सुर्खेत :एकीकृत कृषि प्रयोगशाला सुर्खेतकी २७ वर्षीया प्राविधिक सहायक चन्द्रा सिंहको मृत्यु प्रकरणमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका नायब सुब्बा (नासु) कविलाल बीसी पक्राउ परेका छन्।
मृतकका श्रीमान महेश बस्नेतले आत्महत्या दुरुत्साहनको कसुरमा दिएको किटानी जाहेरीका आधारमा प्रहरीले साउन १६ गते उनलाई नियन्त्रणमा लिएको हो।
जाजरकोटको भेरी नगरपालिका–१ घरभएकी सिंह वीरेन्द्रनगर–७ इत्रामस्थित कार्यालयको आवास गृहको शौचालयमा अचेत अवस्थामा भेटिएकी थिइन्। उनलाई उपचारका लागि प्रदेश अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रारम्भिक अनुसन्धानमा उहाँहरूबीच फेसबुक च्याटमा कुराकानी हुने गरेको र केही शंकास्पद विषयहरू समावेश भएको पाइएको छ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख, प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले भने, ‘अहिले हामी गम्भीरताका साथ अनुसन्धानमै छौं। अदालतबाट म्याद थप गरी घटनाका सम्पूर्ण पाटाहरू केलाउने काम भइरहेको छ।’
उज्यालो भविष्य बोकेर सेवामा खटिएकी युवा कर्मचारीको यसरी अप्रत्याशित अन्त्य हुनुले एकीकृत कृषि प्रयोगशाला र परिवार शोकमा डुबेको छ । कानुनी दायरामा ल्याइएका बी.सी.माथिको अनुसन्धानले नै चन्द्राको मृत्युपछाडिको वास्तविक सत्य बाहिर ल्याउने अपेक्षा परिवारकाे छ ।सिंहकाे आइतबार अन्त्यष्टी गरिएकाे छ ।
