१८ जेष्ठ २०८२, आईतवार

जुम्लामा चट्याङ लागेर २१ वटा भेडाबाख्रा मरे

काठमाडौं । जुम्लाको गुठीचौर गाउँपालिका–२ को झुलेनीमा ठाउँमा चट्याङ लागेर २१ वटा भेडा बाख्रा मरेका छन् । शनिबार साँझ ५ बजे रुखमुनि बसेका बेला चट्याङ पर्दा भेडाबाख्रा मरेका हुन् ।

 

गुठी गाउँका किसान हिरबहादुर ऐडीका १६ र धनकृष्ण रोकायाका पाँचवटा भेडाबाख्रा चट्याङमा परेर मरेको गुठीचौर–२ का पूर्ववडाध्यक्ष तथा स्थानीय धनबहादुर बोहोराले बताए ।

घरमा ल्याउन रुख मुनि जम्मा गरी राखिएको अवस्थामा चट्याङ परेको थियो । हिरबहादुरका ५० वटा र धनकृष्णका ३० वटा भेडा बाख्रा छन् । उनीहरूको घरखर्च भेडाबाख्राबाटै चल्ने गरेको छ ।

 

चट्याङमा भेडाबाख्रा मरेपछि किसानहरू दुःखी भएका छन् । गुठीगाउँमा रहेका १७५ घरधुरीमध्ये एकसय भन्दा बढी परिवारले भेडाबाख्रा पाल्ने गरेका छन् ।

गाउँमा करिब ३,५०० भेडाबाख्रा रहेको बोहोराले बताए । उनका अनुसार एउटा भेडाबाख्राको मूल्य कम्तीमा१० हजारदेखि अधिकतम २५ हजार रुपैयाँसम्म पर्नेगर्छ ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार जिल्लाकै सबैभन्दा बढी भेडा पालन हुने ठाउँ गुठीचौरको पूर्वी क्षेत्र हो । पाटन र खर्कमा व्यवस्थित भेडीगोठ नहुँदा हरेक वर्ष चट्याङबाट भेडाबाख्रामा ठूलो क्षति हुने गरेको कार्यालयले जनाएको छ ।

भेडाबाख्रा चट्याङबाट मरेपछि घरखर्च चलाउन समस्या भएको किसानहरूले बताएका छन् । किसान हिरबहादुर ऐडीले भने, ‘यो पेसाबाट घरखर्चदेखि छोराछोरीको पढाइ खर्च सहज रूपमा चलेको थियो ।’

 

गुठीचौर–२ का वडाध्यक्ष दीपबहादुर ऐडीले स्थानीय सरकारबाट सम्भव हुने सहयोग गरिने बताए । वडामा रकम नभएकाले गाउँपालिकाको विपद् शाखामा कुरा राख्ने उनको भनाइ छ ।