काठमाडौँ । ओशो तपोवनका सञ्चालक तथा अध्यात्मिक चिन्तक बोधिसत्त्व स्वामी आनन्द अरुणलाई प्रदान गरिने ‘शिखर अभिनन्दन’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न समाजसेवी रामकुमार बानियाँ ‘कौशिक’को संयोजकत्वमा अभिनन्दन समिति गठन गरिएको छ ।
सूचक प्रकाशनद्वारा आगामी माघ १० गते ओशो तपोवनमै आयोजना हुने उक्त अभिनन्दन समारोहका लागि गठित समितिमा रामराजा बस्नेत, जयराम बिडारी र नवीन पल्लव सदस्य रहनुभएको छ ।
समितिले कार्यक्रमको सम्पूर्ण व्यवस्थापन, समन्वय तथा कार्यान्वयनको जिम्मेवारी बहन गर्ने जनाएको छ । समितिका संयोजक रामकुमार बानियाँ ‘कौशिक’ले अध्यात्ममार्फत समाजमा चेतना, शान्ति र सकारात्मक मूल्य स्थापना गर्न दीर्घकालीन योगदान पुर्याउनुभएका स्वामी आनन्द अरुणप्रति सम्मान र कृतज्ञता प्रकट गर्ने उद्देश्यले यो अभिनन्दन आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँले यसलाई औपचारिक कार्यक्रमभन्दा माथि उठाएर सामाजिक श्रद्धा र सामूहिक सम्मानको अभिव्यक्ति बनाइने पनि बताउनुभयो । समारोहका अवसरमा स्वामी आनन्द अरुणको जीवन, साधना र योगदानमाथि विचार–विमर्शका साथै करिब एक दर्जन कविहरूबाट सम्मानस्वरूप रचना वाचन गरिने कार्यक्रमसमेत समावेश गरिएको छ ।
रचना प्रस्तुतिका लागि प्रतिभा समन्वय समितिको संयोजक माइण्ड प्लसका प्रबन्ध निर्देशक नवीन पल्लव तथा प्रचारप्रसार समितिको संयोजक पत्रकार जयराम बिडारीलाई जिम्मेवारी प्रदान गरिएको छ ।
कार्यक्रममा प्रमुख वक्ताका रूपमा पत्रकार टिकाराम यात्री तथा कलाकार मनोज गजुरेलको सहभागिता रहने समितिले जनाएको छ ।
