२३ भाद्र २०८१, आईतवार

अहिले अमेरिका र नेपालका लागि महत्त्वपूर्ण क्षण : अमेरिकी राजदूत थम्पसन

काठमाडौँ — नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर थम्पसनले अहिले अमेरिका र नेपालका लागि महत्त्वपूर्ण क्षण रहेको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुक्रबार आफ्नो ओहदाको प्रमाणपत्र बुझाएपछि वक्तव्य जारी गर्दै नेपालका लागि नयाँ राजदूत थम्पसनले भने,‘म हाम्रो समयका सबैभन्दा महत्त्वपूर्ण मुद्दाहरूलाई सम्बोधन गर्न सबै नेपालीहरूसँग सहकार्य गर्न उत्सुक छु ।’

राजदूत थम्पसनले नेपालका लागि अमेरिकी राजदूतका रूपमा काम गर्न पाउनु आफ्नो लागि सम्मानको विषय रहेको उल्लेख गरेका छन् । ‘यस अवसरले मलाई विनयशील बनाएको छ र म सार्वभौमसत्ता र साझा मूल्य मान्यताको सम्मानमा आधारित संयुक्त राज्य अमेरिका तथा नेपालबीचको सम्बन्धप्रति अटल प्रतिबद्धताका साथ सेवा गर्न कटिबद्ध छु,’ उनले वक्तव्यमा भनेका छन् ।

निवर्तमान राजदूत र्‍यान्डी बेरी स्वदेश फर्किएपछि नेपालमा जिम्मेवारी सम्हाल्न आएका राजदूत थम्पसनले आगामी वर्षहरूमा अमेरिकाले नेपाललाई दिगो र समावेशी आर्थिक विकासको लक्ष्य हासिल गर्न सहयोग गरिरहने उल्लेख गरे ।

‘जलवायु संकटले हिमालय क्षेत्रमा प्रभाव पारिरहँदा हामी नवीन कार्यक्रम र साझेदारीमार्फत नेपालको जलवायु उत्थानशीलतालाई बलियो बनाउन मद्दत गर्ने छौं,’ उनले भनेका छन्,‘नागरिक समाज, स्वतन्त्र मिडिया र सरकारसँग सहकार्य गर्दै हाम्रा दुई देशले भ्रष्टाचार, दुष्प्रचार र दमनबाट मुक्त रही निरन्तर लोकतन्त्रको रक्षा र जनताको इच्छाशक्तिलाई सुदृढ गर्नेछन् ।’