काठमाडौँ । ‘सिर्जनाको खोजी, प्रतिभाको सम्मान,सूचचको राष्ट्रिय अभियान’ नाराका साथ साहित्यिक उन्नयनमा लागिपरेको सूचक प्रकाशनले बालसाहित्यका चार पुस्तकहरू र निद्रा देउजाका कवितासङ्ग्रह गरी पाँच पुस्तक एकसाथ विमोचन गरिएको छ ।
सूचक प्रकाशनको संयोजनमा शब्दसरोवर डटकम, लोमश वाङ्मय प्रतिष्ठान,बालसंस्कार डटकम को संयुक्त आयोजनामा ‘बालबालिकामा पठन संस्कृति विकासका लागि राष्ट्रिय बालसाहित्य अभियान’ अन्तर्गत प्रकाशित पुस्तकहरूको विमोचन गरिएको हो ।
पुतलीसडकस्थित ग्रीन लिफ फुड क्याफेमा आयोजित कार्यक्रममा प्रमुख अतिथि लगायत अतिथिहरुले साहित्यकार जलेश्वरी श्रेष्ठको बालकथा ‘सुनपरी’,विमलादेवी अधिकारीको बालकविता ‘जून’ दीपक भेटुवाल ‘दीपसागर’को बालकथा ‘लड्डुको खोज’, सुशीला देउजाको बालकथा ‘काले’, र निद्रादेवी देउजाको कविताकृति ‘अमूर्त घर’ एकसाथ लोकार्पण गरे ।
कार्यक्रममा बालसाहित्य समाजका निवर्तमान अध्यक्ष तथा प्रमुख अतिथि साहित्यकार प्रमोद प्रधानले साहित्यका क्षेत्रमा बालसाहित्य लेखनलाई साहित्यनै नमान्ने परिपाटी रहेको बताउँदै विगत केही समयदेखि उक्त भ्रम चिरिंदै गएको बताए । उनले बालकृतिमा उपदेशात्मक भावका लेखनले बालबालिकामा सकारात्मक प्रभाव नदिने बताउँदै तिनलाई पढ्न रुचिकर हुने सामग्री प्रस्तुत गरिनुपर्ने बताए । समाजमा हराउँदै गएको पठन संस्कृति तर्फ ईङ्गित गर्दै प्रधानले भने अभिभावक आफैँ किताब पढ्दैनन् अनि केटाकेटीलाई पढ् पढ् मात्र भनेर सार्थक परिणाम नआउने उनको कथन थियो ।
सो अवसरमा ‘सुनपरी’ र ‘काले’ को समीक्षा गर्दै डा.नवराज रिजालले भविष्यका कर्णधार बालबालिकाहरुको चेतनालाई समष्टिगत रुपमा मध्यनजर गर्दै बालबालिकामा सकारात्मक प्रभाव पार्ने कृतिका रुपमा सुनपरी पाठकमाझ ल्याइएको उल्लेख गरे ।यसैगरी बालकथासङ्ग्रह ‘काले’ बारे उल्लेख गर्दै संवेदना,सहानुभूति,स्वाभिमान र आत्मविश्वासका पाटोलाई सवल रुपमा उठान गरि लेखिएको बताउंदै यस्ता सामग्रीहरुले पठन संस्कृतिलाई मलजल गर्ने बताए ।
बालकवितासङ्ग्रह ‘जून’ र ‘लड्डुको खोज’ कथासङ्ग्रहका बारे समीक्षात्मक धारणा राख्दै डा.शैलेन्दुप्रकाश नेपालले ‘जून’ कवितासङ्ग्रह लयमा ढालेर गाउन मिल्ने सरल र सन्देशमुलक कविताहरु रहेको बताउँदै कृतिहरू पठनीय रहेको बताए । बालउपन्यासको ढाँचामा लेखिएको बालकथा ‘लड्डुको खोज’ स्वेरकल्पनामा आधारित सन्तुलित,सुन्दर र प्रवाहपूर्ण बालकथाले बालबालिकाका पठन संस्कृतिलाई बढावा दिन सक्षम हुने धारणा व्यक्त गरे ।
कार्यक्रममा ‘अमूर्त घर’ कवितासङ्ग्रहबारे चर्चा गर्दै अर्का वक्ता माधव घिमिरे ‘अटल’ले कवि देउजाका यस अघि प्रकाशित भइसकेको अदृश्य हावा कवितासङ्ग्रहको छोटो समयमै दोस्रो कृतिका रुपमा आएको ‘अमूर्त घर’ प्रतीकात्मक कविता रहेको औंल्याउँदै छोटो समयमै दोस्रो कृति प्रकाशित हुनु उनको सिर्जनशीलताको दसी रहेको बताए । उनले आत्मानुभूति मा लेखिएको कवितासङ्ग्रहको काव्यिक सफलताका निम्ति शुभकामना व्यक्त गरे ।
उक्त कार्यक्रममा डा. छायादत्त न्यौपानेले प्रविधिको प्रयोगले कमजोर हुँदै गइरहेको पठन संस्कृतिलाई पुनर्जीवित गर्नुपर्ने बताउँदै हरेक घरबाटै फेरि यसको विकास गरिनुपर्नेमा जोड दिए । उनले एक व्यक्ति र साहित्यको अभियानले धेरै केही गर्न नसकिने बताउँदै सवैले सामूहिक रुपमा पठन संस्कृतिलाई मलजल गरिनुपर्ने आवश्यकतामा जोड दिंदै पठन संस्कृतिका विविध पक्ष माथि प्रकाश पार्दै जीवन पढ्नु पनि सार्थक पढाई हुने बताए ।
कार्यक्रममा लेखक तथा सूचक प्रकाशन संस्थाका प्रमुख दीपक भेटुवाल दीपसागरले बालबालिकामा पठन संस्कृतिको विकासका निम्ति आफूहरुले ‘एक हात एक पुस्तक एक घर एक पुस्तकालय’ को अवधारणा अनुरुप काम गर्दै आएको बताए । उनले भाषा,कला र साहित्यको माध्यमबाट समाजलाई निरन्तर जोड्ने सेतुको रुपमा कार्य गर्ने सिलसिलामा लोमश वाङ्मय प्रतिष्ठान, शब्दसरोवर डटकम तथा बालसंस्कार डटकम जस्ता साझेदार संस्था संगको सहकार्यले आगामी दिनमा अझै परिष्कृत रुपमा अघि बढ्न सकिने कुरामा आफू विश्वस्त रहेको बताए ।
विमोचित कृति र लेखकहरुको तर्फबाट धारणा राख्दै कवि विमलादेवी अधिकारीले निकै अघि लेखिएका आफ्ना कविताहरुलाई केही परिमार्जन गरेर पुस्तकाकारका रुपमा प्रस्तुत गरिएको बताउँदै यथोचित प्रतिक्रिया अपेक्षित रहेको बताइन् । यसैगरी कार्यक्रममा अर्का कवि निद्रा देउजाले आफू कुनै साहित्यकार नरहेको तर साहित्य आफ्ना लागि ठूलै प्राप्ति र उपलब्धि रहेको बताउँदै अमूर्त घर कवितासङ्ग्रहबाट रचना वाचन गरिन् ।
सोही अवसरमा पठन संस्कृति विकासका लागि राष्ट्रिय बाल साहित्य अभियान अघि बढाउने जानकारी गराउँदै सोको औपचारिक घोषणा वृहत् समारोहका साथ यही जेठको अन्तिम सातामा गरिने जानकारी गराइएको थियो ।
सूचक प्रकाशनका विशेष सदस्य समेत रहनुभएकी वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठककाे अध्यक्षतामा सम्पन्न भएकाे साे कार्यक्रममा अमर कीर्तिमानीको स्वागत मन्तव्य, गङ्गा खतिवडा र अप्सरा केसीद्वारा अतिथिहरूलाई खादा अर्पण तथा मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेको शुभकामना मन्तव्य रहेको थियाे भने उक्त कार्यक्रमको सहजीकरण माइन्ड प्लसका प्रबन्ध निर्देशक नवीन पल्लवद्वारा गरिएको थियो ।
