२२ जेष्ठ २०८२, बिहीबार

बाजुरामा टेलिकमको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, दुई घाइते

काठमाडौं । बाजुरामा नेपाल टेलिकमको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दुई जना घाइते समेत भएको प्रहरीले जनाएको छ।

 

मंगलबार बिहान साढे ९ बजेतिर मार्तडीबाट टेलिकमको टावर बनाउन जाँदै गरेको बा ५ च २२०९ नम्बरको गाडी जगन्नाथ गाउँपालिका-२ मा दुर्घटनामा परेको हो।

उक्त गाडीमा ५ जना सवार रहेको र त्यसमध्ये ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी इकवाल हवारीले जानकारी दिए।

मृत्यु हुनेमा कैलाली धनगढी उपमहानगरपालिका-५ तारानगर बस्ने ४८ वर्षीय लोकबहादुर खड्का, बाजुरा बडिमालिका नगरपालिका-७ का ३५ वर्षीय रविन्द्र धामी र कंचनपुर कृष्णपुर नगरपालिका-२ बस्ने ५७ वर्षीय करनसिंह महतरा हुन्।

 

खड्का नेपाल टेलिकम मार्तडीमा प्राविधिक सहायक अधिकृत कार्यरत थिए भने धामी नेपाल टेलिकमकै कालाजाग्रा बाजुरमा सुरक्षागार्ड रहेको डिएसपी हवारीले बताए।

त्यस्तै महतरा भने टेलिकमको प्रादेशिक निर्देशनालय अत्तरियाका चालक रहेको प्रहरी अनुसन्धानमा खुलेको छ।

घाइतेहरू हुनेमा नन्दराम तिरूवा र लोकेन्द्र तिरूवा छन्। उनीहरूलाई उपचारका लागि कोल्टी पठाइएको उनले बताए।