मलेसियाबाट कृष्ण बहादुर बि.क.
काठमाडौं । मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न २५औँ मिलो इन्टरनेशनल ओपन कराते च्याम्पियनसिप–२०२६ मा नेपाली कराते टोलीले उत्कृष्ट प्रदर्शन गर्दै १ स्वर्ण, ४ रजत र ४ कांस्य गरी कुल ९ पदक जित्न सफल भएको छ। अन्तर्राष्ट्रिय रंगमञ्चमा नेपालको झण्डा फहराउँदै गौरवपूर्ण उपलब्धि हासिल गरेको टोली स्वदेश फर्कने क्रममा रहेको छ।
गत जुन २५ देखि २८, २०२६ सम्म सञ्चालन भएको प्रतिष्ठित प्रतियोगितामा नेपालका विभिन्न जिल्लाबाट छनोट भएका प्रतिभावान खेलाडीहरूले सहभागिता जनाएका थिए। कराते क्लब बालाजु, काठमाडौं महानगरपालिका–१६ लगायत देशका विभिन्न कराते क्लबका खेलाडीहरूले नेपालको प्रतिनिधित्व गर्दै सशक्त प्रदर्शन गरेका हुन्।
प्रतियोगितामा होम गुरुङ ले स्वर्ण पदक जित्दै नेपालको शिर उच्च बनाएका छन्।
रजत पदक विजेतामा अनिश थापा (तिलोत्तमा नगरपालिका), प्रजोल थापा (तिलोत्तमा नगरपालिका), राजेश तामाङ (दाङ) र अभिन परियार (दाङ) रहेका छन्।
त्यस्तै कांस्य पदक जित्ने खेलाडीहरूमा महेन्द्र थारु (नवलपरासी), पिंकी चौधरी (कपिलवस्तु), सोहन सिन्जाली तथा इशान घिमिरे (शुद्धोधन गाउँपालिका) रहेका छन्।
प्रतियोगितामा सहभागी नेपाली टोलीमा होम गुरुङ, अनिश थापा, अभिन परियार, इशान घिमिरे, अनिशा थापा, राजेश तामाङ, प्रजोल थापा, रीता कुमारी चौधरी, महेन्द्र थारु, मिनबहादुर सेजल, युवराज थारु, पिंकी थारु, सुस्मिता थारु, निरु थारु चौधरी, भीमबहादुर रोकाहा तथा सोहन सिन्जाली खेलाडीका रूपमा सहभागी थिए।
टोलीको आधिकारिक प्रतिनिधित्वतर्फ सञ्जय कुमार चौधरी थारु र सन्तु डंगोरिया थारु रेफ्रीका रूपमा, विष्णु थापा बिष्ट टिम म्यानेजरका रूपमा तथा कृष्ण बहादुर बि.क. टिम कोचका रूपमा सहभागी भएका थिए।
भोलि बिहानको उडान मार्फत बिहान 10 : 00 बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा उत्रनलागेको यो टिमलाई स्वागत गर्न कराते क्लब बालाजुटार र कराते महासंघका प्रतिनिधि समेत उपस्थित हने टिम कोच कृष्ण बहादुर बि.क.ले जानकारी गराएका छन् ।
यस अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरूले प्रदर्शन गरेको क्षमता, अनुशासन र आत्मविश्वासले नेपालको कराते खेलको स्तर विश्वसामु थप उजागर गरेको छ। सीमित स्रोत–साधनका बाबजुद अन्तर्राष्ट्रिय मञ्चमा ९ पदक जित्न सफल हुनु नेपाली कराते इतिहासकै अर्को गौरवपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
स्वदेश फर्कँदै गरेका खेलाडीहरूको यो सफलता केवल व्यक्तिगत उपलब्धिमा सीमित छैन, यसले सम्पूर्ण नेपाली खेलकुद क्षेत्रलाई नयाँ ऊर्जा, प्रेरणा र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अझ उच्च लक्ष्य हासिल गर्ने आत्मविश्वास प्रदान गरेको छ।
