बर्दिया : डिभिजन वन कार्यालयमा कार्यरत गुलरिया नगरपालिका–१ का इन्जिनियर सुभम यादवमाथि कार्यालय परिसरमै कुटपिट भएको छ ।
उनीमाथि सोमबार राति कुटपिट भएको हो । घाइते इन्जिनियरको टाउकोमा ७ टाका लगाइएको छ । उनलाई सोमबार राति नै उपचारका लागि बर्दिया अस्पताल लगिएको थियो ।
चालु आर्थिक वर्षमा काठ लिलामको लागि वन कार्यालयले टेन्डर आह्वान गरेको छ । जसकारण पछिल्लो समय कार्यालय वरपर काठ व्यवसायीहरूको भीडभाड हुने गरेको छ ।
डिभिजन वनमा आउने अन्य सेवाग्राहीलाई टेन्डर खरिदका लागि आएकोमा अवरोध गरेको र त्यसो नगर्न आग्रह गर्दा कुटपिटमा परेको इन्जिनियर यादवको दाबी छ । ‘राति वस्तीमा हात्ती प्रवेश हुँदा हात्ती धपाउन ड्रोन लिएर जानुपर्ने भएकाले राति अबेरसम्म कार्यालयमै बस्नु पर्छ,’ उनले भने, ‘सोमबार राति खाना खाएर कार्यालय परिसरकै क्यान्टिनमा बसिरहेको अवस्थामा ३ जनाको समूह आएर कुटपिट गरे ।’
