जाजरकोट: डिभिजन वन कार्यालय जाजरकोटले आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत “वार्षिक वृक्षारोपण कार्यक्रम”मार्फत जिल्लाभर करिब ३७ हजार बिरुवा रोप्ने भएको छ।
वन क्षेत्रको संरक्षण, हरियाली प्रवर्द्धन तथा वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले सञ्चालन गरिने उक्त कार्यक्रमअन्तर्गत जिल्लाका खाली तथा उजाड जमिन, वन क्षेत्रको छेउछाउ तथा स्थानीय तह र समुदायबाट माग भएका अन्य उपयुक्त स्थानमा वृक्षारोपण गरिने कार्यालयले जनाएको छ।
डिभिजन वन कार्यालयका प्रमुख दिपेश केसीका अनुसार वृक्षारोपण कार्यक्रम उपभोक्ता समूहमार्फत सञ्चालन गरिनेछ। कार्यालयअन्तर्गत कुशे गाउँपालिकामा १३, जुनिचाँदे गाउँपालिकामा १०, भेरी नगरपालिकामा ६ तथा नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र छेडागाड नगरपालिकामा ३,३ गरी जम्मा ३९ वटा वन उपभोक्ता समूह परिचालन गरिनेछ।
प्रमुख केसीका अनुसार कार्यालयको नर्सरीमा हाल करिब ५० हजार बिरुवा उत्पादन गरिएको छ। तीमध्ये करिब ४० हजार बिरुवा रोप्न योग्य अवस्थामा रहेका छन्। तीमध्ये करिब ३७ हजार बिरुवा यस वर्षको वृक्षारोपण कार्यक्रममा प्रयोग गरिने र बाँकी बिरुवा आवश्यकताअनुसार संरक्षण तथा वितरण गरिने उनले जानकारी दिए।
यस वर्षको वृक्षारोपण कार्यक्रममा बुद्धचित्त, टिमुरलगायत आर्थिक तथा वातावरणीय दृष्टिले महत्वपूर्ण प्रजातिका करिब ४ हजार बिरुवा समेत रोपिने कार्यालयले जनाएको छ।
वन क्षेत्रको विस्तार, जैविक विविधताको संरक्षण, भू–क्षय नियन्त्रण तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा वृक्षारोपण कार्यक्रमले महत्वपूर्ण योगदान पुग्ने विश्वास डिभिजन वन कार्यालयले लिएको छ। कार्यालयले स्थानीय समुदाय, वन उपभोक्ता समूह तथा सरोकारवाला निकायलाई वृक्षारोपणसँगै बिरुवाको संरक्षणमा पनि सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।
