११ श्रावण २०८१, शनिबार

उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित

काठमाडौं ।जसपाका संसदिय दलका नेता रामसहाय प्रसाद यादव संघीय गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिमा निर्वाचित भएका छन् ।

संघीय संसद् भवन बानेश्वरमा शुक्रबार सम्पन्न उपराष्ट्रपति चुनावमा यादव निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नतिजाअनुसार यादवको पक्षमा ५१३ जना सांसदले मतदान गरेका छन्।
उनलाई संघीय संसदका १८४ र प्रदेशसभातर्फका ३२९ सांसदले मत दिएका छन्।

विजयी यादवले प्रदेशसभातर्फ १५ हजार ७९२ मतभार पाएका छन्। उनले संघीय संसदतर्फ १४ हजार ५३६ मतभार ल्याएका छन्। उनको पक्षमा ३० हजार ३२८ मतभार परेको हो।

यस्तै उपराष्ट्रपति पदको एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यले संघीय संसदतर्फ १०४ र प्रदेशसभातर्फ १६९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । यस्तै, जनमत पार्टीकी ममता झाले संघीय संसदतर्फ २३ र प्रदेशसभातर्फ १५ मत पाएकी छन् । उम्मेदवारी निष्क्रियको घोषणा गरेकी प्रमिला यादवले भने प्रदेशसभातर्फबाट १ मत पाएकी छन् । जसपाबाटै उम्मेदवारी दिएकी उनले रामसहायलाई समर्थन गर्ने घोषणा गरेकी थिइन् ।

उपराष्ट्रपतिमा निर्वाचित यादव बारा-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । २०२७ सालमा बाराको कलैयामा जन्मिएका यादवले बीएस्सी, बीएडसम्मको अध्ययन गरेका छन् । उनले २०४६ सालपछि नेपाल सद्भावना पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका थिए । त्यसअघि उनी शिक्षण पेसामा आबद्ध थिए ।

जसपाका संसदीय दलका नेतासमेत रहेका उनी २०६४ मा बारा-२ बाट संविधानसभा सदस्य निर्वाचित भएका थिए । यस्तै २०७४ र २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट सांसदमा निर्वाचित भएका हुन् । उनले वन तथा वातावरणमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।