१६ बैशाख २०८३, बुधबार

“रैथाने स्वादबाट पर्यटन प्रवर्धन” — आमाछोदिङ्मोमा कुक तालिम सम्पन्न

रसुवा / रसुवाको आमाछोदिङ्मो गाउँपालिकामा रैथाने परिकारमार्फत ग्रामीण पर्यटन प्रवर्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको तीन दिने कुक तालिम सफलतापूर्वक सम्पन्न भएको छ। गाउँपालिका–५, पुरानो तातोपानी क्षेत्रमा आयोजित उक्त तालिमले स्थानीय स्तरमै रोजगारी र आयआर्जनका नयाँ सम्भावनाहरू उजागर गरेको छ।

आमाछोदिङ्मो गाउँपालिकाको आयोजना तथा एक्स्प्लोर इन्स्टिच्युट अफ होटल म्यानेजमेन्टको सहकार्यमा सञ्चालन गरिएको तालिममा स्थानीय होमस्टे सञ्चालक, होटल व्यवसायी तथा इच्छुक व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष बुचुङ तामाङले प्राकृतिक सौन्दर्य, कृषि तथा हाइड्रो पर्यटनको प्रचुर सम्भावना बोकेको आमाछोदिङ्मो क्षेत्रमा यस्ता सीपमूलक तालिमहरूले पर्यटन विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्दै चिलिमे तातोपानी क्षेत्रलाई थप आकर्षक पर्यटन गन्तव्य बनाउन सहभागीहरूलाई आग्रह गर्नुभयो।

कार्यक्रमका सभाध्यक्ष एवं वडाध्यक्ष दावा गोम्बो तामाङले स्थानीय स्रोत, सीप र श्रमको प्रयोग गरी उत्पादन गरिएका वस्तुहरूको उपभोगमा जोड दिनुपर्ने धारणा राख्दै सिकेको सीपलाई व्यवहारमा रूपान्तरण गर्न आग्रह गर्नुभयो।

तालिममा सहभागी प्रशिक्षार्थीहरूले यस्तो तालिमले आफूहरूलाई आत्मनिर्भर बन्ने मार्ग देखाएको उल्लेख गर्दै होमस्टे सञ्चालनमार्फत आयआर्जन गर्ने अवसर सिर्जना भएको प्रतिक्रिया दिएका छन्।

तालिममा डा. अलखबाबु (आलोक) प्रसाईले होमस्टे पर्यटनसम्बन्धी सैद्धान्तिक ज्ञान प्रदान गर्नुभएको थियो भने चर्चित युवा सेफ बिजय घिमिरेले स्थानीय उत्पादनबाट विविध परिकार तयार गर्ने व्यावहारिक सीप सिकाउनुभएको थियो। साथै, संस्थाका निर्देशक राजेन्द्रप्रसाद त्रिपाठीले होमस्टे पर्यटनको बजारीकरणका पक्षहरूबारे प्रशिक्षण दिनुभएको थियो।

उक्त तालिममा दुई दर्जनभन्दा बढी सहभागीहरूले सक्रिय रूपमा सहभागिता जनाएका थिए।