२५ बैशाख २०८२, बिहीबार

जाजरकोटमा साढे ८ किलो अबैध लागुऔषध (अफिम) प्रहरीले नष्ट गरेको छ

जाजरकोट : जाजरकोटमा साढे ८ किलो अबैध लागुऔषध (अफिम) प्रहरीले नष्ट गरेको छ । लुकाइ छिपाइ गाडीमा नेपालगञ्ज तर्फ लिदै गरेको अबस्थामा बरामद गरिएको साढे ८ किलो अबैध लागुऔषध (अफिम) बिहिबार प्रहरीले नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटको परिसर भित्र खाल्डो खनेर आगोमा जलाएर उक्त लागुऔषध (अफिम) नष्ट गरिएको थियो । जाजरकोट जिल्ला अदालतमा कार्यरत नासु छवि गिरी, जिल्ला प्रशासन कार्यालयमा कार्यरत खरिदार नविन कुमार सिंह, भेरी नगरपालिकामा कार्यरत जनस्वास्थ्य निरिक्षक तथा नगर स्वास्थ्य शाखा प्रमुख दिप बहादुर वलीको रोहवरमा उक्त अफिम नष्ट गरिएको थियो । अफिम नष्ट गर्दा रोहवरमा थुनुवा नलगाड नगरपालिका–३ का ५३ बर्षिय बिष्णु बहादर घर्ती, नलगाड नगरपालिका–९ का ३० बर्षिय दिपक सिंह, २३ बर्षिय सुरेश सिंह र नलगाड नगरपालिका–१० का २३ बर्षिय हरि बाँनियालाइ पनि राखिएको प्रहरी निरिक्षक सन्तोष चन्दले जानकारी दिए । जिल्ला अदालतको आदेशले उक्त अफिम नष्ट गरिएको प्रहरी निरिक्षक चन्दले बताए ।

जाजरकोट, रुकुम, रोल्पा जस्ता पहाडी जिल्लामा अबैध रुपमा गरिने गाँजा, चरेश र अफिम खेती, उत्पादन, विक्री वितरणमा ओसारपसार चुनौतिका रुपमा रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख बशन्त कुमार शर्माले बताए । अबैध रुपमा गरिने गाँजा, चरेश र अफिम खेतिलाइ नियन्त्रण नगर्दासम्म त्यसको उत्पादन, विक्रीवितरणको ओसारपसार नियन्त्रण नहुने डिएसपी शर्माको भनाइ रहेको छ । गाँजा, चरेश र अफिमको अबैध रुपमा खेती गर्ने व्यक्तिलाइ नियन्त्रण लिएर मुद्धा नलगाउदासम्म अबैध धन्दा नरोकिने जिल्ला प्रहरी प्रमुख शर्माको बुझाइ रहेको छ ।

यही बैसाख १५ गते विहान ९ बजे भेरी नगरपालिका–१ रिम्नबाट नलगाड नगरपालिका–९ का दिपक सिंह, सुरेश सिंह र नलगाड–१० का गाडी चालक हरि बाँनियालाइ प्रहरीले ६ किलो खैरो रङ्गको अर्धठोस (गिलो) अफिम र २५ हजार नगद सहित पक्राउ गरेको थियो । चालक बाँनियाले चलाएको कर्णाली प्रदेश–०२००१ च ११४५ नम्बरको रातो प्लेटको डबल क्याप बोलेरो जीप पनि प्रहरीले नियन्त्रण लिएको छ । कव्जा गरिएको जीपलाइ नेपाल सरकारको कानुन अनुसार लिलाम गरिने प्रहरीले जनाएको छ ।

त्यसैगरि यही बैसाख १५ गते बेलुका ९ बजे भेरी नगरपालिका–१ रिम्न बजारबाट साढे २ किलो खैरो रङ्गको अर्धठोस (गिलो) अफिम सहित नलगाड नगरपालिका–३ का बिष्णु बहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको थियो । बारेकोटदेखि नेपालगञ्ज तर्फ जादै गरेको लु १ ज ३९२६ नम्बरको यात्रुबहाक बोलेरो जीपमा सवार गरिरहेको अबस्थामा साढे २ किलो अफिम सहित घर्तीलाइ प्रहरीले पक्राउ गरेको थियो ।

थुनामा राखेर मुद्धा चलाइएका सिंह, बाँनिया र घर्तीलाइ १५ बर्षदेखि जन्मकैदसम्मको सजाय हुन सक्ने कानुनी व्यवस्था भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ । लागुऔषध रोकथाम तथा नियन्त्रण सम्बन्धि गत बर्षदेखि भेरी नगरपालिकाले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।