दिनेश ठाकुर
नेपालगञ्ज / नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, नेपालगञ्ज शाखाद्वारा नेपालगञ्ज औद्योगिक क्षेत्र उद्योग विकास संघलाई भवन निर्माणको लागि प्रदान गरिएको ०.६६ रोपनी जग्गाको औपचारिक सम्झौता आज सम्पन्न भएको छ।
नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन लि.का कार्यालय प्रमुख श्री प्रदीप पराजुलीले संघ सँगको सहकार्य लाई अझ सशक्त बनाउँदै छिटो भन्दा छिटो भवन निर्माण कार्य सम्पन्न गरी संघका गतिविधिहरू सन्चालन गर्न शुभकामना दिनु भयो । उहाँले उद्योगी र व्यवस्थापन कार्यालयबीचको सम्बन्ध थप प्रगाढ बनाउने तथा समन्वयपूर्ण वातावरणमा उद्योग सञ्चालन गर्न सबै पक्ष प्रतिबद्ध रहनुपर्ने धारणा राख्नुभयो।
यसै अवसरमा संघका अध्यक्ष श्री अब्दुल वाहिद अन्सारीले जेठ ३१ गते सम्पन्न दोस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि आफू योजनाबद्ध ढंगले अघि बढिरहेको जानकारी दिनुभयो। “आजको जग्गा सम्झौता हाम्रो दीर्घकालीन योजना अनुसारको पहिलो पाइला हो। अब हामी छिट्टै भवन निर्माण कार्य सुरु गर्दैछौं,” अध्यक्ष अन्सारीले बताउनुभयो।
उद्योगी समुदायको साझा उद्देश्यमा एकता र सहभागिता अझ मजबुत बनाउने लक्ष्यसहित संघले निर्माण कार्य अगाडि बढाउने जनाएको छ।