✍️..दुई वर्ष चार महिना अघि जाजरकोटमा भुकम्पले भत्किएका जनताका घरहरु अहिले सम्म पनि वनेका छैनन् । जनता निरन्तर रुपमा भत्किएका घर वनाइ देउ भनेर सवै सरकारहरु, नेताहरु अनि सरोकारवालहरुलाइ अनुनय विनय गरिरहेका छन् । जनताका ती अनुनय विनय, चित्कार अनि पिडाका स्वरहरु ठुलो कोलाहलमा हराएको जस्तै भएका छन् । केहि नेताहरुले गरेका पहलहरु पनि सफल वन्न सकेका छैनन् । गएका साढे दुइ वर्ष भित्रका हिउद, वर्षा अनि गर्मीको समयमा जनताहरुले भोगेका पिडा र वाध्यताहरु यहाँ वर्णन गर्न सम्भव छैन ।
कार्यविधिको नाउँमा जनतालाइ झुलाउने,अल्झाउने दुख दिने वाहेक यो साढे दुइ वर्षमा खासै ठुलो प्रगति भएको पाइदैन । नियम र कार्यविधिको छेउटुप्पो नफुत्किने गरि समातेका कर्मचारी र कर्मचारीलाइ दोष दिएर आफु ओभानो वन्न खोज्ने नेतृत्वका कारण जाजरकोटका भुकम्पपिडितहरु पिडा र आक्रोसका विच अलमलमा छन् ।
जनतालाइ सहज र सुलभ ढंगले सेवा दिने भन्दा कानुन, नियम र प्रक्रियाका नाउँमा वेसरी झुलाउने, दुख दिने तथा उनीहरु माथि वदनियतपुर्णढंगले क्रुर शासन गर्ने पुरानो चलन र परम्परा लोकतन्त्रमा पनि पुनरावृत्ति भएको यस प्रकारका घटनाहरुले पुष्टि गरेका छन् ।जनताको यो पिडा र पुननिर्माणको पर्खाइ निकै व्यग्र छ ।
यति मात्र होइन विरामी भएका वेला अस्पताल वा स्वास्थ्य सँस्था सम्म पुग्ने गाडी भाडा नपाएर हैरानी खेप्ने मात्र होइन अस्पताको औषधी उपचार खर्च वेहोर्न नसकेर मृत्युवरण गर्न वाध्य विपन्न जाजरकोटी जनताहरुको पिडा पनि छुटटै छ । पैसा नभए अस्पताल जान नसक्ने र अस्पताल गए पनि उपचार खर्चको भार उठाउन नसक्ने गरि हाम्रो राज्यले वनाएको कम्जोर जीवनशैलीले उनीहरु आजित छन् । तिनै दुखी र कम्जोर जाजरकोटी जनताको भाग्य र वाध्यताकै विचमा फागुन २१ गतेको चुनावमा कसलाइ भोट हाल्ने कसले चुनाव जित्ने कसको पक्षमा लाग्ने लगाएतका विषयमा गाउँ घरमा छलफल वहस चलिरहेको छ ।
यस्तै गरिवि र वेरोजगारीका कारण आफनो घरपरिवार र प्यारो गाउँ छोड्न वाध्य लोभ लाग्दा युवाहरु विदेसिने क्रम निकै वढ्दो छ । पराइ ठाउँ जाने कम रोकिने भन्दा पनि वढ्दो क्रममा छ । आफनै घरपरिवारसंग वसेर आफनै गाउँमा रमाउने यतै कमाउने चहानाहरु मन भरि हुदा हुदै पनि वाध्य भएर घरगाउँ छोडेर जाने केहि जवानी सकेर आउने कोहि उतै जीवन सकेर वाकसमा फर्किने होनहार युवाहरुको पिडा पनि उस्तै छ ।
जाजरकोट देश भित्र र वाहिरका मानिसहरुका लागि हेर्न अनि घुम्न लायक सुन्दर ठाउँ हो । देशी विदेशी पर्यटकहरु अनि धार्मिक आस्थाका तिर्थयात्रीहरुलाइ भरपुर मनोरन्जन र सन्तुष्टि दिने मछाइनाको मालिका, कालेगाउँको शिवालय, सुयडाको कालिका,, कुशेको मष्टा, वारेकोटको रांगावाचिला, जुनीचाँदेको भैरव मन्दिर, खगेनकोटको भगवती माइ मन्दिर लगाएतका धार्मिक स्थलहरु, सुन्दरता, प्राकृतिक स्वरुपहरु अनि ऐतिहासिक सामाजिक तथा साँस्कृतिक महत्वका सम्पदाहरु मनग्य छन् तर तिनको उचित व्यवस्थापन, प्रचार प्रसार तथा संरक्षण छैन । पर्यटन विकासका लागि निकै सम्भावना भएका ठाउँ र सम्पदाहरु जाजरकोटमा भए पनि यहाँका नेतृत्वहरुले गतिलो चासो नदिएको सत्य हो । जाजरकोटी जनताका लागि राम्रो रोजगारीको अवसर दिन सक्ने क्षमता भएका जाजरकोटी सम्पदाहरु कहिलै पनि नेता, नेतृत्व र कुनै पनि सरकारको प्राथमिकतामा परेका छैनन् । जाजरकोटको ऐतिहासिक धरोहरको रुपमा रहेको जाजरकोट दरवारको वेहाल अवस्था र संग्राहलय वनाउने अधुरो अभियान यस्कै एउटा ज्वलन्त उदाहरण हो ।
जनताहरु सरकारी कार्यालयहरुमा सेवा लिन जादा सम्मानपुर्वक सहज र छरितो ढंगले सेवा पाउदैनन् । सरकारले निर्माण गरेका भौतिक संरचनाहरु गुणस्तरीय छैनन । एक पटक वनेका सडक, धारा, टंकी, वाटोहरु एक वर्षा पछि प्रयोग गर्न नमिल्ने हुन्छन् । विग्रेका सडक र वन्दै गरेका सडक तथा अन्य संरचनाहरु वर्षाैं अलपत्र पर्छन तर तिनको मर्मत सम्भार संरक्षण र रेखदेख गर्न कुनै निकायले चासो र जिम्मेवारी लिदैनन् ।
वन सम्पदा र वन्य जन्तुको वासस्थानको हिसावले जाजरकोट निकै सम्भावना युक्त र महत्वपुर्ण जिल्ला हो । जाजरकोटी जंगलहरुमा धेरै लापोन्मुख जनावर तथा पन्छीहरु पाइन्छन् ।उत्कृष्ट जैविक विविधता भएको जाजरकोटको नलगाड, वारेकोट, कुशे र जुनीचाँदेको भुगोल जाजरकोटका लागि मात्रै नभए समग्र देशकै लागि निकै उपयोगी र महत्वपुर्ण छ तर यस तर्फ हाम्रा नेतृत्वहरुको तर्फवाट खासै केहि गर्न सकिएको छैन । जाजरकोटको अति महत्वपुर्ण अनि लोभ लाग्दो भुगोगलाइ निकुन्ज या संरक्षित क्षेत्र वनाएर जाजरकोटीको हितका लागि गर्न सकिने धेरै कामहरु छन् तर गरिएको केहि छैन ।
वारेकोटको फलाम र तामा खानी, टालेगाउँको काइनाइट पत्थर खानी, भुरको कोइला खानी र खलंगाको चुनखानी पहिचान भएको धेरै भइसकेको े छ तर यस तर्फ आज सम्मका सरकार र नेतृत्वले कुनै चासो दिएको पाइदैन । यत्रो खनिज सम्पदाको भन्डार हुदा पनि जाजरकोटका लागि लगानीकर्ता र सरकारको ध्यान खिच्न नसक्नु हामी जाजरकोटीहरुको ठुलो कम्जोरी अनि दुर्भाग्य हो ।
कुदु, होलुजिउला, भुरचौर, मछाइना, मटेला, दमदाला, ढिमे, मनघाट, दल्ली, कालेगाउँ, पिपे, स्याउली, शिवालय, वारेकोट र जुनीचाँदेका विभिन्न खेतीयोग्य जमिनहरु उत्पादन हुने मनग्य खाद्य, फलफुल तथा तरकारीका साथै सरु, छेडा र नलगाड अनि भेरी नदीमा पाइने माछा अनि मैदे, डाडागाउँ र लहँको मह घिउ तेल उत्पादनको को थप प्रवद्र्धन गर्ने कार्यमा सहयोग गर्न गतिलो योजना र वजेट पार्न सकिएको छैन यसले हाम्रो अवसर र सम्भावनालाइ हेपिरहेको देखिन्छ ।
जाजरकोट हुदै डोल्पाको सेफोक्सुन्डो ताल, मुगुको रारा ताल र जुम्लाको सिन्जा उपत्यका पुग्ने सडकको निर्माण अनि यी ठाउँहरुमा पुग्नका लागि जाजरकोटलाइ कर्णाली प्रदेशमा पर्यटकीय हिसावले ट्रान्जीट पोइन्ट वनाउने सपना र योजना हाम्रै पालामा पुरा होला कि नहोला तर वहस हाम्रै पालामा सुरु गर्नु पर्छ । जाजरकोटलाइ कर्मभुमि वनाएर काम गर्ने शिक्षक तथा कर्मचारीहरुलाइ प्रोत्साहन दिएर उनीहरुको उर्जा, जोस र हौसला वढाउनको लागि नेतृत्वले केहि उल्लेखनीय सहयोग गरिदिए जाजरकोटमा सेवा गर्न आउनेहरुको लर्काे लाग्न सक्थ्यो ।
जाजरकोटलाइ चिनाउने गरि उत्कृष्ट खेल प्रदर्शन गरेका स्वर्गिय तुफान श्रेष्ठ, याम साजन सुनार, नरेन्द्रजंग शाह, हरिहर विष्ट, धिरेन्द्रजंग शाह, खडगवहादुर खड्का, युनिसविक्रम सिंह, अनुज चनारा, कामना विष्ट जस्तै अव्वल खेलाडीहरु जन्मन सक्ने प्रचुर सम्भावना जाजरकोटमा छ तर यसका लागि जिल्लाको युवा र खेल क्षेत्रमा गतिलो ध्यान र लगानी गर्न सकिएको छैन । जीवनमा केहि गर्नुपर्छ भन्ने रहर सपना र चहाना वोकेका हाम्रा जाजरकोटी युवा विद्यार्थीहरुका लागि हामीले उपयुक्त अवसर दिने उल्ल्ोखनीय काम पनि गर्न सकेका छैनौं ।
जाजरकोटमा जन्मेर हुर्केर आज मुलुकको विभिन्न क्षेत्रमा माथिल्लो अनि महत्वपुर्ण पद र जिम्मेवारीमा पुगेकाहरु धेरै छन् तर उनीहरुको विज्ञता, क्षमता र अनुभवलाइ जाजरकोटको हित उन्नति र समृद्धिका लागि प्रयोग गर्न सकिएको छैन जसका कारणले राज्यको न्यायपुर्ण ध्यान जाजरकोटतिर खिच्न सकिएको छैन । यस तर्फ हाम्रो नेतृत्वले गम्भीरताका साथ सोच्नु पर्ने र स्वयम जाजरकोटी माटोमा जन्मिहुर्केर माथिल्लो जिम्मेवारी पाएकाहरुले पनि दायित्ववोध गर्नु पर्ने हो ।
हामीले विकासको नाउँमा निर्माण गरेका सडकहरु, विकासको गतिसंगै वढ्दै गएका वजारहरु, खुल्दै गएका होटेल पसलहरु उद्योगधन्दाहरुको अवस्थाले जनताहरुमा निरासा छ । स्थानीय उत्पादन वढाउन, कुनै पनि लगानी गरे त्यसको प्रतिफल राम्रो आउछ भनेर ढुक्क हुन अनि जिल्लासंग भएको श्रोत र साधनले हामीलाइ रोजगारीको भरपर्दाे अवसर दिन्छ भनेर जाजरकोटीहरु विस्वस्त हुन सकिने अवस्था छैन । यसको एउटै कारण हो जाजरकोटको वजार, , उत्पादन र व्यापारलाइ चलायमान वनाउने जनसंख्या छैन अर्थात वाहिरका मानिसहरुलाइ जाजरकोट भित्र पर्यटकको रुपमा तान्ने कुनै माध्यम छैन ।
चुनावका वेला मात्र होइन अन्य वेलामा पनि जाजरकोटका जनताले सरकार र नेतृत्ववाट गरेका अपेक्षा र चहानाका विषयहरु हुन यी मैले माथि उल्लेख गरेका प्रसंगहरु । अहिले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको सन्दर्भमा सवै दल र नेताहरुलाइ गाउँघरमा जनता फकाउन भ्याइ नभ्याइ छ । गाउँ भरि टोल वस्तीभरि नेताहरुको प्रतिष्पर्धात्मक दौडधुप छ ।दलका नेता र उम्मेदवारहरु आफना प्रतिवद्धताहरु सुनाउन व्यस्त छन् । आफ्ना चुनावी रणनीतिहरु जनताका माझ प्रयोग गर्दै नतिजा आफनो पक्षमा पार्ने होडवाजी र दौडधुपमा व्यस्त नेताहरुसंग जनता भने सुशासन, समृद्धिको स्पष्ट खाका र परिवर्तनको हाताहाती वाचा खोजिरहेका छन् । नेताहरुले विगतमा आफुले गरेका कामको वेलिविस्तार सुनाइरहेका वेला जनता भने नयाँ भरपर्दाे काम र विस्वासको अपेक्षा गरिरहेका देखिन्छन् ।
पटक पटक चुनाव जितेर गएकाहरुवाट पुर्ण रुपले सन्तुष्ट नभएका जाजरकोटी जनताहरु यो पटक निकै आक्रोस र पिडाको मुद्रामा वसेको देखिन्छन् । भुकम्पले भत्किएका घरहरु, वर्षाै अलपत्र परेका पुल र सडकहरु, वेरोजगार युवाहरु, राज्यले उपेक्षा गरेका जाजरकोटी सम्पदाहरु र सरकारहरुले नदेखेका परिवर्तन र समृद्धिका जाजरकोटी अपेक्षाहरु देखाउदै उम्मेदवार र तिनका समर्थक नेताहरुलाइ झुटा वाचा नगर्न जनताहरुको सुझाव छ ।चुनाव पटक पटक भए पनि नेताका वाचा र आस्वासन सधैं एउटै हुने गरेको जाजरकोटीहरुको गुनासो छ ।
नेताहरु पारिवारिक हित र उन्नतिको घेरामा सिमित हुनु, दलीय हितमा मात्र ध्यान केन्द्रित गर्नु अनि जनताको पहुँचलाइ सहज वनाउन नचहानु जस्ता कारणले जनताहरु असन्तुष्ट मात्र होइन आक्रोसित पनि छन् । जनताहरु यतिवेला नेता र दलहरुले आफनो एजेन्डाहरु अनुसारको व्यवहार गरुन,जनता र गाउँठाउँप्रति समर्पित भावना देखाउन् भन्ने अपेक्षामा रहेको पाइन्छ । नेताहरु जनताको चहाना र अपेक्षालाइ पुरा गर्नका लागि इमान्दारीता देखाउने भन्दा कसरी भोट फुत्काउने भन्नेतिर मात्रै केन्द्रित हुने गरेको भन्ने व्यापक गुनासो जनताको विचमा छ । जनताको गुनासा र मागहरु प्रति जिम्मेवार र इमानदार भएको, जाजरकोटी सम्भावना वुझेर सोहि अनुसार काम गर्ने हुटहुटी भएको र जनताको अघि झुटो वाचा नगर्ने अनि जनतालाइ सहज पहुँच दिन सधैं तयार हुने नेतृत्व नै जाजरकोटी जनताको अहिलेको आवस्यकता हो ।
लेखक :के.सी. जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष हुन।
