२०८३ असार १७, बुधवार

होटल व्यवसायीलाई आतिथ्य व्यवस्थापन तालिम सम्पन्न

काठमाडौं / बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गत पर्यटन कार्यालय काठमाडौं र रैथाने संरक्षण नेपालको आयोजनामा तथा होटल एसोसिएसन नेपालको समन्वयमा होटल व्यवसायीका लागि आतिथ्य व्यवस्थापन सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ। तालिम मंगलबार काठमाडौंस्थित होटल रामायणमा आयोजना गरिएको थियो।

होटल व्यवसायीलाई आतिथ्य व्यवस्थापन, होटल सञ्चालन सम्बन्धी कानुनी व्यवस्था तथा होटलमा रैथाने कृषि उत्पादन, परिकार, सीप र प्रविधिको महत्वबारे जानकारी गराउने उद्देश्यले तालिम आयोजना गरिएको हो।

तालिमको उद्घाटन पर्यटन कार्यालय काठमाडौंका प्रमुख पवनकुमार पोखरेलले बिरुवामा पानी सिँचेर गरेका थिए। उद्घाटन कार्यक्रममा उनले नेपालको पर्यटन विकासका लागि स्थानीय उत्पादन, मौलिक खानाका परिकार र गुणस्तरीय आतिथ्य सेवाको प्रवर्द्धन आवश्यक रहेको बताए। साथै, पर्यटन कार्यालयले सञ्चालन गर्दै आएका सेवा र कार्यक्रमबारे पनि सहभागीलाई जानकारी गराए।

तालिममा नाथमका प्रशिक्षक बिनोद अर्यालले आतिथ्य व्यवस्थापनका विषयमा, रैथाने एग्री प्रडक्ट्स नेपालका अध्यक्ष तिलक ढकालले होटल व्यवसायमा रैथाने कृषि उत्पादन, परिकार, सीप र प्रविधिको महत्वका विषयमा तथा घनेन्द्र श्रेष्ठले होटल सञ्चालनसम्बन्धी कानुनी प्रावधानका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता संस्थाका उपाध्यक्ष डा. आलोकबाबु प्रसाईंले गरेका थिए भने सञ्चालन संस्थाका सचिव ध्रुवराज पौडेलले गरेका थिए।

समापन समारोहमा काठमाडौं महानगरपालिका वडा नं. १७ का अध्यक्ष मानबीर मानन्धर प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। उनले तालिममा सहभागी सबैलाई प्रमाणपत्र तथा प्रशिक्षकहरूलाई प्रशंसापत्र वितरण गरे। समापन सत्रका अध्यक्ष धनप्रसाद राईले प्रमुख अतिथि, प्रशिक्षक तथा विशिष्ट अतिथिहरूलाई मायाको चिनोस्वरूप मुस्ताङको उवाको सातु, कर्णालीको मिठे फापरको पिठो र कागुनोलगायत रैथाने कृषि उपज प्रदान गरे।

तालिममा ६० भन्दा बढी होटल सञ्चालक तथा कर्मचारीको सहभागिता रहेको थियो। आयोजकले यस्ता तालिमले होटल क्षेत्रमा रैथाने कृषि उत्पादनको प्रयोग बढाउन, स्थानीय किसानलाई बजारसँग जोड्न तथा नेपालको मौलिक खाना, संस्कृति र पर्यटनको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।