जाजरकोट :कुशे गाउँपालिका जाजरकोटले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममार्फत सञ्चार क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ।स्थानीय एफएम रेडियो, पत्रपत्रिका तथा अनलाइन माध्यमसँग सहकार्य गर्दै नागरिक हितका कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने उल्लेख पालिकाको नीति कार्यक्रममा गरिएको छ।
गाउँपालिकाले सञ्चार नीति २०८२ तयार पारी स्थानीय सरकार र सञ्चार क्षेत्रबीचको सहकार्यलाई अझ सशक्त र परिणाममुखी बनाउने योजना सार्वजनिक गरेको हो। कार्यक्रम अन्तर्गत सूचना सम्प्रेषण, जनचेतना अभिवृद्धि तथा समावेशी सूचनाको पहुँच विस्तार गर्न सञ्चार माध्यमहरूसँग साझेदारी गरिने जनाइएको छ।
यस्तै, पालिकाले सूचना प्रवाहमा संलग्न माध्यमहरूलाई लोककल्याणकारी विज्ञापन वितरणका लागि स्पष्ट मापदण्ड बनाउने र विज्ञापन प्रणालीलाई व्यवस्थित र बाध्यकारी बनाउने नीति लिएको छ। यसले सञ्चारमाध्यमको दिगो सञ्चालनमा सहयोग पुग्ने पालिकाको विश्वास छ।
पालिकाका अनुसार सञ्चार क्षेत्रको सुदृढीकरणका लागि बजेट छुट्याइने छ भने सूचनाको अधिकार कार्यान्वयन तथा स्थानीयस्तरमा सूचना प्रवाहमा देखिएका समस्या समाधानका लागि सम्बन्धित सरोकारवाला निकायहरूसँग समन्वय गरिने छ।
“गाउँवासीको पहुँचमा सूचना पुर्याएर पारदर्शी, जवाफदेही र उत्तरदायी स्थानीय सरकार निर्माण गर्नु हाम्रो लक्ष्य हो,” कुशे गाउँपालिका अध्यक्षले हरिसचन्द्रले बताए।
यसबाट कुशे गाउँपालिकाले सञ्चार क्षेत्रलाई विकासको मेरुदण्ड मानेर, नीति निर्माणमै प्राथमिकता दिँदै आएको देखिन्छ।