१ माघ २०८२, बिहीबार

सिन्धुपाल्चोकमा तेक्वान्दो प्रशिक्षक प्रेमबहादुर भण्डारी नगदसहित सम्मानित

सिन्धुपाल्चोक – तेक्वान्दो खेलकुद क्षेत्रमा लामो समयदेखि उल्लेखनीय योगदान पुर्‍याउँदै आएका प्रशिक्षक तथा खेलाडी प्रेमबहादुर भण्डारी नगद रु ३० हजारसहित सम्मानित भएका छन्।

मंगलबार लिसंखुपाखर गाउँपालिकामा आयोजित लिसंखु पाखर गाउँपालिका स्तरीय ७औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को समापन समारोहका अवसरमा भण्डारीलाई सम्मान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि, निवर्तमान प्रतिनिधिसभा सदस्य माधव सापकोटा (सुबोध) ले तेक्वान्दोमार्फत नेपाली खेलकुदको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै भण्डारीलाई सम्मानपत्रसहित नगद प्रदान गरेका हुन्।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ निवासी भण्डारी सन् २०४७ सालदेखि निरन्तर तेक्वान्दोमा सक्रिय रहँदै आएका अनुभवी खेलाडी तथा प्रशिक्षक हुन्। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै स्वर्ण पदकसहित थुप्रै पदकहरू हासिल गरिसकेका छन्।

भण्डारी नेपाल तेक्वान्दो संघ सिन्धुपाल्चोकको संस्थापक र पुर्व अध्यक्ष तथा हाल नेपाल तेक्वान्दो संघको केन्द्रिय सदस्य हुनुहुन्छ । काठमाडौंको गोठाटारस्थित गोठाटार तेक्वान्दो डोजाङका संस्थापक समेत हुन्। साथै, उनी एशियाली तेक्वान्दो महासंघको युथ कमिटी सदस्यको रूपमा अन्तर्राष्ट्रिय तहमा समेत जिम्मेवारी सम्हालिरहेका छन्।

भण्डारीलाई प्रदान गरिएको यो सम्मानलाई नेपाली तेक्वान्दो क्षेत्रको प्रेरणादायी उपलब्धिका रूपमा लिइएको छ। यसले नयाँ पुस्ताका खेलाडीहरूलाई तेक्वान्दोप्रति आकर्षित गर्दै अनुशासन, मेहनत र निरन्तरताको मार्गदर्शन प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।