३१ भाद्र २०८१, सोमबार

जिउदा मान्छे पनि राष्ट्रिय सहिद घाेषणा

काठमाडौं  । सरकारले सार्वजनिक गरेको शहीदको सूचीमा जिउँदा मान्छेको पनि नाम समावेश भएको पाइएको छ ।

डोटीको बडीकेदार गाउँपालिका–२ (साविकको बर्छैन गाउँ विकास समिति–८) का ५९ बर्षीय चक्रबहादुर मटेलीको नाम शहीदहरुको सूचीमा छ । फागुन १५ गते सरकारले सशस्त्र बिद्रोहका साथै विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरुलाई सम्मान स्वरुप शहीद घोषणा गर्ने निर्णय गरेको थियो ।

फागुन २९ गते प्रकाशित राजपत्रमा जिउँदा व्यक्ति मटेलीलाई पनि शहीदको सूचीमा राखिएको छ । डोटी जिल्लाबाट शहीद घोषणा गरिएका ६३ जनामध्ये मटेलीको नाम ४२ औं नम्बरमा छ । राजपत्रमा २०५९ साल बैशाख १९ गते मटेलीको मृत्यु भएको उल्लेख छ।

मटेली २०५९ साल वैशाख १९ गते बर्छैनको छेडामा तत्कालीन शाही नेपाली सेनाले गरेको आक्रमणमा परी घाइते भएका थिए । उनको घाँटी, मुख र पाखुरामा गोली लागेको थियो । उनी भन्छन् ‘मलाई मर्‍यो भनेरै छोडेका हुन्, तर म जिउँदै रहेछु ।’ आफूलाई छाक टार्ने व्यवस्था गरिदिनु पर्‍यो भनेर पटक -पटक सबै पक्षलाई अनुरोध गर्दा पनि कसैले नसुनेको उनको गुनासो छ । ‘माओवादी बिद्रोहकै क्रममा मेरो यस्तो अवस्था भयो तर माओवादीहरुले पनि हेरेनन्’, मटेली भन्छन् ‘माओवादी सरकारमा भएका बेला पनि मैले धेरै नेताहरुलाई आग्रह गरेँ, आफ्नो समस्या भनेँ, तर कसैले सुनेनन् ।’

‘म जिउँदै छु तपाईसंग फोनमा कुरा गरिरहेको छु, मरेको त छैन’ मटेली भन्छन् ‘सरकारले २० बर्षअघिनै मारिसकेको रहेछ ।’ माओवादी नेतृत्वको सरकार रहेका बेला आफू र आफूजस्ता निर्दोष द्वन्द्व पीडितहरुको समस्या बुझिदिनुपर्ने उनी बताउँछन् ।

नेकपा माओवादी केन्द्र डोटीका संयोजक कमलबहादुर गड्सिला चक्रबहादुर मटेलीको नाम त्रुटिवश शहीदको सूचीमा समावेश भएको हुन सक्ने बताउँछन् । ‘हामीले नामावली तयार गरेर पठाउन साथीहरुलाई जिम्मा दिएका थियौं, काम गर्ने क्रममा केही तलमाथि भयो होला, हामी सच्याउँछौं’ उनले भने ।