजीनामा दिएपछि सुरु भएको सत्तारुढ कन्जरभेटिभ पार्टीमा दलको नेताको खोजी सुरु भएको थियो । मोर्डन्टले पूर्व वित्तमन्त्रीसमेत रहेका ४२ वर्षका सुनकलाई आफ्नो सहयोग रहने बताएकी छन् ।

को हुन् ऋषि ?
भारतीय मूलका ऋषि प्रधानमन्त्री पदमा पुगेसँगै धेरैवटा रेकर्ड राखेका छन् । भारतीय मूलका मात्र हैन, एशियाली मुलकै पहिलो बेलायती प्रधानमन्त्री हुन् ऋषि त्यतिमात्र हैन, बेलायतको उच्च पदमा पुग्ने पहिलो हिन्दु पनि ऋषि नै हुन् । उनका अभिभावक अफ्रिका हुँदै बेलायत आएका भारतीय मूलका आप्रवासी हुन् ।

सन् १९८० मे १२ मा इंल्याण्डको साउथह्याम्टनमा जन्मेका ऋषिले अक्सफोर्ड बिश्वबिद्यालयबाट बीए र स्टाण्डफोर्ड बिश्वबिद्यालयबाट एमबीए गरेका छन् ।
भारतीय सूचना प्रबिधि कम्पनी इन्फोसिसका लगानीकर्ता नारायण मूर्थीकी छोरीसँग बिबाह गरेका ऋषिको जोडी बेलायतका धनी दम्पत्तिमध्ये पर्छन जसको सम्पत्ति ७ सय ३० मिलियन पाउण्ड रहेको छ । उनलाई सवैभन्दा धनी सांसदका रुपमा बेलायती सञ्चारमाध्यमहरुले चित्रण गरेका छन् ।
>उनको करियरको सुरुवात सन् २००१ मा गोल्डम्यान सचमा बिश्लेषकका रुपमा भएको थियो । सन् २००४ देखि १५ सम्म बिभिन्न हेज फण्डहरुमा उनी ब्यबस्थापकका रुपमा कार्य गरे ।
सन् २०१५ मा पहिलोपटक राजनीतिमा प्रवेश गरेका ऋषिको राजनीतिक करियर जम्मा ८ बर्षको छ ।

सन् २०१५ मा रिचमण्डबाट सांसद निर्वाचित भए यता उनले निरन्तर बेलायती राजनीतिको भर्याङ तिब्र गतिमा चढ्दै गए । सन् २०१८ मा स्टेट डिपार्टमेन्टको उपमन्त्री भएका ऋषि टेरेशा मेको कार्यकालमा अर्थमन्त्री बने ।बोरिस जोन्सनको कार्यकालमा चान्सलर बनेका ऋषिले कोभिडकालमा अर्थतन्त्र चलायमान बनाउने कार्यमा जोन्सनको टीममा बसेर मुख्य भूमिका खेलेका थिए ।बोरिस जोन्सनले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्रीको दौडमा देखिएका ऋषि लिज ट्रससँग पराजित भए । तर, ४५ दिनमै ट्रसले राजीनामा दिएपछि अन्ततः ऋषिले प्रधानमन्त्रीको दौड जितेका छन् ।पछिल्ला महिनामा बेलायती प्रधानमन्त्रीले अबलम्बन गरेका आर्थिक नीतिको उनी आलोचक थिए । बिग्रिएको अर्थतन्त्रलाई उकास्ने जिम्मेवारी अब उनकै काँधमा आएको छ ।