११ श्रावण २०८१, शनिबार

नवाैं राष्ट्रिय खेलकुद प्रतियोगिता पाेखरामा घट्याे दुखद घटना :

पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोतिास्थलमा दुखद घटना घटेको छ ।प्रतियोतिास्थलमा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबको तर्फबाट भाग लिएका २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो ।

खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अबस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशमा उडिरहेको अबस्थामा अकस्मात सराङकोटस्थित जमिनमा खसेको थियो ।

दुर्घटनामा घाइते थापाको स्थानीय मेट्रोसिटी अस्पतालमा पुर्याएलगत्तै डाक्टरले मृत घोषणा गरेका थिए । यस्तै खेलकुद अन्तर्गत एथलेटिक्सको फिल्ड इभेन्ट हाइजम्प महिलातर्फ त्रिभुवन आर्मी क्लबकी खगिता सिञ्जालीमगरले स्वर्ण जितेकी छन् ।

पोखरा रङ्गशालामा आज सम्पन्न फाइनलमा एक मिटर ५२ सेन्टिमिटर जम्प गर्दै खगिताले स्वर्ण जितेकी हुन् । एक मिटर ५० सेन्टिमिटर जम्प गरेकी आर्मीकै विन्दु थनेतले रजत जितिन् र गण्डकी प्रदेशकी सीमा श्रेष्ठले कास्य जितिन् । श्रेष्ठले एक मिटर ४१ सेन्टिमिटर जम्प गरिन् ।

तियोगिताअन्तर्गत फुल कन्ट्याक्ट करातेमा आयोजक गण्डकी प्रदेश र विभागीय नेपाली सेनाले तीन–तीन स्वर्ण पदक जितेका छन् । यसैगरी सशस्त्र प्रहरीले दुई स्वर्ण, मधेस प्रदेश, नेपाल प्रहरी र बागमती प्रदेशले समान एक–एक स्वर्ण हात पारेका छन् । पोखराको नयाँबजारस्थित प्रदर्शनी हलमा शनिबार राति सम्पन्न खेलमा गण्डकीले पुरुषफर्तको ३०–४०, ४५–५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०–५५ तौल समूहमा एक स्वर्ण जितेको हो । करातेमा पुुरुषका सात र महिलाका पाँच विधा गरी १२ विधामा प्रतिस्पर्धा गराइएको हो ।

यसैगरी सेनाले खुला तौल समूह पुरुष, महिला र ६०–६५ केजी तौल पुरुषमा समूहमा स्वर्ण जितेको हो । खेलमा पुरुषतर्फको खुला तौल समूहमा नेपाल आर्मीका विजय सिंहले स्वर्ण जिते । गण्डकीका रुपक नेपालीलाई फाइलनमा पराजित गरी उनले स्वर्ण हात पारेका हुन् ।

सातौँ र आठौँ राष्ट्रिय खेलकुदमा स्वर्ण जितेका नेपालीको ह्याट्रिक गर्ने दाउमा आर्मीका सिंह तगारो बने । नेपालीले रजत पदकमा चित्त बुझाए । पुरुषतर्फकै ६०–६५ केजी तौल समूहमा सेनाका सनी सिंहले गण्डकीका शिव भुजेललाई पराजित गरी स्वर्ण पदक हात पार्नुभयो । भुजेलले रजत पदक जिते । पुरुषतर्फकै ५५–६० केजी तौल समूहमा नेपाल प्रहरीका सुशन लामिछानेले स्वर्ण र नेपाल सेनाका विकास गुरुङले रजत पदक जिते ।

पुरुषतर्फकै ५०–५५ केजी तौल समूहमा मधेस प्रदेशका धरमिन्दर रामले स्वर्ण जित्दा नेपाल आर्मीका चोकबहादुर बुढाथोकीले रजत पदकमा चित्त बुझाए । यसैगरी ४५–५० केजी तौल समूहमा गण्डकीका अनिष बुढामगरले बागमतीका विजय राइलाई पराजित गरी स्वर्ण जिते । बागमतीका राईले रजतमा चित्त बुझाए ।

यसैगरी ४०–४५ केजी तौल समूहमा सशस्त्र प्रहरीका सुनिल तामाङले सेनाका राजकुमार यादवलाई पराजित गरी स्वर्ण पदक जितेका छन् । पुरुषतर्फको ३५–४० तौल समूहमा गण्डकीका अभिषेक डिमडुङले सेनाका सागर थिङलाई फाइनलमा पराजित गरी स्वर्ण जित्दा थिङले रजत पदकमा चित्त बुझाए ।

महिलातर्फको खुला तौल समूहमा सेनाका मञ्जु विकले बागमती प्रदेशका निशा बोहोरालाई पराजित गरी स्वर्ण जिते । यसैगरी ५०–५५ केजी तौल समूहमा गण्डकीका धनी रानामगरले सेनाका पत्रिका चन्दलाई पराजित गरी स्वर्ण जित्न सफल भए ।
यसैगरी ४५–५० केजी तौल समूहमा बागमती प्रदेशका नवीना धमालले सशस्त्र प्रहरीका करिष्मा कार्कीलाई पराजित गरी स्वर्ण जित्दा कार्कीले रजत पदकमा चित्त बुझाइन् । ४० देखि ४५ केजी तौल समूहमा सशस्त्र प्रहरीका रीना माझीले नेपाल प्रहरीकी अञ्जना ढुङ्गेललाई पराजित गरी स्वर्ण पदक जिते ।

महिलातर्फको ३५–४० तौल केजी समूहको खेल भने स्थगन भएको छ । सशस्त्र प्रहरीले रेफ्रीले गलत निर्णय गर्दा आफ्नो खेलाडी पराजित भएको भन्दै विवाद गरेपछि खेल स्थगन भएको प्रतियोगिता सहसंयोजक दीपक गोदारले बताए । विवादका कारण शनिबार दिउँसो साढे २ घण्टा सबै प्रतिष्पर्धा रोकिएका थिए । प्रतियोगितामा सात प्रदेश, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र एनआएनए गरी ११ टिम सहभागी भएका थिए ।

भलिबलमा लिग चरणका खेल जारी
अन्नपूर्ण– नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत भलिबलतर्फ लिग चरणका खेल भइरहेका छन् । पुरुष भलिबल पोखरा रङ्गशालामा र महिला भलिबल म्याग्दीमा चलिरहेको छ । पोखरा रङ्गशाला भलिबल कोर्टमा समूह चरणको खेलमा एपिएफ, त्रिभुवन आर्मी र पुलिस क्लब विजयी भएका हुन् । पहिलो खेलमा एपिएफले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई ३–० को सोझो सेटमा हरायो । एनआरएनएलाई एपिएफले २५–१९, २५–१५ र २५–१३ सेटमा हराएको हो । जितसँगै एपिएफले तीन अङ्क जोड्यो ।

दोस्रो खेलमा त्रिभुवन आर्मीले प्रदेश नं १ लाई ३–० कै सेटमा पराजित ग¥यो । आर्मीले २५–१२, २५–१९ र २५–२३ ले प्रदेश नं १ लाई हराएर समूह ‘बी’ मा पहिलो जित दर्ता गर्दै तीन अङ्क जोड्यो । तेस्रो खेलमा नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई हराउँदै शीर्षस्थान कायम राखेको छ । शनिबार लुम्बिनीलाई २५–१२, २५–८ र २५–२१ को सेटमा पराजित गर्दै पुलिसले थप तीन अङ्क जोडेको हो ।

आइतबारको पहिलो खेल त्रिभुवन आर्मी र मधेस प्रदेश, दोस्रो खेल एपिएफ र सुदूरपश्चिम, तेस्रो खेल कर्णाली र लुम्बिनी प्रदेशबीच हुने छ । पुरुष भलिबलमा सहभागी ११ टिमलाई चार समूहमा राखेर खेलाइएको छ । हरेक समूहका विजेता र उपविजेता टिम क्वाटरफाइनल चरणमा प्रवेश गर्नेछन् ।