काठमाडौं । नेपाल सरकार युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र, भैँसेपाटी ललितपुर र ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालको संयुक्त आयोजनामा “ग्रिल तथा फेब्रिकेशन कार्यमा संलग्न श्रमिकहरूलाई व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य बचाउ सम्बन्धी अभिमुखीकरण तालिम” आजदेखि औपचारिक रूपमा सुरु भएको छ ।
लामो समयदेखि जोखिमपूर्ण रूपमा सञ्चालन हुँदै आएको ग्रिल तथा स्टिल व्यवसाय क्षेत्रमा कार्यरत श्रमिकहरूको सुरक्षा, स्वास्थ्य र जीवन रक्षालाई केन्द्रमा राखेर आयोजना गरिएको यो कार्यक्रमलाई व्यवसायिक क्षेत्रमा एउटा ऐतिहासिक अभियानको रूपमा हेरिएको छ ।
व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रको भैँसेपाटीस्थित सभाहलमा ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रमको भव्य उद्याटन गरिएको हो । उद्याटन समारोहमा सरकारी अधिकारी, व्यवसायी, श्रमिक प्रतिनिधि तथा विभिन्न जिल्लाबाट आएका उद्योगीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रम उद्याटन सँगै श्रमिक सुरक्षाको विषय फेरि राष्ट्रिय बहसको केन्द्रमा आएको छ । ग्रिल तथा फेब्रिकेशन क्षेत्रमा काम गर्ने श्रमिकहरू आगलागी, करेन्ट, ग्यास विस्फोट, फलाम काट्ने मेसिनको दुर्घटना, धुवाँ तथा विषाक्त पदार्थको जोखिममा दैनिक काम गरिरहे पनि उनीहरूका लागि पर्याप्त सुरक्षा तालिम र सचेतना नहुँदा थुप्रै दुर्घटनाहरू हुने गरेको तथ्यलाई कार्यक्रममा गम्भीर रूपमा उठाइएको थियो ।
व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रका प्रतिनिधिहरूले अब श्रमिकलाई “काम गर्ने जनशक्ति” मात्र नभई “राष्ट्र निर्माणका सुरक्षाकर्मी” का रूपमा हेरिनुपर्ने धारणा राखेका छन् । उनीहरूले उद्योग क्षेत्रमा हुने लापरवाही, सुरक्षासामग्रीको अभाव र चेतनाको कमीले कैयौं श्रमिकले अकालमै ज्यान गुमाइरहेको उल्लेख गर्दै यस्तो तालिम समयको अत्यन्तै आवश्यक कदम भएको बताएका छन् ।
ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालले पनि सरकारसँग सहकार्य गर्दै श्रमिक सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाएको छ । महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठले तालिमले व्यवसायिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै श्रमिक सुरक्षामा कुनै सम्झौता नगर्ने चेतावनीपूर्ण सन्देश दिएका छन् ।
तालिममा काठमाडौं, भक्तपुर, ललितपुर तथा काभ्रेपलाञ्चोक लगायत विभिन्न जिल्लाबाट ३० जना प्रतिनिधिसहभागी भएका छन् । सहभागीहरूमा हरि बहादुर श्रेष्ठ, मुकुन्द भट्टराई, राजेश श्रेष्ठ, मोहन श्रेष्ठ, दीपक श्रेष्ठ, लोकेन्द्र बहादुर श्रेष्ठ, सागर गुरुङ, गणेश मान श्रेष्ठ लगायतका व्यवसायी तथा श्रमिक प्रतिनिधिहरू रहेका छन् ।
कार्यक्रममा सहभागीहरूलाई उद्योग क्षेत्रमा अपनाउनुपर्ने सुरक्षा मापदण्ड, आगलागी नियन्त्रण, विद्युतीय सुरक्षा, ग्यास सिलिण्डर प्रयोग, मेसिन सञ्चालन सावधानी, प्राथमिक उपचार तथा दुर्घटना व्यवस्थापनका विषयमा विशेष प्रशिक्षण दिइने बताइएको छ ।
केन्द्रले आगामी दिनमा देशभर यस्ता अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने संकेत दिएको छ । सहभागीहरूलाई दैनिक यातायात खर्च तथा खाजाको समेत व्यवस्था गरिएको जनाइएको छ ।
यस कार्यक्रमले वर्षौ देखि बेवास्तामा परेको श्रमिक सुरक्षाको मुद्दालाई नयाँ उचाइमा र्पुयाएको विश्लेषण गर्न थालिएको छ । उद्योग क्षेत्रमा हुने दुर्घटना न्यूनीकरण, श्रमिकको मनोबल वृद्धि तथा सुरक्षित कार्यसंस्कृति निर्माणमा यो अभियान कोसेढुंगा सावित हुन सक्ने अपेक्षा गरिएको छ ।
कार्यक्रम उद्घाटनपछि उपस्थित श्रमिकहरू निकै उत्साहित देखिएका थिए । कतिपयले “पहिलो पटक सरकारले हाम्रो सुरक्षालाई गम्भीर रूपमा लिएको महसुस भएको” प्रतिक्रिया दिएका छन् ।
नेपालमा उद्योग विस्तारसँगै श्रमिक सुरक्षाको प्रश्न जटिल बन्दै गइरहेका बेला सरकार र निजी क्षेत्रबीचको यस्तो सहकार्यले अब उद्योग क्षेत्रमा नयाँ सन्देश दिएको छ “काम मात्र होइन, श्रमिकको जीवन पनि सुरक्षित हुनुपर्छ ।”

