२०८३ श्रावण २५, सोमवार

नायिका रेखा थापाको आथित्यतामा फुटसल प्रतियोगिता सम्पन्न

काठमाडौँ: जाजरकोट फुटसल प्रतियोगिता सम्पन्न भयको छ । जाजरकोटी खेलप्रेमी युवाहरूलाई लक्षित गर्दै काठमाडौंमा आयोजना गरिएको ‘परिवर्तनका लागि युवा–जाजरकोट फुटसल प्रतियोगिता’ नायिका रेखा थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

शनिबार जाजरकोटकी सामाजिक अभियन्ता सुप्रिया शाहीको अध्यक्षता तथा कर्णाली प्रदेशका पूर्वअर्थमन्त्री राजीवविक्रम शाहको प्रमुख आतिथ्यमा उद्घाटन भएको प्रतियोगिता आइतबार नायिका रेखा थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

प्रतियोगितामा २३ टोलीको सहभागिता रहेको थियो। फाइनल खेलमा नलगाड–१२ लाई पराजित गर्दै ‘त्रि–जेवा युवा क्लब, छेडागाडले उपाधि हात पारेको छ, नलगाड–१२ उपविजेता बनेको छ भने शारदा शेर स्मृति प्रतिष्ठान तृतीय भएको छ।’
प्रतियोगितामा विजेता टोलीले रु ४० हजार, उपविजेताले रु. २५ हजार र तृतीय हुने टोलीले रु. १५ हजार नगत पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगितामा उत्कृष्ट खेलाडी लगायत विभिन्न विधामा समेत पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।

समापन कार्यक्रममा बोल्दै कार्यक्रमकी अध्यक्ष सुप्रिया शाहीले प्रतियोगिता सफल बनाउन आर्थिक तथा भौतिक रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगी, खेलाडी, आयोजक तथा शुभेच्छुकप्रति आभार व्यक्त गरिन्। उनले प्रतियोगिताको सफलताले आफूहरूलाई थप उत्साहित बनाएको बताउँदै आगामी दिनमा पनि जाजरकोटी युवालाई लक्षित गरी यस्तै विभिन्न खेलकुद प्रतियोगिता तथा कार्यक्रमहरू आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन्।जाजरकोटी युवाबीच आपसी एकता, भाइचारा र खेलकुदको विकाससँगै सकारात्मक परिवर्तनको सन्देश दिने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले काठमाडौंमा रहेका जाजरकोटी युवालाई एकै ठाउँमा जोड्ने अवसरसमेत प्रदान गरेको आयोजकले जनाएको छ। प्रतियोगिताले जाजरकोटका युवाहरूलाई खेलकुदमार्फत जोड्दै ‘युवा नै परिवर्तनका संवाहक हुन्’ भन्ने सन्देश दिएको छ।