२ कार्तिक २०८१, शुक्रबार

विप्लवले जुम्ला पुगेर स्याउ खेतिकाे उद्घाटन गरे,१० हजार विरुवा राेप्ने

जुम्ला : नेपाल  कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले जुम्ला पुगेर स्याउ रोपणको उद्घाटन गरेका छन ।शुक्रबार कर्णाली प्रदेशको जुम्ला जिल्लामा पुगेर  विप्लवले पार्टी र देशलाई आत्मनिर्भर बनाउने योजनाका साथ  स्याउ रोप्ने कार्यक्रमको उद्घाटन गरेका हुन।

विप्लवले चन्दननाथ नगरपालिका वडा नम्वर २ भण्डारीबाडामा ‘राजेश फलफुल नर्सरी एण्ड स्याउ प्रशोधन उद्योग’ संचालन गरेका दम्पती हरी वहादुर कामी र मंगला विकको हातबाट १५४ वटा सहयोग स्वरुप उपलब्ध गरेका स्याउका विरुवा ग्रहण गर्दै र रोप्दै स्याउ रोपण अभियानको उद्घाटन गरे ।

बिहिवार विप्लवकाे नेतृत्वमा उत्तर कर्णाली व्यूरो हुम्ला, मुगु, जुम्ला, अछाम, कालिकोट बाजुरासहितका नेकपा नेता कार्यकर्ताको टोली जुम्ला पुगेको थियाे।

नेकपाका नेता भरत बमका अनुसार “२२ हजार वर्गमिटर क्षेत्रफलमा १० हजार स्याउका बिरुवा रोप्ने अभियान सुरु गरिएको छ । पहिलो चरणमा एक हजार पाँच सय स्याउका बिरुवा रोपिने” नेता भरत बमले बताय।

उत्पादन वृद्धि नभइ मुलुक र जनताको समृद्धि सम्भव नहुने कुरामा विश्वास राख्दै विप्लवले कृषि क्रान्तिको यात्रालाई कर्णालीको जुम्लामा पुर्याएको बताए ।‘उर्बर बाँझो जग्गालाई उपभोग गरिने छ,’ जुम्ला पुगेका विप्लवले भने, ‘यसले किसानहरुमा पनि सकारात्मक सन्देश प्रवाह गर्ने छ । उत्पादन वृद्धिबाट मात्रै समाज र राष्ट्रको उन्नति सम्भव छ । त्यसैलाई मध्यनजर गरी उर्वर जुम्लाको बाँझो भूमिलाई उपभोग गर्न र स्याउमार्फत समृद्धि हासिल गर्न खेती गर्न लागिएको हो ।’

तीनै तहका सरकारले उत्पादनशील क्षेत्रमा लगानी गर्न नसकेको महासचिव विप्लव ठम्याइ छ । ‘अब सबै पार्टीले गाउँगाउँमा उत्पादन वृद्धिका लागि जाँगर चलाउने अभियान ल्याउन जरुरी छ,’ उनले भने, ‘हाम्रो पार्टी अब उत्पादन वृद्धिका क्षेत्रमा बढी केन्द्रित हुन्छ ।’

नेताहरुमा काम गर्ने, श्रम गर्ने पद्धतिको विकास हुन सकेमात्र जनता उत्साहित हुनाका साथै आत्मनिर्भर खेतीतर्फ उन्मुख हुने विप्लवकाे  बुझाइ छ । विप्लवका अनुसार जुम्ला , हुम्ला , मुगु, डाेल्पा, मनाङ र मुस्ताङ लगायतका सम्भावित जिल्लाका ठाउँमा पनि स्याउ खेती गरिने छ । नेकपाले देशका विभिन्न ठाउमा कृषि खेति गरेर पार्टी र देशलाई आत्मनिर्भर बनाउने उद्घाेष गरेकाे छ ।