– समिक्षा थापा
साउन महिना सुरु भएसँगै धार्मिक गतिविधि र बोलबम यात्राको रौनक निकै बढेको छ। भगवान् शिवप्रति आस्था राख्ने भक्तजनहरू बिहानैदेखि ‘हर हर महादेव’ र ‘बोलबम’को जयघोष गर्दै सुन्दरीजललगायतका स्थानबाट जल लिएर पशुपतिनाथतर्फ यात्रा गरिरहेका छन्।
वर्षाको मौसममा लामो पैदल यात्रा र बाटोको कठिनाइका बाबजुद पनि भक्तजनहरूको उत्साह भने कम भएको छैन। बोलबम यात्रा केवल धार्मिक परम्परा मात्र नभई नेपाली समाजको आस्था, संस्कार र सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा पनि लिइन्छ तर हजारौँ भक्तजन सडकमा निस्कँदा धार्मिक आस्थासँगै वातावरणीय जिम्मेवारीलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ।
यात्राका क्रममा पानीका बोतल, प्लास्टिकका झोला, खानेकुराका प्याकेट, कप, गिलास तथा अन्य प्लास्टिकजन्य सामग्री खाई नसकेका चिजलाई जथाभावी फालिँदा सडक, खोलानाला र धार्मिक क्षेत्र फोहोर हुने समस्या बढ्न सक्छ। भगवान् शिवको दर्शन गर्न निस्किएको यात्राले नै वरपरको वातावरण प्रदूषित बन्याे भने त्यसले हाम्रो धार्मिक चेतनामाथि पनि प्रश्न उठाउन सक्छ।
त्यसैले बोलबम यात्रामा सहभागी प्रत्येक भक्तजनले आफूले प्रयोग गरेको सामग्रीको उचित व्यवस्थापन गर्न आवश्यक छ। फोहोर देखेमा ‘यो मेरो होइन’ भनेर पन्छिनुभन्दा सकेसम्म डस्टबिनमा राख्ने, प्लास्टिक प्रयोग कम गर्ने र अरूलाई पनि जथाभावी फोहोर नफाल्न सचेत गराउने, जिम्मेवारी हामी सबैको हो।
धार्मिक स्थल सफा राख्नु सरकार वा सरसफाइ अभियानमा लागेका व्यक्तिहरूको मात्र जिम्मेवारी होइन। भक्तजन, स्थानीय बासिन्दा, व्यवसायी, स्वयंसेवक र सम्बन्धित निकाय सबैको साझा दायित्व हो।
भगवान् शिवलाई जल चढाउनु आस्था हो भने, आफू हिँडेको बाटो सफा राख्नु पनि त्यही आस्थाप्रतिको सम्मान हो। यस वर्षको बोलबम यात्राबाट एउटा सुन्दर सन्देश जाओस्— “बोलबम पनि भनौँ, फोहोर पनि नफालौँ। शिवको पूजा पनि गरौँ, प्रकृतिको रक्षा पनि गरौँ।”
