५ माघ २०८१, शनिबार

म्याद थपका लागि दुर्गा प्रसाईँलाई आज अदालत लगिँदै

काठमाडौं । साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि थप अनुसन्धान गर्न आज अदालत पेस गरिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भिडियो सन्देशमार्फत ‘विवादास्पद अभिव्यक्ति’ दिएको आरोपमा उनी मंगलबार पक्राउ परेका थिए ।

प्रसाईं विरुद्ध जिल्ला अदालतबाट साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको थियो ।

प्रहरीले उनीविरुद्ध साइबर अपराधसँगै अन्य अभियोग पनि लगाउने तयारी गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

प्रधानमन्त्री ओलीले कम्बोडियामा २० करोड डलर लगानी गरेको प्रसाईंले भिडियोमार्फत आरोप लगाएका थिए ।

सो भिडियोमा उनले कागजात पनि देखाएका छन् । फर्जी कागजात बनाएको कसुरमा प्रहरीले उनीविरुद्ध ‘किर्ते गर्न नहुने’ अभियोग लगाउने तयारी गरेको छ ।

मुलुकी फौजदारी संहिता–२०७४ को दफा २७६ अनुसार किर्ते गर्न हुँदैन ।

सो ऐनको दफा ३०६ अनुसार बेइज्जती पनि गर्न पाइँदैन । सो कसुरमा पुष्टि भएमा २ वर्ष कैद र विद्युतीय माध्यमबाट त्यस्तो कसुर गरेमा थप १ वर्ष कैद सजाय हुने व्यवस्था छ ।

मुलुकी फौजदारी संहिता–२०७४ को दफा २८५ अनुसार आपराधिक उपद्रव गर्न पाइँदैन ।

प्रहरीले उनलाई आपराधिक उपद्रव विरुद्धको अभियोग पनि लगाउन सक्छ । आपराधिक उपद्रव पुष्टि भएमा ३ वर्षसम्म कैद हुन्छ ।

मुलुकी फौजदारी संहिता–२०७४ को दफा ८९ मा झुटा प्रमाण बनाउन नहुने कानुनी व्यवस्था छ ।

प्रहरीले उनीविरुद्ध झुटा प्रमाण बनाएको कसुरमा पनि अनुसन्धान गर्ने तयारी गरेको छ । झुटा प्रमाण बनाएको पुष्टि भएमा ५ वर्षसम्म कैद हुन्छ ।

मुलुकी फौजदारी संहिता–२०७४ को दफा ५८ अनुसार राष्ट्रपति वा संसद्लाई धम्की दिन पाइँदैन ।

त्यसरी धम्क्याएको पुष्टि भएमा ७ वर्षसम्म कैद हुने व्यवस्था छ ।