३१ भाद्र २०८१, सोमबार

संविधानको रक्षाका लागि गठबन्धनको विजयी आवश्यक : शक्ति बस्नेत

जाजरकोट । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं जाजरकोट बाट प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार शक्तिबहादुर बस्नेतल संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गठबन्धनको विजयी आवश्यक रहेको बताएका छन् । संविधानको रक्षा र मुलुकको आर्थिक समृद्धिका लागि मंसिर ४ को निर्वाचन ऐतिहासिक भएकाले गठबन्धनको विजयी आवश्यक रहेको बताएका हुन् ।

जाजरकोट क्षेत्र नं. १ का मतदाता भेटघाट कार्यक्रमहरूलाई सम्बोधन गर्दै उपमहासचिव बस्नेतले मंसिर ४ को निर्वाचनपछि मुलुकको राजनीति कता जान्छ भन्ने निश्चित हुने बताए । साथै उनले संविधान संशोधनमार्फत जनताका हक अधिकारलाई स्थापित गर्न र अधुरा विकास योजनाहरुलाई सम्पन्न गर्न तथा रोजगारी सृजना हुने ठुला विकास योजना सञ्चालन गर्न गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन मतदातासामु आग्रह गरे ।

‘संविधान बाँकी कामहरूलाई पूर्णता दिनका लागि पनि बाम लोकतान्त्रिक गठबन्धनको जीत आवश्यक छ,’उनले भने,‘संविधानको रक्षा गर्न, शान्ति प्रक्रियाका बाँकी कामहरू पूरा गर्न र अधुरा विकास योजनालाई पूर्णता दिँदै विकासको द्रुतगतिमा विकास गर्नका लागि लोकतान्त्रिक–बाम गठबन्धन बनेको हो ।’

उपमहासचिव बस्नेतले मंसिर ४ को निर्वाचन केवल हार र जीतसँग मात्रै नजोडिएको बताए । ‘संविधानको रक्षा, शान्ति प्रक्रियाका बाँकी कामहरू पूरा गर्न संविधान संशोधनमार्फत सबै क्षेत्र, लिङ्ग, वर्ग, धर्म र समुदायको अधिकार स्थापित गर्न जोडिएको छ,’उनले भने ।