२ फाल्गुन २०८२, शनिबार

हृदयस्पर्शी गीत ‘उड्यो बादल’ को म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । प्रेम र भावनाको विशेष दिन मानिने भ्यालेन्टाइन डे’लाई लक्षित गर्दै तयार गरिएको हृदयस्पर्शी गीत उड्यो बादल को म्युजिक भिडियो भव्य रूपमा सार्वजनिक गरिएको छ। युवापुस्ताको प्रेम, आकर्षण र संवेदनालाई समेटेर तयार पारिएको यस गीतले सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा उत्साहजनक चर्चा बटुल्न थालेको छ। शनिबार काठमाडौँ मा आयोजना गरिएको विशेष कार्यक्रममा स्वदेश फाउन्डेसन नेपाल को प्रस्तुतिमा तयार भएको उक्त गीत औपचारिक रूपमा सार्वजनिक गरिएको हो। कार्यक्रममा सञ्चारकर्मी तथा गायक किशोर कुमार सेढाई को स्वरले सजिएको यस गीतलाई प्रेमिल अनुभूति बोकेको सिर्जनाका रूपमा प्रस्तुत गरिएको थियो। नयाँ पुस्ताका दर्शक तथा श्रोताको स्वाद र भावना केन्द्रमा राखेर तयार गरिएको यस गीतका शब्द केवली सेढाई ले कोर्नुभएको हो भने संगीत खेम राज मैनाली ले भरेका छन्। गीतको संगीत संयोजन जीवन राई ले गरेका हुन्, जसले गीतलाई आधुनिक र भावनात्मक स्वाद दिएको छ। भिडियो पक्षलाई पनि उत्तिकै आकर्षक बनाइएको छ। म्युजिक भिडियोको निर्देशन राज कुमार दर्जी ले गरेका हुन्। भिडियोमा निर्देशक दर्जीसँगै सुस्मिता कार्की, किसोर सेढाई, शिवहरि खनाल र ईस्वरा पाण्डे को अभिनय देख्न सकिन्छ। कलाकारहरूको स्वाभाविक अभिनयले प्रेमका मिठा क्षणहरूलाई अझ जीवन्त बनाएको छ। यस गीतको छायांकन लक्ष्मण अधिकारी ले गरेका हुन् भने नृत्य निर्देशन बन्दना थापा ले सम्हालेकी छन्। आधुनिक शैलीमा तयार गरिएको भिडियोले युवापुस्ताको प्रेम कथा र भावनात्मक उतारचढावलाई सुन्दर ढंगले चित्रण गरेको छ। गायक किशोर सेढाईको अफिसियल YouTube च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतलाई छोटो समयमै उल्लेख्य दर्शकको साथ मिल्न थालेको छ। भ्यालेन्टाइन डे’को अवसरमा सार्वजनिक गरिएको “उड्यो बादल” ले प्रेमिल मनहरूलाई स्पर्श गर्ने विश्वास निर्माण गरेको आयोजकले जनाएको छ।