२०८३ असार २१, आइतवार

भेरी नगरपालिका -१ जाजरकोटद्धारा नवप्रतिभावान युवालाई सम्मान

जाजरकोट: भेरी नगरपालिका वडा नं. १ ले विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका दुई जना नवप्रतिभावान युवालाई नगदसहित सम्मान गरेको छ।साहसिक खेलका रूपमा परिचित साइकल यात्रामार्फत आफ्नो क्षमता प्रदर्शन गर्दै जिल्लाको पहिचानलाई राष्ट्रिय स्तरसम्म पुर्‍याउन योगदान दिएका ज्ञानेन्द्र राना तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको भलिबल विधामा उत्कृष्ट प्रदर्शन गरी राष्ट्रिय खेलाडीका रूपमा पहिचान बनाएका सुरेन्द्र परियार लाई वडा कार्यालयमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो।

वडा अध्यक्ष दिपक राना ले युवाको प्रतिभा, मेहनत र समर्पणको उच्च मूल्याङ्कन गर्दै उनीहरूलाई थप प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरिएको बताए।अध्यक्ष रानाकाअनुसार समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र उत्कृष्ट कार्य गर्ने युवाको सम्मानले अन्य युवालाई पनि सिर्जनात्मक र प्रेरणादायी कार्यतर्फ आकर्षित गर्ने विश्वास लिइएको छ।

सम्मानस्वरूप साइकल यात्री ज्ञानेन्द्र रानालाई रु.१० हजार र राष्ट्रिय भलिबल खेलाडी सुरेन्द्र परियारलाई रु। ५ हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रम सहिद स्मृति युवा क्लब को आयोजना तथा भेरी नगरपालिका वडा नं -१ को समन्वयमा सम्पन्न भएको क्लबका अध्यक्ष प्रेमबहादुर वि.क. ले जानकारी दिए। उनका अनुसार स्थानीय स्तरमा उत्कृष्ट कार्य गर्ने युवाको सम्मानले प्रतिभाको कदर गर्नुका साथै नयाँ पुस्तालाई सकारात्मक कार्यमा अग्रसर हुन प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

शुक्रबार वडा कार्यालयमा आयोजित सम्मान कार्यक्रममा जनप्रतिनिधि, स्थानीय युवा, खेलकुदकर्मी तथा सरोकारवालाको उपस्थिति रहेको थियो। सम्मानित युवाले प्राप्त सम्मानले आफ्नो क्षेत्रमा अझ जिम्मेवारीका साथ अघि बढ्न थप ऊर्जा र प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन्।