१८ माघ २०८२, आईतवार

नक्कली परीक्षार्थी परीक्षा दिने र दिन लगाउने १२ पक्राउ

सुर्खेत : लाेकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद)को लिखित परीक्षाबाट नक्कली परीक्षार्थीसहित प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ।

शनिबार भएको परीक्षामा अर्काको नाममा परीक्षा दिने र दिन लगाउनेहरूलाई प्रहरीले पक्राउ गरेको हो।

नागरिकता तथा प्रवेशपत्रमा फोटो र हस्ताक्षर बदली किर्ते गरी परीक्षामा सहभागी भएको अवस्थामा फेला पारेर पक्राउ गरी लिखत किर्ते तथा आपराधिक लाभको कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी मोहनजंग बुढथापाले जानकारी दिए।

पक्राउ पर्नेमा नक्कली परीक्षार्थी बनेका जाजरकोटको छेडागाड नगरपालिका– ११ का १९ वर्षीय केशव थापा, दैलेखको दुल्लु नगरपालिका– ११ का १८ वर्षीय रमेश नेपाली, सुर्खेतको गुर्भाकोट नगरपालिका– १३ का २४ वर्षीय वीरबहादुर ठाडा र जाजरकोटको कुसे गाउँपालिका– २ का १९ वर्षीय विपेश सिंह रहेका प्रहरीले जनाएको छ। जाजरकोटको छेडागाड नगरपालिका– १० का १९ वर्षीय चन्द्र शाह, कुसे गाउँपालिका– २ का २३ वर्षीय नवराज विक, बाँकेको बैजनाथ गाउँपालिका– २ का २४ वर्षीय रामु कार्की, बैजनाथ– १ का २५ वर्षीया मोतीलाल थारू पनि पक्राउ परेका छन्।

यसैगरी, नक्कली परीक्षार्थी बन्न लगाउने जाजरकोट जुनीचाँदे गाउँपालिका– १ का १८ वर्षीय ललित रावल, जाजरकोट कुसे गाउँपालिका– २ का १८ वर्षीय सूर्यकिरण शाही र जाजरकोट कुसे गाउँपालिका– २ का २१ वर्षीय नीरज शाही तथा मतियारको रूपमा काम गर्ने जाजरकोटको कुसे गाउँपालिका– २ घर भई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ९ बस्ने २६ वर्षीय पूर्णबहादुर सिंहलाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।