३०>असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रदर्शनी खेलका रुपमा रहेका र्याफ्टिङ र कायाकिङ प्रतियोगिता आइतबार पोखरा १७, दोबिल्लामा भयो । कायाकिङ प्रदर्शनी प्रतियोगितामा उदयपुरका डम्बरबहादुर पूर्वाछाने पहिलो, चितवनका नवीन श्रेष्ठ दोस्रो र चितवनकै विजय गुरुङ तेस्रो भए ।
१४ जना खेलाडी सहभागी भएको खेलमा पुरुषहरुको भिडमा एक्लै थिइन्, खोटाङकी सुधा राई (२२) । उनले आफ्नो कलामात्रै देखाइनन्, उत्कृष्ट प्रदर्शन पनि प्रस्तुत गरिन् । कायाकिङ कायाक सलालाम विधा अन्तर्गत २ सय मिटर दूरीमा उनले ११३.९० अंक ल्याइन् ।
तर, सुधा आइतबार नवौं अन्तर्गतको कायाकिङ प्रदर्शन खेलमा मात्रै एक्लै उभिएकी होइनन् । यसअघि पनि थुप्रै खेलमा त्यसरी नै पुरुषहरुको बीचमा आफूभन्दा अग्लो कायाक बोकेर पुग्थिन् । तर, यो उनको रहर होइ न, बाध्यता हो ।
यसै त जुनसुकै खेलमा पनि महिलाहरुको संख्या कम छ । त्यसमाथि यो खेल्न साह्रै गाह्रो हुने भएकाले कोही पनि आउनै मान्दैनन्,’ सुधा भन्छिन्, ‘जहाँ गए पनि यस्तै गरेर दाइहरुको पछि लागेर जानुपर्छ । जहिल्यै म एक्लै हुन्छु ।’
धरानबाट १२ कक्षासम्मको पढाइ सकेर राई पोखरा आइन् । पोखरामा उनका आफन्तीहरु पथप्रदर्शकको काम गर्दछन् । उनलाई पनि त्यही कामका लागि पोखरा बोलाइएको थियो । ‘बाबाले पनि गाइड नै बन् भनेर भन्नुभाथ्यो । तर, मलाई गाइडिङ गर्नैै मन लागेको थिएन,’ सुधा भन्छिन्, ‘त्यही भएर पनि अर्को उपायको खोजीमा लागें ।’
ट्रेकिङ गाइडबाट छुटकारा पाउन सुधाले विकल्प खोज्दै थिइन् । त्यति नै बेला उनका दिदी नाता पर्ने एकजनासँग भेट भयो, जो पोखराको सिनियर ट्रेकिङ गाइडमध्येमा पर्थिन् र पछिल्लोपटक ¥याफ्टिङमा लागेकी थिइन् । ‘दिदी गाइडिङ छोडेर ¥याफ्टिङमा लागेको मलाई पनि सुरुमा थाहा थिएन । तर, थाहा पाइसकेपछि म पनि तपाईंले जस्तै गर्छु भनेपछि निम दाइसँग सम्पर्क गराइदिनुभयो,’ उनले भनिन् ।
प्याडल नेपाल नामक कम्पनी खोलेर पर्यटन व्यवसायी सम्हालिराखेका निमबहादुर पुन तत्कालीन समयमा नेपाल एसोसियसन अफ ¥याफ्टिङ एजेन्सीज् (नारा)का अध्यक्ष पनि थिए । सुधाले पुनकै कम्पनीबाट कायाक सिक्ने मौका पाइन् ।
यो ५ वर्षको दौरानमा सुधाले आफूमा पनि सक्दो सुधार ल्याएकी छन् । तर, साहसिक खेलअन्तर्गत पर्ने कायाकिङमा आफ्ना प्रतिस्पर्धी नभेटाउँदा उनी दुखी छिन् । ‘दाइहरु त धेरै भएर कम्पिटिसन भइरहन्छ । तर, लेडिजको त पार्टिसिपेट गर्नेबेला एक्लै भइन्छ,’ उनले सुनाइन्, ‘दाइहरु धेरै हुन्छन्, म एक्लै हुँदा अलिक नरमाइलो त लागिहाल्छ नि !’
यसअघि सुधाले पहिलो पटक २०१९ मा भोटेकोशीमा भएको एउटा अन्तर्राष्ट्रिय प्रतियोगितामा आफूजस्तै कायाक चलाउने ५ जना महिला प्रतिस्पर्धी भेटेकी थिइन् । त्यसमध्ये आफूमात्रै नेपाली थिइन् भने बाँकी सबै विदेशी । ‘त्यैबेला हो मैले सबैभन्दा बढी ५ जना केटी भाथ्यौं । नत्र त जता पनि मैमात्र रैछु भन्ने लाग्छ,’ उनले भनिन् । उक्त प्रतियोगितामा उनले कांस्य पदक हात पारेकी थिइन् ।
कायाक खेल्न गाह्रो मात्रै नभएर जोखिम हुने भएकाले कुनै महिला आउनै नचाहने सुधाको अनुभव छ । त्यसमाथि आफूले चलाउने कायाक पनि एकदमै गह्रौं हुने र झन्झटिलो हुने सुनाइन् । ‘यो चलाउन गाह्रोमात्रै होइन, एकदमै रिस्क हुने भएकाले पनि कोही आउन मान्दैनन्,’ उनले भनिन्, ‘त्यसमाथि कायाक सबैले बोक्नै सक्दैनन् ।’
पोखराको फेवातालमा अरुबेला कायाक तयारी गरे पनि कायाक सलालाम विधा खेल्न पहिलोपटक खोलामा पुगेकी हुन् उनी । उनले तालभन्दा पनि बढी खोलामा जोखिम अनुभूति गरेको सुनाइन् । ‘पहिले तालमा गरिन्थ्यो । यो मेरो पनि पहिलोपटक भएर खोलामा पस्नुभन्दा पहिले साह्रै डर लागेको थियो,’ उनले भनिन ।
कायाकिङ जोखिमयुक्त भए पनि सुधाले आफ्नो भविष्य देखेकी छन् । केही भइहाल्छ कि ! भन्ने डर लागेपनि उनी डरलाई जितेर अगाडि बढ्न चाहन्छिन् । भन्छिन्, ‘डर त लागिहाल्छ नि, जोसँग डर छैन त्यसले केही पनि गर्न सक्दैन पनि भन्छन् नि । डरलाई जितेर त अगाडि बढ्ने हो । मलाई अझै डर लाग्छ ।
अहिले आफू एक्लै भए पनि केही समयपछि भने कायाकिङ चलाउने नयाँ महिलाहरुको आगमन हुनेमा सुधा ढुक्क छिन् । अहिले उनले काम गरिरहेकै कम्पनीमा पनि थप ३ जना नयाँ महिला आएका छन् । ‘उनीहरुले अहिले ट्रेनिङ गर्दैछन् । अरुमा पनि थपिएका होलान् । उनीहरुले राम्रो गरेपछि प्रतियोगिताहरु हुन्छन् भन्ने लागेको ।