काठमाडौं / काठमाडौंमा सेफ्स एशोसिएशन अफ नेपालद्वारा आयोजित “सम्मान तथा विशेष भेटघाट कार्यक्रम” भव्य रूपले सम्पन्न भएको छ।
कार्यक्रममा नेपाली पर्यटन, कृषिजन्य उत्पादन, होटल–रेस्टुरेन्ट तथा कुकरी क्षेत्रको समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रममा होटल एसोसिएशन अफ नेपाल (HAN) का अध्यक्ष तथा ‘Guardian of Nepali Tourism’ पदवी प्राप्त विनायक शाहलाई नेपाली पर्यटन नेतृत्वमा गरेको निरन्तर योगदानकाे कदर गर्दै विशेष सम्मान प्रदान गरियो।
त्यसैगरी, REBAN Association का अध्यक्ष संर्घर्ष बिष्टलाई करिब तीन दशकदेखि नेपाली तथा विदेशी पाहुनाप्रति सेवामुखी सम्बोधन, बसोबास सुविधा एवं पर्यटन प्रवर्द्धनमा पुर्याएको योगदानकाे सम्मानस्वरूप सम्मानपत्र प्रदान गरियो।
कार्यक्रममा Green Agro Nepal Pvt. Ltd. ले उत्पादन गर्ने घरेलु तथा किचनमा प्रयोग हुने सामग्रीहरूको निरीक्षण र भ्रमणपछि, उनीहरूले हासिल गरेको सफलताबाट सन्तुष्ट हुँदै सेफ्स एशोसिएशन अफ नेपालले सिफारिस पत्र प्रदान गरेको घोषणा पनि गरियो।
कार्यक्रममा गोरखा दक्षिणबाहु पदक प्राप्त, नेपालका पहिलो फाइव–स्टार सेफ मानिने गोविन्द नरसिंह के.सी.लाई सुवर्ण पदक तथा “लिजेण्डरी अवार्ड” प्रदान गर्दै सम्मानित गरियो। साथै, नेपाली कुकरी क्षेत्रमा दीर्घ सेवा र योगदान पुर्याउँदै आएका मास्टर सेफ श्यामबहादुर तामाङलाई ‘Legendary Chef Honor’ प्रदान गरियो।
सेफ्स एशोसिएशनका संस्थापक अध्यक्ष तथा नेपाली सेफ समुदायका मार्गदर्शक मानिने “Father of Chefs” पुष्प थापा मगरलाई विशेष सम्मान पदक अर्पण गरिएको थियो।
सेफ्सको आफ्नै भवन निर्माण परिकल्पना र आधार तयार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका संस्थापक अध्यक्ष कृष्ण लामालाई पनि भवन निर्माणको सपनालाई मूर्त रूप दिन योगदान पुर्याएको कदर गर्दै सम्मानपत्र प्रदान गरियो।
कार्यक्रममा विभिन्न विधा र होटल–रेस्टुरेन्ट क्षेत्रका सेफहरूलाई समेत सम्मान गरियो।
एशोसिएशनले यस सम्मान कार्यक्रमले सेफ समुदायमा नयाँ ऊर्जा, प्रेरणा र पेशागत दृढता थप्ने अपेक्षा व्यक्त गरेको छ।
कार्यक्रमको अध्यक्षता सेफ्स एशोसिएशन अफ नेपालका अध्यक्ष रेशम कुमार लामाले गरेका थिए।
