– माधव घिमिरे ‘अटल’
काठमाडौँ / साहित्य, समाज, स्वास्थ्य र शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरूलाई “सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्र” ले विशेष सम्मान गर्ने भएको छ । यस केन्द्रले विगत वर्षहरूदेखि निरन्तरता दिँदै आएको सम्मान तथा अक्षलोक साहित्यिक पत्रिका लोकार्पण समारोह यस वर्ष पनि आयोजना गर्ने जनाएको छ ।
यही श्रावण ११ गते पुल्चोक इन्जिनियरिङ कलेजमा विशेष कार्यक्रमको आयोजना गरी सो पुरस्कार तथा सम्मान अर्पण गरिने कुरा केन्द्रले एउटा प्रेस विज्ञप्ति प्रकाशित गरी जनाएको छ ।
समाज रूपान्तरणमा विशिष्ट योगदान दिने साहित्य साधक, समाजसेवी, स्वास्थ्यकर्मी उद्यमी तथा शिक्षाकर्मीहरूलाई विभिन्न शीर्षकमा सम्मान गरिने उक्त वज्ञप्तिमा जनाइएको छ ।
सो सम्मान तथा पुरस्कार प्राप्त गर्ने विशिष्ट व्यक्तित्वहरूमा सिद्धिश्वरमान मिलन–मुक्ति आजीवन साहित्य साधना पुरस्कार (रु ११,१११) राशि सहितको पुरस्कारबाट लालबहादुर भुजेल,सिद्धिश्वरमान–महेश्वरमान श्रेष्ठ उत्कृष्ट प्राध्यापक उत्प्रेरणा पुरस्कार (रु २०,०००)राशि सहितको पुरस्कारबाट प्रा. डा. भानुचन्द्र बज्राचार्य, सिद्धिश्वरमान चन्द्रविष्णु अन्तर्राष्ट्रिय सामाजिक योगदान पुरस्कार (रु २०,०००) राशि सहितको पुरस्कारबाट रोजर द ग्रुप बेल्जियम, सिद्धिश्वरमान–विष्णु कुमार अग्रवाल उत्कृष्ट साना उद्यमी पुरस्कार (रु ११,१११) निष्ठा कायस्थ, दिदीबहिनी क्रियसन्स र सिद्धिश्वरमान उत्कृष्ट बाल साहित्य तथा सम्पादन उत्प्रेरणा सम्मानबाट मरणोपरान्त— स्व. विनय कसजु, सिद्धिश्वरमान उत्कृष्ट शिक्षा रत्न सम्मान प्रा. डा. हृदयरत्न बज्राचार्य लगायत रहनु भएको छ ।