२०८३ श्रावण १९, मंगलवार

काठमाडौँमा खाना पकाउने ग्यासको चरम अभाव : खाली सिलिन्डर बोकेर हप्तौँ लाइनमा बस्न बाध्य उपभोक्ता

तुफान न्युजको लागि समिक्षा थापाको रिपोर्ट

काठमाडौँ।  काठमाडौँ उपत्यकामा केही दिनयता खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ। बजारमा ग्यास सहज रूपमा उपलब्ध नहुँदा सर्वसाधारणको दैनिक जीवन कष्टकर बन्दै गएको छ। घरमा खाना पकाउन समेत समस्या भएपछि उपभोक्ता बिहानैदेखि खाली सिलिन्डर बोकेर विभिन्न ग्यास डिपोमा लामो लाइन बस्न बाध्य भएका छन्।

उपभोक्ताका अनुसार ओम, सिद्धार्थ, नेपाल लगायतका ग्यास कम्पनीका डिपोमा बिहानदेखि लाइन बसे पनि तत्काल ग्यास प्राप्त हुन नसक्ने अवस्था छ। कतिपयले एक हप्तासम्म पालो कुर्नुपरेपछि मात्र ग्यास पाउने गरेको गुनासो गरेका छन्।

ग्यास विक्रेताहरूका अनुसार मागअनुसार पर्याप्त सिलिन्डर तथा ग्यास आपूर्ति हुन नसक्दा ग्राहकलाई वितरण गर्न कठिनाइ भइरहेको छ। यसको प्रत्यक्ष असर सर्वसाधारणको दैनिकीमा मात्र होइन, साना होटल, रेस्टुरेन्ट, होस्टल तथा अन्य ग्यासमा निर्भर व्यवसायमा समेत परेको छ।

ग्यास अभाव लम्बिँदै जाँदा बजारमा उपभोक्ताको सास्ती बढेको छ। सम्बन्धित निकायले समस्या समाधानका लागि प्रभावकारी पहल नगरेको भन्दै उपभोक्ताले असन्तुष्टि र आक्रोश व्यक्त गरेका छन्। उनीहरूले ग्यासको नियमित आपूर्ति सुनिश्चित गर्न तथा कृत्रिम अभाव, कालोबजारी र वितरण प्रणालीमा हुने अनियमितताको तत्काल छानबिन गरी आवश्यक कारबाही गर्न सरकारसँग माग गरेका छन्।

उपभोक्ताहरूले अत्यावश्यक उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै ग्यास अभाव तत्काल अन्त्य गर्न सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।