काठमाडौं – तामाङ सांगीतिक क्षेत्रमा मौलिकता र भावनात्मकताको संगम बोकेको नयाँ तामाङ सेलो गीत ‘उँभो त शैलुङ लेकैमा’ सार्वजनिक भएको छ।
श्री म्युजिकको प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियो आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतका शब्द गीतकार इन्द्रराम मोक्तानले लेखेका हुन्, जसले गीतमा तामाङ समुदायको सांस्कृतिक गहिराइ, प्रेम भावना र ग्रामीण परिवेशलाई उजागर गरेका छन्।
गीतमा सङ्गीत चर्चित गायिका शशिकला मोक्तानले गरेकी छिन्, जसले परम्परागत तामाङ धुनलाई आधुनिक भावनात्मक प्रस्तुतिमा रूपान्तरण गरेकी छन्। स्वरको पक्षमा, तामाङ संगीतका वरिष्ठ गायक चन्द्र कुमार दोङ र गायिका शशिकला मोक्तानकै सुमधुर आवाज रहेको छ।
उनीहरूको स्वरको संगमले गीतलाई भावनात्मक, कर्णप्रिय र सांगीतिक रूपमा समृद्ध बनाएको छ। भिडियोको निर्देशन रुपेश खड्काले गरेका छन् भने छायांकन केशव कटुवाल र सम्पादन श्याम लिम्बू तथा बिरेन लामाले गरेका छन्।
भिडियोमा शैलुङ क्षेत्रको हरियाली, हिमाली पृष्ठभूमि, तामाङ संस्कृति र प्रेम कथालाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ। मुख्य कलाकारहरूमा नेपाली चलचित्रका लोकप्रिय युवा अभिनेता कुन्साङ बम्जन र आकर्षक मोडल अम्बिका तामाङको अभिनय रहेको छ।
उनीहरूको अभिनयले प्रेमको आरोह-अवरोह, सामाजिक भाव र संस्कारलाई संवेदनशील ढंगले चित्रण गरेको छ। गीतको कोरियोग्राफी निमा शेर्पा, मेकअप छिमी तामाङ, र मिक्सिङ मितराज लामाले गरेका छन्। स्टुडियो रेकर्डिङ संगम स्टुडियोमा गरिएको हो भने कलर सुन्दर बोम्जनले गरेका हुन्।
पोस्ट–प्रोडक्सन श्री म्युजिकले गरेको हो। गीतको सृजनात्मक निर्देशक सुन्दर योञ्जन, निर्माता दावा दोर्जे लामा, र प्रस्तुतकर्ता श्री म्युजिक रहेका छन्।
सम्पूर्ण टिमको समर्पण र रचनात्मकताले गीतलाई सफल सांगीतिक उपहार बनाएको छ। ‘उँभो त शैलुङ लेकैमा’ ले तामाङ समुदायको भाषा, संस्कृति, भेषभूषा र सौन्दर्यलाई उजागर गर्दै युवापुस्ताको भावना र प्रेमलाई संगालेर प्रस्तुत गरेको छ।
यस्ता मौलिक गीतहरूले नेपाली सांगीतिक विविधता अझ समृद्ध बनाउनेमा शंका छैन।