९ असार २०८२, सोमबार

ग्रीन सिटी हस्पिटलका अध्यक्ष लोक बहादुर टण्डन दक्षिण कोरियाली राजदुतावास बाट सम्मानित

 

काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएर नेपालमै व्यवसाय गरेर सफल भएका नेपालीहरूको प्रेरणादायी अनुभव समेटिएको पुस्तक ‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’ को आज काठमाडौंमा विशेष समारोहबीच विमोचन गर्दै दक्षिण कोरियाली राजदुतावासले ग्रीन सिटी हस्पिटलका अध्यक्ष लोक बहादुर टण्डन सहित ५० जनालाई सम्मानित गरेको हो ।
पुस्तकमा समेटिएका कथाहरूमा वैदेशिक रोजगारीबाट फर्किएर उत्पादन, कृषि, सेवा र शिक्षण जस्ता क्षेत्रमा व्यवसाय सुरु गरेका २० जना उत्पादनमूलक क्षेत्र, १६ जना कृषि क्षेत्र, ९ जना सेवा क्षेत्र, ५ जना शिक्षण पेशा गरि ५० जनाको अनुभव समेटिएको छ ।
जस मध्य ग्रीन सिटी हस्पिटलका अध्यक्ष तथा चक्रपथ सरसफाइ महाअभियानका संयोजक लोक बहादुर टण्डनको नाम परेको हो ।
३२ — ३३ बर्ष अगाडी केहि समय कोरीया बसेर त्यहाँको सिप र कार्यक्षमतालाई नेपालमा प्रयोग गरेर हाल सफल व्यवसायीको रुपमा चिनिएका टण्डनले यो सम्मान पत्रले आफुलाई राज्य प्रति थप जिम्मेवार बन्न प्रोत्साहन मिलेको बताउनु भयो ।
दक्षिण कोरियाको काठमाडौँस्थित दूतावासले प्रकाशनमा ल्याएको यस पुस्तकको विमोचन कार्यक्रम आज होटल याक एन्ड यतिमा सम्पन्न भएको हो । पुस्तकको विमोचन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, दक्षिण कोरियाका राजदूत पार्क थेयङ र कोइका नेपालका प्रमुख खोङ मुहन ले संयुक्त रूपमा गर्नुभयो ।
कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले वैदेशिक रोजगारीबाट फर्किएर नेपालमै व्यवसाय सुरु गर्नेको अनुभव सबैका लागि प्रेरणादायी रहेको बताउनुभयो । “दक्षिण कोरियामा श्रमिकका रूपमा गएका ५० जना नेपालीले नेपालमै विभिन्न क्षेत्रमा व्यवसाय सुरु गरेर राम्रो सफलता पाएका छन्न्” मन्त्री पौडेलले भन्नुभयो, “अब विदेशबाट फर्किने नेपालीहरूले पनि यस्ता अनुभवलाई अनुकरण गरेर देशमै केही गर्न सक्नेछन् भन्ने मेरो विश्वास छ ।

उनीहरूले दक्षिण कोरियामा आर्जन गरेको सीप, पुँजी र अनुशासनलाई नेपालमै प्रयोग गरी व्यवसाय सुरु गरेका छन्।
कार्यक्रममा कोरियाली राजदूत पार्क थेयङ र कोइका प्रमुख खोङ मुहनले कोरिया र नेपालको सम्बन्ध जनस्तरसम्म फैलिएको र यस्ता साझा प्रयासहरूले दुई देशबीचको सम्बन्ध झनै बलियो बनाउने बताएका थिए ।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका ११ वटा व्यवसायहरूको भिडियो प्रस्तुति समेत गरिएको थियो ।
दूतावासले प्रकाशनमा ल्याएको यो पुस्तक ‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’ ले विदेशबाट फर्किएकाहरूका लागि मार्गदर्शकको काम गर्ने विश्वास गरिएको छ।