काठमाडौं : प्रगतिशील लेखक तथा साहित्यकार खेम थपलियाको अध्यक्षतामा अर्को मोर्चा (The Next Front) को गठन भएको छ । १८ औं गणतन्त्र दिवसको अवसर पारेर बिहिबार एक प्रेस विज्ञप्ति जारी गरी समाजवादी क्रान्तिलाई सफल गर्ने उद्देश्यले वैचारिक,राजनीतिक र सांस्कृतिक फोरम गठन गरिएको उल्लेख गरिएको छ ।
क्रान्तिकारी कम्युनिस्टहरुको व्यक्तिगत तथा गुटगत स्वार्थका कारण जनयुद्धद्वारा पराजित संसदीय व्यवस्था पुन:स्थापना हुन पुगेको गम्भीर समिक्षासहित समाजवादी क्रान्तिलाई पूर्णता दिन मोर्चाको गठन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
कम्युनिस्ट पार्टीहरूमा चलेका दुई लाइन सङ्घर्षमा सत्रुतापूर्ण अन्तर विराेध, पार्टी सत्ताको पावर सेयरिङमा सङ्कीर्ण कुटिलता, आन्तरिक संस्था,व्यक्तिको अटुट खेदाइ, कार्यनीतिको नाममा रणनीतिकै बलिदान गरिदिने चरित्रले नेपाली कम्युनिस्ट थप संकटमा आएको उल्लेख छ ।
“आफू समाजवादी मुटु हालेर बाँच्ने अनि गतिशील समाजवादी मुनालाई निमोठ्ने मरणासन्न तथा पतनशील पुँजीवादका विरुद्ध सम्झौताहीन सङ्घर्ष अपरिहार्य बनेको छ । पूर्वी–क्षितिजमा उदाउँदै गरेको समाजवादी चम्किलो जूनलाई धर्तीमा उभ्याउन एउटा वैचारिक, राजनीतिक र सांस्कृतिक पहल हुनुपर्दछ भन्ने युगीन चेतनासहित हामी ‘अर्को मोर्चा’ को संस्थागत प्रारूपीकरणमा जुटेका हौँ ।” विज्ञप्तिमा उल्लेख छ ।
“नयाँ ढङ्गको वैचारिक, राजनीतिक तथा सांस्कृतिक फोरमको आवश्यकता टड्कारो देखिएकोले उत्पीडित तथा श्रमजीवी जनसमुदाय, राजनीतिकर्मी तथा सामाजिक अभियन्ता, किसान–मजदुर तथा युवा–विद्यार्थी, बौद्धिक तथा प्राज्ञिक प्रवुद्ध वर्ग, संस्कृतिकर्मी तथा सौन्दर्यचिन्तकहरूको केन्द्रीकरण र उद्दात्तीकरणको लागि ‘अर्को मोर्चा (The Next Front)’ नामक वैचारिक–राजनीतिक–सांस्कृतिक फोरमको गठन गरिएको हाे।” विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।
प्रेस विज्ञप्ति यस्तो छ –