६ बैशाख २०८२, शनिबार

लोमश वाङ्मय प्रतिष्ठानको छैटौँ मासिक शृङ्खला लघुकथा विशेष कार्यक्रम सम्पन्न

जयराम बिडारी

काठमाण्डौँ / लोमश वाङ्मय प्रतिष्ठानद्वारा हरेक महिनाको चौथो शनिवार नियमित रुपमा सञ्चालन गरिने रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठान स्थापनाको अर्धवार्षिक अर्थात् छैटौँ शृङ्खला लघुकथा विशेष कार्यक्रममा रेणु अधिकारी ‘मौनता’कृत कविता सङ्ग्रह ‘अस्तित्वको खोजी’को परिचर्चा गरिएको थियो ।

राजधानीको तानपा-८,स्थित प्रारम्भ वर्ल्ड स्कुल तथा कलेजमा सम्पन्न सो समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्य तथा प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटलको अध्यक्षता रहेको थियो भने विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिषठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदी, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी,राष्ट्रिय महिला आयोगकी सदस्य तथा प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडा हुनुहुन्थ्यो । यसैगरी विशेष अतिथिमा कृतिका परिचर्चाकार डा. कौशिला रिसाल,कृतिकार रेणु अधिकारी ‘मौनता’, प्रारम्भ वर्ल्ड स्कुल तथा कलेजका प्राचार्य कमल ज्ञवाली, सेवा निवृत्त शिक्षक समाज लमजुङका अध्यक्ष खुसीराम डौलिया,बहुविधाका सर्जक अमर किर्तिमानी, छन्दकवि रामचन्द्र न्यौपाने ‘वनवासी’ हुनुहुन्थ्यो ।

कार्यक्रममा सम्पूर्ण अभ्यागतहरूलाई प्रतिष्ठानकी सदस्य कमला घिमिरे अधिकारीद्वारा स्वागत गरिएको थियो भने प्रमुख अतिथिद्वारा पानसमा द्वीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरिएको थियो । कार्यक्रममा रेणु अधिकारी ‘मौनता’द्वारा लिखित कविता सङ्ग्रह ‘अस्तित्वको खोजी’ माथी परिचर्चाकार डा. कौशिला रिसालले सङ्क्षिप्त परिचर्चा गर्नुभयो । डा.रिसालले ७० को दशकदेखि कविता क्षेत्रमा पदार्पण गरेकी मौनताका दुई कविता कृति प्रकाशित भसकेकोमा खुसी व्यक्त गर्नुभयो ।

उहाँको कृतिको अध्ययनका क्रममा मानवीय अस्तित्वको खोजी, प्रकृति प्रेम, आत्मिक चिन्तनका बलियो पक्षलाई प्रस्तुत उहाँको तर्क थियो ।सरल भाषा शैलीमा विम्ब र प्रतीकको मात्रात्मक प्रयोगले कृतिलाई सिँगारिएको भन्दै रेणु अधिकारी ‘मौनता’का कविताले लैङ्गिक विभेद उजागर गरिएको, मानवीय कर्म सक्रिय जीवनशैली र सार्थक उपलब्धिलाई आदर्शका रुपमा प्रस्तुत गरिएको कविता भनी बखान गर्नुभयो ।

उक्त समारोहलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदीले स्थापनाको छोटो समयमै लोमश वाङ्मय प्रतिष्ठानको साहित्यिक सक्रियता अत्यन्त लोकप्रिय रहेको बताउनुभयो । सोही क्रममा राष्ट्रिय महिला आयोगका सदस्य तथा प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाले अन्तर्राष्ट्रिय नारी दिवस सुरु हुनुपूर्व नै नेपालको भोजपुरमा जन्मिएकी योगमायाले चेतनाको चिराग जलाएको उल्लेख गर्दै त्यस्ता महानतम् विभूतिको नाममा विश्वविद्यालय निर्माण गर्न सरकारले पहल गर्नुपर्ने जनाउँदै लोमश जस्ता संस्थाले साहित्यिक उन्नयनका लागि गरिरहेको योगदान प्रशंसनीय रहेको जिकिर गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले ‘वाङ्मय उन्नयनको साझा चौपारी’को सार्थक प्रयासको समानान्तर उपलब्धिका रूपमा लोमश वाङ्मय प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको समन्वय भाषा, कला साहित्य र संस्कृतिको क्षेत्रमा साथै रहेको सन्देशका रूपमा यो संस्थाको स्थापनाका समय देखि नै साथै रहेको बताउनुभयो ।

उहाँले सिर्जनशील कर्ममा सक्रिय रहेका सर्जकहरूले कहिल्यै पनि देशका लागि गद्दारी नगर्ने जनाउँदै सुशासनको प्रत्याभूत दिन जिम्मा लिएकाहरूले गीत,कथा, कविता जस्ता सिर्जनात्मक क्षेत्रमा सक्रिय रहनुपर्ने औँल्याउनुभयो । नेताहरूले कम्तीमा साहित्यको अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले लोमशको सार्थक प्रयासको प्रशंसा समेत गर्नुभयो ।

उक्त अवसरमा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले लोमश वाङ्मय प्रतिष्ठानको सराहनीय कर्मको मुक्तकण्ठले प्रशंसा गर्दै अन्तरराष्ट्रिय नारी दिवसको शुभकामना दिनुभयो । लघुकथा विशेष कार्यक्रममा हाम्रो लघुकथा केन्द्रले तयार पारेको लघुकथाको इतिहास बोकेको गीत बजाएर कार्यक्रममा रौनकता प्रदान गरिएको थियो ।

सो अवसरमा मिशु श्रेष्ठ, मन्दिरा मधुश्री, अम्बिका धिताल र एन्जेल निलुद्वारा आ- आफ्ना लघुकथा वाचन गरिएको थियो भने थुप्रै साहित्यानुरागीहरूले महिलाहरूकै विषयमा केन्द्रित रहेर आआफ्ना रचना वाचन गर्नुभएको थियो ।

सो समारोहमा संस्थाका आजीवन सदस्यहरू जगदीश्वर पोखरेल डा.शेखरकुमार श्रेष्ठ,केशरी अम्गाईं, दिल पौडेल,सुजिता अविरल,खेमराज पोखरेल,राजेन्द्रमान डङ्गोल,आलोक चालिसे,रेणु अधिकारी ‘मौनता’ जयराम बिडारी,रुबि सत्याल, अलका मल्ल, रामप्रसाद सापकोटा, सञ्जय सोती, हरिप्रसाद घिमिरे, सिर्जन लम्साल,ममिला पौडेल ‘आस्था’ प्रज्ञा घिमिरे,खुसीराम डौलिया र देवराज सिम्खडालाई प्रमाण-पत्र अर्पण गरिएको थियो । लघुकथाकार सत्या अधिकारीले कार्यक्रमको सहजीकरण गरेकी थिइन् ।