– नवीन पल्लव
भानु जयन्तीको सुअवसर पारेर इन्टरनेसनल स्कुल, धुमवाराहीले एक भव्य समारोहबीच बालसाहित्यका दुईवटा कृतिहरू ‘नवपालुवाका सम्झनाहरू’ बाल संस्मरणसङ्ग्रह तथा ‘पैसा फल्ने रूख’ बालकथासङ्ग्रहको एकैसाथ लोकार्पण गरेको छ । यसरी नै नर्सरीदेखि नै बालकविता प्रस्तुति पनि व्यवस्थित ढङ्गले सुसम्पन्न गरेको छ ।
लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अभ्यागत नेपाल बालसाहित्य समाजका निवर्तमान अध्यक्ष तथा वरिष्ठ बालसाहित्यकार प्रमोद प्रधानले साहित्यको समाजमा गहिरो प्रभाव पर्ने भएकैले तिनको सम्मानमा सालिक बन्ने गरेको बताए । प्रधानले सर्जकहरू शब्दका खेलाडी मात्र नभई समाजका महत्त्वपूर्ण अवयव भएको जिकिर गरे । यिनै कारणले बालबालिकालाई सिर्जनामा रमाउन रोक लगाउन नहुने उनको तर्क थियो ।
त्यसैगरी नेपाल बालसाहित्य समाजका वर्तमान अध्यक्ष विजयराज आचार्यले विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ नयाँ बाल सर्जकहरू जन्मनु खुसीको विषय भएको अभिमत राख्दै उनीहरूलाई आफ्नो प्रतिभा फक्रन सक्ने वातावरण निर्माण गरिदिनु अभिभावकको दायित्व भएको बताए ।
त्यसरी नै बालसाहित्यकार तथा प्रशिक्षक केशरी अम्गाईले विद्यालय तहमा सिर्जनात्मक लेखनलाई नियमित पठनपाठनका रूपमा समावेश गरी बालबालिकालाई विभिन्न विधामा कलम चलाउन अभिप्रेरित गर्नु आराधनीय कर्म भएको उनको कथन थियो ।
कार्यक्रमका अर्का अतिथि लोमश वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’ले भानुभक्तका केही श्लोक उद्धरण गर्दै नवपालुवाहरूलाई प्रोत्साहित गरे । उनीहरूमा भएको प्रतिभा प्रस्फुटन गर्न विद्यालय र मूलतः प्राचार्यले निर्वाह गरेको भूमिकाको पनि उनले मुक्तकण्ठले सराहना गरे ।
लोकार्पित कृतिमध्ये ‘पैसा फल्ने रूख’ अपराजिता तिमल्सिनाको एकल कथासङ्ग्रह हो भने ‘नवपालुवाका सम्झनाहरू’ चाहिँ अनुश्री शर्मा, आयुष्मान रेग्मी, काव्य सिम्खडा, पल्लवी ठाकुर, बिहान रोकाया, इभान तुलाधर, अपराजिता तिमल्सिना, आशिया श्रेष्ठ, विराज राई एवम् सौर्यजङ कार्कीको संयुक्त बाल संस्मरणसङ्ग्रह हो ।
यी दुवै कृतिको सम्पादन कुशल सम्पादक तथा बहुआयामिक साहित्यकार केशरी अम्गाईले गरेका हुन् । ‘पैसा फल्ने रुख’को प्रकाशन कौशिकी वैदिक गुरुकुल विद्यालयले गरेको छ भने ‘नवपालुवाका सम्झनाहरू’ चाहिँ इन्टरनेसनल स्कुल, धुम्वाराहीले गरेको छ ।