२०८३ असार १८, बिहीवार

नेपाल बैंक र ॐ समाज डेन्टलबीच सहुलियतपूर्ण दन्त उपचार सम्झौता

— राजन थापा

काठमाडौं /  स्वास्थ्य उपचार आर्थिक अवस्थाका कारण कसैका लागि विलासिता होइन, सबै नागरिकको आधारभूत अधिकार हो भन्ने सन्देशसहित नेपाल बैंक लिमिटेड र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि.बीच सहुलियतपूर्ण दन्त उपचार सेवा उपलब्ध गराउने महत्वपूर्ण सम्झौता भएको छ।

यो सहकार्यले हजारौँ बैंक ग्राहक र कर्मचारीलाई गुणस्तरीय दन्त उपचार सहज र किफायती रूपमा उपलब्ध गराउने अपेक्षा गरिएको छ। सम्झौताअनुसार नेपाल बैंकका खातावाला ग्राहक तथा कर्मचारीले काठमाडौंको चाबहिल, बनस्थली, सातदोबाटो र महोत्तरीको बर्दिबासस्थित ॐ समाज डेन्टलका शाखाबाट उपचार गराउँदा १५ देखि २५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

उपचारलाई नागरिकको पहुँचमा पुर्याउने उद्देश्यले गरिएको यो सहकार्यलाई स्वास्थ्य क्षेत्रमा सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा हेरिएको छ। सम्झौतापत्रमा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले तथा ॐ समाज डेन्टल हस्पिटलका प्रमुख प्रशासनिक अधिकृतद्वय बिजेन्द्र लाल र धनप्रसाद घिमिरेले हस्ताक्षर गरेका हुन्।

कार्यक्रममा ॐ समाज डेन्टल हस्पिटलका अध्यक्ष सुभाष घिमिरेले स्वास्थ्य सेवा केवल व्यवसाय नभई समाजप्रतिको उत्तरदायित्व भएको बताए। उनले भने, “हामी सडकदेखि घरसम्म प्रत्येक नागरिकको मुस्कान सुरक्षित बनाउने अभियानमा छौँ। आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुनु नपरोस् भन्ने हाम्रो संकल्प हो। नेपाल बैंकसँगको यो सहकार्यले हजारौँ नागरिकलाई गुणस्तरीय र सहुलियतपूर्ण उपचारको ढोका खोल्नेछ।”

प्रमुख प्रशासनिक अधिकृत बिजेन्द्र लालले सेवा, पारदर्शिता र बिरामीमैत्री व्यवहारलाई संस्थाको मूल आधार बनाइएको उल्लेख गर्दै भविष्यमा अझ प्रभावकारी र पहुँचयोग्य स्वास्थ्य सेवा विस्तार गरिने बताए। नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्लेले ग्राहक र कर्मचारीको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै गरिएको यो सहकार्यले संस्थागत सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

उनले सहुलियतपूर्ण उपचार सेवाले सेवाग्राहीलाई प्रत्यक्ष राहत पुग्ने बताए। अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र गुणस्तरीय सेवामार्फत देशका विभिन्न स्थानमा सेवा विस्तार गर्दै आएको ॐ समाज डेन्टल हस्पिटलले “सडकदेखि घरसम्म उपचार” अभियानलाई अझ सशक्त बनाउँदै गुणस्तरीय दन्त स्वास्थ्य सेवा प्रत्येक नागरिकको पहुँचमा पुर्याउने अभियानलाई निरन्तर अघि बढाइरहेको जनाएको छ।

स्वास्थ्य क्षेत्रमा सरकारी, निजी र वित्तीय संस्थाबीचको यस्तो सहकार्यले उपचारलाई केवल अस्पतालभित्र सीमित नराखी नागरिकको घरदैलोसम्म पुर्याउने नयाँ सम्भावना सिर्जना गरेको विश्वास गरिएको छ।