२३ भाद्र २०८१, आईतवार

चिहानघारीको राजतन्त्र र गणतन्त्र नायक प्रचण्ड

लेखक : रामदिप आचार्य

देशमा फेरि एकपटक दुई राजनीतिक प्रणाली गणतन्त्र र राजतन्त्रबारेको बहश सतहमा मुखरित भएको छ । गणतन्त्रको मूल पहलकर्ता र नेतृत्वकर्ता प्रधानमन्त्री प्रचण्डमाथि तथाकथित कानूनी बहानामा प्रहार गरिएपछि यो मुद्दा झन् पेचिलो बनेको छ । क्रान्ति र प्रतिक्रान्ति आमने सामने भएको छ । क्रान्ति र प्रतिक्रान्तिको वीचमा मौनता वा दोलायमान चरित्र निकै घातक हुने भएकोले म बोल्दैछु ताकी सय थुकि नदी बनोस् ।अब दुई प्रणालीको बारेमा एकछिन छलफल गराैँ ।

१. ऐतिहासिक दृष्टिले राजतन्त्र दासयुग पछिको व्यवस्था थियो भने गणतन्त्र राजतन्त्र पछिको । यी दुई प्रणाली एक अर्कामा सहकार्य गरेर होइन एकले अर्कालाई निषेध गरेर अस्तित्वमा रहेका हुन् । आजसम्म संसारको कुनै पनि देशमा राजतन्त्र र गणतन्त्रसँगै सहकार्य गरेको अपवाद पनि छैन । यदी त्यस्तो सहकार्य भएको भए तातो बरफ हुने थियो । या त राजतन्त्रले गणतन्त्रको बाटो अबरुद्ध गर्यो या त गणतन्त्र राजतन्त्रको चिहानमा खडा भयो ।

२. आजको विश्वको मूल राजनीतिक प्रवृत्ति राजतन्त्र होइन गणतन्त्र हो, भनिरहनु पर्दैन । विश्व महाशक्तिहरु पूँजीवादको केन्द्र संयुक्त राज्य अमेरिका देखि आफ्नै विशेषताको समाजवाद बोकेको चीनसम्म, विशाल भारतदेखि महाशक्ति रुससम्म सबैले गणतान्त्रिक प्रणाली अबलम्बन गरेका छन् । पुरानो साम्राज्य टर्की होस् वा दक्षिण अफ्रिका वा दक्षिण अमेरिका सर्वत्र गणतान्त्रिक प्रणाली छ । दक्षिण एशियामा भूटान अपवाद हो, बाँकी सबै देशहरु गणतान्त्रिक देशहरु हुन् । राजतन्त्रबाट गणतन्त्र समाज विकासको सुल्टो प्रवाह हो भने गणतन्त्रबाट राजतन्त्र उल्टो प्रवाह ।

३. नेपालको सन्दर्भमा राजतन्त्रले पुरानै लोकतन्त्रको समेत गला निमोठेर विकासको बाटो अवरुद्ध गरेपछि गणतान्त्रिक आन्दोलनले सार्थकता पाएको हो । राजतन्त्रको अर्को नाम षडयन्त्र, धोकाघडी,विलासिता,लुटखसोट र स्वैच्छाचारिता हो । वंश प्रणालीमा आधारित शासन उसको मूल विशेषता हो । राजाको जेठो छोरो राजा हुने । राजा संविधान भन्दा माथि हुने । राजाको बोली नै कानून हुने । राजासँग अकूत सम्पति हुने । राजालाई अख्तियार नलाग्ने । राजा दैवि अवतार हुने विश्वास थियो । उनी पृथ्वीमा शासन गर्नकै लागि आएका वा पठाइएका हुन् भनिन्थ्यो । राजालाई विष्णुका अवतार भनिन्थ्यो । आकाशमा चन्द्र र सूर्य रहुञ्जेल पृथ्वीमा राजाको शासन रहन्छ भनिन्थ्यो ।

हाम्रो देशको झण्डामा चन्द्र र सूर्य राख्नुको कारण पनि सायद त्यस्तै हुनु पर्दछ । । पहिला आकाशका ताराहरु र ग्रहहरु देवताहरु हुन् भन्ने विश्वासले काम गरेको हुन सक्दछ । अहिले पनि सूर्य देवता, चन्द्र देवता भनेको सुन्छाैँ । कसैले देवताको रुपमा त कसैले मुक्तिको प्रतिकको रुपमा ताराहरु झण्डामा राखेका पाइन्छ । चीनको झण्डामा पाँच ताराहरु, क्युवामा एक तारा, मलेसियामा चन्द्र र सूर्य, पाकिस्तानमा चन्द्र र तारा, संयुक्त राज्य अमेरिकामा पचास ताराहरु रहेका छन् । यसरी पृथ्वीका आधा भन्दा बढी देशहरुको झण्डामा आकाशिय पिण्डरुको संकेत रहेको पाइन्छ । आखिर हाम्रो सूर्य पनि त सबैभन्दा नजिकको तारा हो । यो कुनै देवता नभएर एक आगोको डल्ला हो जुन हाइडोजन र हेलिएमबाट बनेको छ । खगोलशास्त्री कार्ल सगनका अनुसार हाम्रो अवलोकन योग्य ब्रह्माण्डमा एक खर्ब जति आकाशगंगाहरु ( तारापुञ्जहरु) र दश अर्ब खर्ब जति ताराहरु रहेको अनुमान गरेका छन् । ती सबै ताराहरुले यो पृथ्वीमा शासन गर्न अवतारहरु खटाउन संभव छैन । यो सिंगो ब्रह्माण्डको तुलनामा हाम्रो पृथ्वी एक सानो धुलोको कण भन्दा पनि सानो छ । अतः अवतारको अवधारणा एक हास्यासपद भ्रम हो । हाम्रो सूर्य तेस्रो चरणको सूर्य भएकोले बरु हाम्रो शरिरमा पहिलाका मृत ताराका कणहरु हुन सक्छन् ।

बरु अवतारलाई राजा हुन मन लाग्यो र उनको आफ्नै प्रचलन बाधक बन्यो । प्रचलनले माइलो छोरालाई राजा हुन दिदैन्थ्यो । राजा मरे राजाकै छोरो राजा हुन्थ्यो भाई होइन । तसर्थ राजालाई मात्रै मारेर शासन आफ्नाे हातमा आँउदैन्थ्यो । राजाको वंशै सखाप गर्नु प्रथ्याे । यसरी जेठ १९ को रमाइलो शुक्रबार त्रासदीपूर्ण अध्यारो शुक्रबारमा बदलिएको थियो । अब सुनौँ यो देशको रक्षाको लागि राजा चाहियो भन्नेहरुको कथा । जसले एउटै कोखबाट जन्मेको दाईको वंश त सुरक्षित राखेन उसले देशको सुरक्षा गर्छ ? राजाकोे छोराले राजा हुन त राजा मार्नु पर्दोरहेछ भने जनताकोे छोराले राजा कसरी होला ? अतः राजतन्त्र वंश प्रणालीमा आधारित लूटेरा व्यवस्था हो । जसमा राजाका छोरीहरुलाई समेत राष्टप्रमुख हुने सम्पूर्ण ढोकाहरु बन्द गरिएको थियो जनताका छोरीहरुले त कल्पनै गर्न नसकिने । के राजतन्त्रमा जनताको छोरी एकल महिला राष्टप्रमुख हुने गुञ्जायस थियो ? । अकल्पनीय । अतः राजतन्त्र महिलाहरुको अधिकार विरोधी क्रुर पृत्तिसत्तावादी व्यवस्था हो । के राजतन्त्रमा मधेशको भैँसी गोठालोको छोरो राष्टप्रमुख हुने संभावना थियो ? सपनामा पनि चिताउन नसकिने । तर गणतन्त्रको डिएनएमै लेखिएको थियो संंविधानले तोकेको देशका नागरिकभित्रबाट महिला या पुरुष जुनसुकै जाति वा सम्प्रदायको भएपनि राष्टको सर्वोच्च तहमा पुग्न सक्ने छ । अतः राजतन्त्र जनविरोधि प्रणाली हो । राजतन्त्रमा कानून राजाले तोकेका मान्छेले बनाउथे । गणतान्त्रिक कानून जनताले चुनेका जनप्रतिनिधिहरुको सर्वोच्च संस्था संविधान सभाले बनाएको हो । अतः राजतन्त्र लोकतन्त्र विरोधी क्रुर फाँसीवादी व्यवस्था हो ।

४. के राजतन्त्रलाई संझाई बुझाई, चना चटपटे खाएर, विन्तीपत्र हालेर अन्त्य गर्न सकिन्थ्यो ? हो बयलगाढा चढेर संभव थिएन क्रान्ति नै गर्नु पर्दथ्यो । क्रान्तिको निम्ती क्रान्तिकारीहरु मध्यबाट प्रमुख नेता छान्नु पर्दथ्यो । त्यही नेताको नाम हो प्रचण्ड । अहिले प्रचण्डमाथि भइरहेको प्रहार गणतन्त्रमाथिको प्रहार हो । अहिलेको संविधान माथिको प्रहार हो । शान्ति सझौतामाथिको प्रहार हो । देशको अग्रगमनमाथिको प्रहार हो । यो कुनै कानूनी मामिला नभएर पुरै राजनीतिक मामिला हो । उनीहरुलाई थाहा छ गणतन्त्रको नायकमाथि प्रहार गरेर मात्रै यसलाई कमजोर पार्न सकिन्छ । अब हाम्रो नीति हुनुपर्दछ, गणतन्त्रको रक्षाको लागि एकताबद्ध हुने र प्रतिरोध गर्ने । इट्टाको जवाफ पत्थरले दिने । मुकदर्शक बस्ने होइन । निस्क्रिय बस्ने होइन । मौन बस्ने होइन । यो कुनै व्यक्तिको सवाल होइन आन्दोलनको सवाल हो, परिवर्तनको सवाल हो, जनताको सवाल हो । जो जहाँ छ त्यहाँबाट प्रतिरोधमा बोलाैँ । प्रतिक्रान्तिमाथि धाँवा बोलाैँ । हामी जिउँदै छौँ भन्ने प्रमाण त सार्वजनिक गराैँ । निस्क्रियता मृत्यु हो भने सक्रियता जीवन हो ।

रक्षात्मक हुनु पराजय हो भने आक्रामक हुनु विजय तर्फको यात्रा हो । अहिलेको गणतन्त्रलाई अझै उन्नत गणतन्त्रमा बदल्न सकिन्छ । बदल्नुपर्दछ । गणतन्त्रमा मात्रै आफैलाई निरन्तर नविकरण गर्ने विशेषता हुन्छ, राजतन्त्रमा होइन । राजतन्त्रको गर्भबाट जन्मेको गणतन्त्रमा राजतन्त्रका चिह्नछापहरु अवस्य पनि देखा परेका छन् । निरन्तर संघर्ष र जागरुकताबाट मात्रै तिनलाई सुधार गर्न सकिन्छ । फेरी गणतन्त्र मानव जातिको अन्तिम व्यवस्था पनि त होइन । मानव जातिले आफ्नाे विकास प्रक्रियामा आफू अनूकुलका विचार,राजनीति, संरचनाहरु बनाउदै जान्छ र जुन काम नलाग्ने हुन्छन् तिनलाई परित्याग गर्दै जान्छ । होमो सेपियन्सको तीन लाख वर्षको इतिहास हेर्ने जो कोहिले पनि यो कुरा सजिलै थाहा पाउन सक्छ । यो ब्रह्माण्डको हर वस्तु गतिशिल छ र हर वस्तु परिवर्तनशील छ । यो अकाट्य वैज्ञानिक तथ्य हो । गतिको नियम थाहा पाउने मानव जाति आफै गतिविहीन रहनै सक्दैन ।

अतः गणतन्त्र स्थिर र अपरिवर्तनीय प्रणाली होइन, न त यो कुनै दैवी अवतार हो । जनताले बनाएको प्रणाली हुनुको नाताले जनआवश्यकता अनुसार निन्तर परिमार्जन र विकास भइरहनु पर्दछ । यसरी मात्रै यो टिक्न सक्छ । नत्र यो पनि राजतन्त्र जस्तै मर्नेछ । यो आजको सापेक्षताको व्यवस्था हो । यसको अहिलेको नायक प्रचण्ड हुन् । यसको रक्षा र प्रचण्डको रक्षा एकअर्कासँग जोडिएको छ । आउनुहोस् गणतन्त्रको रक्षाको लागि प्रचण्डको रक्षा गराैँ । यो गणतन्त्र प्राप्तिको संघर्षमा योगदान गर्ने काँग्रेस, एमाले, मधेश केन्द्रीत दलहरु, अन्य वाम घटकहरु सबै आफ्ना फरकपनहरु यथावत् राखेर पनि यसमा सहकार्य गराैँ । नयाँ-नयाँ शिखण्डीहरु तयार पार्दा हिजो अढाई सय वर्षदेखि लुटेको केही धन खर्च होला अरु हात लाग्ने छैन । गणतान्त्रिक देशहरुमा राजतन्त्रको भिख मागेर समय बर्बाद नगरे कै राम्रो । जहाँ सम्म शान्तिप्रक्रियाको सवाल छ प्रचण्डलाई अपराधी र अरु सबै चोखा बनाएर पार लाग्दैन । विस्तृत शान्ति सझौता, संविधान सभा, संविधान र परिवर्तनको एजेण्डाको समग्र रुपबाट यसको छिनेफानो हुनुपर्दछ ।