– माधव घिमिरे ‘अटल’
नागार्जुन वाङ्मय प्रतिष्ठानको मासिक काव्यगोष्ठीमा यसरी नै गुन्जिए प्रगतिवादी युवा कवि- मुक्तान थेबा । ‘कालो बादल र झरी’बाट उनले आफ्नो कविता वाचन सुरुआत गरेका थेबाले ‘वीर्य’, ‘घाँस’, गोरुसिङे ‘ञ’, ‘घुम’, ‘लेन्डुपेहरूको देश’, हुँदै ‘परिभाषा बदल्न निस्केको आगो’मा पुगेर मैझारो गरे ।
उनका कविताले आगो त यसै पनि ओकले नै, अझ बेथिति, विकृति र विसङ्गतिहरूको दोहोलो काढे । थेबा शासक र तिनका बदमासी विरुद्ध खरो उत्रिए । उनले सत्तामा बसेर लुटेका लुटेरा र जनतामाराको झाँको झारे ।
गोष्ठीका प्रमुख अभ्यागत प्रा.डा. कृष्णप्रसाद न्यौपानेले वाचित कविताको विस्तृत शल्यक्रिया गरे । उनले धक मानेरै किन नहोस् प्रस्तुत गरिएका रचनाका रौँचिरा केलाए ।
सत्ताले आफ्नो विपक्षमा देख्नासाथ कोपभाजनमा पारेका तात्ताता घटनाबाट सचेत भएर न्यौपानेले आफ्ना भनाइ राखे । कविताको रसास्वादन गर्न नागार्जुन वाङ्मय प्रतिष्ठानमा आउन आफू ढिला भएको उनको स्वीकारोक्ति थियो । न्यौपानेले शल्यक्रियाका सिलसिलामा आफूले कसैलाई अन्याय गरेको भए क्षमा माग्न तयार रहेको बताए । परिचर्चाकार डा. यज्ञेश्वर निरौलाले कृतिकार डा. विदुला घिमिरेको लेखन परिष्कृत भाषाको मुक्तकण्ठले सराहना गरे । निरौलाले ‘उपन्यासलाई आधार बनाएर वर्गीय समाजको सुन्दर चित्र कोरिएको बताउँदै ‘लोकलाइजेसन’ लाई ‘ग्लोबलाइजेसन’तिर लग्ने विषयमा केही सीमा भएको दाबी गरे ।उनले उपसंहारका दस बुँदामा बानिरा गिरीका उपन्यासबारे एक शब्द पनि नलेखिएको बताए ।
कृतिकार डा. विदुला घिमिरेले आफ्नो कृतिमाथि डा.यज्ञेश्वर निरौलाले अत्यन्त गहन परिचर्चा गरेको बताइन् । जातीय र वर्गीय विभेदका बारेमा डा. बानिरा गिरीले उठान गरेको उनको कथन थियो । डा. घिमिरेले रेमन्ड विलियम्सका बारेमा डा. निरौलाले गरेको टिप्पणीबारे प्रतिटिप्पणी र प्रस्टीकरण पनि दिइन्
गोष्ठीमा रक्तिम लामा, अमर अधिकारी, बलराम बिष्ट, युवराज नास्तिक, रत्ननिधि रेग्मी ‘शुक्राचार्य’, नवीन पल्लव, सञ्जय सोती, माधव घिमिरे ‘अटल’, शिवहरि पाण्डे, वैरागी जेठा, गङ्गा खतिवडा, कृष्णप्रसाद ‘जस्ताघरे’, अमरदीप सुनुवार, कुशल बोगटी, लक्ष्मण अधिकारी, नवराज दाहाल, मिसन अधिकारी, कविता दाहाल, गोपाल कुमार मैनाली, पुष्कर लोहनी, आल्फिफोहेन फाक्लुक्पा, रमेश सी विक्रान्त, चेवन बस्नेत ‘ठुलाघरे’, खगेश्वर सापकोटा लगायत तीन दर्जन सर्जकले आआफ्ना रचना वाचन गरे । कार्यक्रममा सञ्जय सोतीलाई पूर्णविरामकृत कविता वाचन पुरस्कार प्रदान गरियो ।
प्रतिष्ठानका कोषाध्यक्ष शिवहरि पाण्डेले उपस्थित सम्पूर्ण अतिथिहरूलाई स्वागत गरेको उक्त कार्यक्रमको सहजीकरण गङ्गा खतिवडाले गरेकी थिइन् भने अध्यक्षता प्रतिष्ठानका अध्यक्ष दिल पौडेलले गरेका थिए ।