१४ जेष्ठ २०८१, सोमबार

वैज्ञानिक समाजवादी संस्कार–संस्कृतिका निम्ति विद्रोह

लेखक : राेजन रखाल

विद्रोह शब्द सुन्दा आफैँमा गर्व लाग्ने र सुनिरहुँजस्तो लाग्ने शब्द हो तर सुन्दा जति आनन्द आउँछ विद्रोह गर्न त्यति नै गारो हुँदो रहेछ । अझ भनौँ विद्यमान सामाजिक संस्कार–संस्कृतिमा विद्रोह गर्नु भनेको फलामको चिउरा चापाएसरह हुँदो रहेछ । रूढिवादी सामाजिक संस्कार–संस्कृतिमा विद्रोह भन्नेबित्तिकै आफ्नै घर–परिवार, आफन्त, नाता–गोता, इष्टमित्र र टोल–छिमेकीहरूसँग विद्रोह गर्नु हो । यो भनेको वर्गीय राज्यसत्तासँगको विद्रोहजस्तो हुँदैन । यो त माओले भन्नुभएझैँ ‘आफ्नो टाउकोमा आफैँ आगो लगाउनु’ जस्तै हो । रूढिवादी संस्कार–संस्कृतिविरुद्ध विद्रोह भनेको अफ्नो टाउकोमा आफैँले आगो लगाएसरह हुँदो रहेछ ।यहाँ थोरै एउटा घटना जोड्न मन लाग्यो; जति बेला मलाई जन्म दिने आमाको निधन भयो त्यति बेला श्रद्धाञ्जली दिनेदेखि दाहसंस्कार र त्यसपछिको कथित सामाजिक संस्कार–संस्कृतिका नाममा परिवार, नाता–गोता, आफन्त, इष्टमित्र र सिङ्गो समाज एकातिर उभियो । भने म परिवारमा अर्कातिर उभिएर गैरमाक्सवादी चिन्तन, दृष्टिकोण, पाखण्ड र ढोङ्गी प्रवृत्तिका विरुद्ध एक्लै लड्नु पर्यो । त्यो साँच्चै नै पीडादायी र कष्टकर थियो । त्यसो हुँदा यो सजिलो पक्कै छैन तर हिम्मत र साहस गर्यौँ भने त्यति असजिलो पनि छैन । तर हामीले यो साहस गर्नैपर्छ ।
हजारौँ वर्षदेखिको सामन्तवादी राज्यसत्ताको दमन, शोषण, अन्याय र अत्याचारबाट लादिएको सामन्ती संस्कार–संस्कृति र ५०० वर्षभन्दा अगाडिदेखि जबर्जस्ती थोपरिँदै आएको निम्नपुँजीवादी टुक्रे उत्पादन चिन्तनले हाम्रो सामाजिक संस्कार–संस्कृति कति धेरै जकडिएको छ भने चाहे त्यो दसैँतिहारजस्ता चाडपर्व होऊन् वा जन्म–मृत्युको संस्कार–संस्कृति, यसका अवैज्ञानिक पाटा, पक्ष र रूढिवादी परम्परा तोड्न प्रायः असम्भवजस्तै देखिन्छ तर असम्भव भने छैन ।

मुस्लिम, दलित, उत्पीडित, बाहुन–क्षेत्री, सेना, पुलिस, कर्मचारी, देशभक्त, राष्ट्रिय पुँजीपति वर्ग, मध्यम पुँजीपति वर्गलगायत सबै तहका जनताले विद्रोहको झन्डा उठाउनुपर्ने बेला भयो । जनविद्रोह सिर्जना गर्दै मालेमावादी मान्यताअनुसार बलप्रयोगको सिद्धान्तलाई आत्मसाथ गर्दै अन्ततः एकीकृत जनयुद्धको बलमा यो दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य गर्ने र हामीले भनेको वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गर्ने । त्यो व्यवस्थाले मात्र गर्नेछ जनता र रास्ट्रको सुरक्षा । त्यहाँ मात्र हुनेछ देश र जनताको मुक्ति, राष्ट्रिय स्वाधीनता र समृद्धि । त्यहाँ मात्र हुनेछ गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, सूचना–सञ्चार, यातायात र जमिनमाथि जनताको अधिकारको सुनिश्चितता । त्यहाँ मात्र हुनेछ वैज्ञानिक समाजवादी संस्कार र संस्कृतिको निर्माण ।

अन्त्यमा क्रान्तिकारी संस्कार–संस्कृति भएको बैज्ञानिक समाजवादी राज्य व्यवस्थाले मात्र सभ्य मानिस र उच्चतम् मानवसमाज निर्माण गर्नेछ जसलाई हामि वैज्ञानिक समाजवाद भन्दछौँ ।
वैज्ञानिक समाजवाद जिन्दावाद !
वैज्ञानिक समाजवादी क्रान्ति जिन्दावाद !!
एकीकृत जनयुद्ध जिन्दावाद !!!
वीर सहिद लालसलाम !!!!
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिन्दावाद !!!!