२०८३ असार २९, सोमवार

गोपी मैनालीको समालोचनात्मक कृति ‘विचार र विचरण’को लोकार्पण

– माधव घिमिरे ‘अटल’

वरिष्ठ समालोचक तथा पूर्व प्रशासक गोपी मैनालीको नयाँ कृति ‘विचार र विचरण’को लोकार्पण समारोह राजधानीमा सुसम्पन्न भएको छ । प्रा.डा. अभि सुवेदी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा उमेश मैनाली, प्रा.डा.खगेन्द्र लुइँटेल, युवराज मैनाली र प्राज्ञ दिनेशराज पन्त थिए ।
प्रमुख अतिथि प्रा.डा. अभि सुवेदीले गोपीको लेखनमा मोहनीय आकर्षण रहेको बताउँदै उनको व्यक्तित्व अद्वितीय रहेको तर्क गरे ।एउटा सरकारी कर्मचारीको सञ्चारमाध्यममा दिने गरेको स्वतन्त्र प्रस्तुतिले आफूलाई प्रभाव पारेको खुलासा गर्दै सुवेदीले यतिखेर समालोचना निकै अप्ठ्यारो अवस्थामा रहेको बताए । समालोचना आफैंमा एउटा सिर्जना भएको सुवेदीको धारणा थियो । समीक्षा सिर्जनशील हुनुपर्ने बताउँदै सुवेदीले कृतिमा सबै विधा र पक्षहरू समेटेकोमा सन्तोष प्रकट गरे । सारांशमा घटना र व्यक्तिलाई जोड्ने अद्भुत क्षमता मैनालीमा रहेको सुवेदीको धारणा थियो । कृति सफलताका निम्ति पनि सुवेदीले बधाई तथा शुभकामना दिए ।

अतिथि प्रा.डा. खगेन्द्र लुइँटेलले सर्जक ठूलो हो र समालोचक केही होइन भन्ने भ्रमबाट मुक्त हुन पुस्तक पढ्नै पर्ने दाबी गरे । विचार बढी से बढी सैद्धान्तिक खालको भएको भन्दै उनले भूमिका लेखन गराउन आउने कतिपय सर्जकमाथि खनिँदै कृति पढ्दा पढ्दै के पढेँ भन्ने भेउ नै पाउन नसकिने बताए । यो कृतिमा अक्षरभन्दा बेसी जीवन लेखिएको छ । विभिन्न पौरत्स्य र पाश्चात्य विद्वान्हरूका थुप्रै उद्धरण गरिएको अवगत गराउँदै आगामी दिनमा पाद टिप्पणी गर्न सुझाए ।देब्रे र दाहिने धारका आधारमा मैनालीले नहेरेको भन्दै अलिक प्रभाववादबाट जोगिन लुइँटेलले आग्रह गरे । खेताला लेखनलाई खुइल्याउँदै लुइँटेलले व्यङ्ग्यको घुयेँत्रो प्रहार गरे ।

वरिष्ठ सञ्चारकर्मी वसन्त बस्नेतले कृति पाँच सय रुपैयाँमा लिँदा घाटा त नलाग्ला तर मूल विषयवस्तुबाट पुस्तक अलिक भड्केको भन्दा अत्युक्ति नहुने जिकिर गरे । युजे पोत्तरलाई उद्धृत गर्दै उनले पुस्तकले विचार गर्दै विचरण गर्न सुझाए । बुढेसकालमा थप सिर्जनशील बन्न बस्नेतले आग्रह गरे ।
कृतिकार गोपी मैनालीले आफू भव्य एवं गरिमामय उपस्थितिप्रति कृतज्ञ रहेको भन्दै आफूले विभिन्न विधा लेखनलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे आफ्नो विचार सम्प्रेषण गरेको बताए ।उनले निकै सङ्क्षिप्तमा आफ्नो भनाइ राखे ।

अतिथि प्राज्ञ दिनेशराज पन्तले समाज द्वेष र सम्मानमा सामाजिक चेतना निम्नस्तरको रहेको बताउँदै आफ्नो नामबाट चर्चित भएमा अब्बल, बाबुको नामबाट चर्चित भएमा दोयम, मामाको नामबाट चर्चित भएमा तेस्रो श्रेणीको र ससुराको नामबाट चर्चित भएमा अधम कहलिने बताए । अघिल्लो खण्डमा शुद्धीकरणमा अलिक ध्यान नपुगेको उनको दाबी थियो ।
समालोचक युवराज मैनालीले धेरै सर्जकको नाम लिँदै सबै अतिथिहरूलाई धन्यवाद ज्ञापन गरे । उनले गोपीको समालोचना उच्चस्तरको समालोचना भएको दाबी गरे । उनले लामै समय बोलिसकेपछि आफूले धेरै नबोल्ने वाचा गर्दै प्रकाशकलाई पनि धन्यवाद अर्पण गरे ।
पूर्व राष्ट्रसेवकको तर्फबाट रामबाबु नेपालले शुभकामना मन्तव्य दिँदै कृति लोकप्रिय बनोस् भन्ने कामना गरे ।
कवि कलानिधि दाहालले हास्यरस घोलेर अरूहरूकोमा जाँदा लोकार्पणका दिन कृति बेच्नु अन्याय हुन्छ भन्ने गोपीले आफ्नो कृति
उपस्थित सबैलाई वितरण गर्दा के फरक पर्छ ? भन्दै ठट्यौली गरे ।

उमेश मैनालीले आफ्नाको बारेमा बोल्दा अवचेतन मनले आग्रह राख्न सक्ने जोखिम रहने भन्दै गोपीको सेवा निवृत्त जीवन अत्यन्त ऊर्जाशील रहेको दाबी गरे । उनले कृति सफलताका निम्ति बधाई पनि दिए ।
महिला अधिकारवादी सरु जोशी र भाषा आयोगका पूर्व अध्यक्ष डा. लवदेव अवस्थीले पनि गोपी मैनालीको समालोचनात्मक अन्वेषण कृति ‘विचार र विचरण’को सफलताको शुभकामना व्यक्त गरे ।

मकालु प्रकाशनका अध्यक्ष तथा समारोहका अध्यक्ष वासुदेव ढकालले कार्यक्रमको बिट मार्दै सबैलाई धन्यवाद ज्ञापन गरे ।
कवि तथा सञ्चारकर्मी ठाकुर बेलबासेले सहजीकरण गरेको सो कार्यक्रममा सुष्मा पण्डित मैनालीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।