६ जेष्ठ २०८३, बुधबार

पुर्व सहकर्मी अशाेक सुवेदीमाथि महासचिव समरजंगकाे अनैतिक धन्दाकाे आराेप

काठमाडौं -समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव समरजंग ले पार्टीका पूर्वनेता अशोक प्रसाद सुवेदी विरुद्ध आरोप लगाउँदै बुधबार प्रेस विज्ञप्ति जारी गरेका छन् ।विज्ञप्तिमा पार्टीले अशोक सुवेदीलाई यसअघि नै सबै जिम्मेवारीबाट हटाइसकेको उल्लेख गर्दै निर्णय कार्यान्वयन गर्नुको सट्टा उनले पार्टी र नेतृत्वविरुद्ध अनैतिक ढंगले विषवमन गरिरहेको आरोप लगाइएको छ ।

महासचिव समरजंगले अशोक सुवेदीमा सुरुदेखि नै चरम महत्वाकांक्षा र पदलोलुप प्रवृत्ति रहेको दाबी गरेका छन् । पार्टीले अघि सारेको नयाँ विचार पाठशाला अवधारणाले उनको महत्वाकांक्षामा धक्का पुगेपछि असन्तुष्टि बढेको उल्लेख विज्ञप्तिमा गरिएको छ ।

त्यस्तै, ‘रातो खबर’ पत्रिका तथा अनलाइन सञ्चालनका नाममा पार्टीबाट अनुचित आर्थिक लाभ लिन खोजिएको आरोप पनि विज्ञप्तिमा समेटिएको छ । पार्टीले प्रारम्भमा सहयोग गर्ने तयारी गरे पनि आर्थिक दायित्वको विषयमा मिलोमतो देखिएपछि पछि हटेको दाबी गरिएको छ ।

विज्ञप्तिमा पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको विषय पनि उठाइएको छ । पार्टीको नीति र सामूहिक निर्णयभन्दा बाहिर गएर मनोमानी ढंगले सञ्चालन गर्न खोजिएको भन्दै उक्त प्रस्तावबाट पनि पार्टी पछि हटेको जनाइएको छ ।

समरजंगले अशोक सुवेदीले पार्टीमाथि लगाएका आरोपलाई हास्यास्पद भन्दै खारेज गरेका छन् । ‘सर्वहारावर्ग’ र ‘वैज्ञानिक समाजवाद’ जस्ता पदावलीमा मात्रै असहमति देखाइएको उल्लेख गर्दै त्यसलाई राजनीतिकरणका लागि बनावटी बहाना भनिएको छ ।

विज्ञप्तिमा अशोक सुवेदीले आफूलाई कार्यवाहक महासचिव घोषणा गर्दै केन्द्रीय समितिको बहुमत दाबी गर्नु पनि अनैतिक धन्दा भएको आरोप लगाइएको छ । प्रस्तुत गरिएका केही व्यक्तिहरू पहिले नै पार्टीबाट हटाइएका, केही अन्य दलसँग आबद्ध तथा भाडामा ल्याइएका पात्र भएको दाबी गरिएको छ ।

अन्त्यमा महासचिव समरजंगले कम्युनिस्टहरू नैतिकवान् र इमानदार हुनुपर्छ भन्दै पार्टीले पाखण्डीपनको विरासत तोड्न खोजेको उल्लेख गरेका छन् ।

`प्रेस विज्ञप्ति
हाम्रो पार्टीले कमरेड अशोक प्रसाद सुवेदीलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाएको निर्णय यसअघि नै सार्वजनिक गरिसकिएको छ । पार्टीको उक्त निर्णय कार्यान्वयन गर्दै आफूलाई सच्याउन अनुशासन पालना गर्नुको सट्टा उहाँले पार्टी र नेतृत्वका विरुद्ध अनैतिक रूपले विषवमन गरिरहेको तथ्य पनि सार्वजनिक भइसकेको छ। यो स्थितिमा पार्टीको नीति एवम् दृष्टिकोण थप स्पष्ट पार्न आवश्यक देखिएको छ।

१. पार्टीमा कमरेड अशोकको असन्तुष्टि
मुख्यतः कमरेड अशोकमा तिनवटा कारणले असन्तुष्टि पैदा भएको थियो । पहिलो, पार्टीभित्र प्रारम्भदेखि नै कमरेड अशोकमा चरम महत्वाकांक्षा र पदलोलुप चरित्र देखा पर्दै आएको थियो । उहाँमा कमरेड महासचिवको अत्याधिक चाकडी गर्दै आफूलाई महासचिवपछिको स्वघोषित पहिलो वरियतामा प्रस्तुत गर्ने समस्या रहँदै आएको थियो। पार्टीले ‘नयाँ विचार पाठशाला’ को अवधारणामार्फत केही विधिको विकास गरी यो समस्या समाधान गर्ने बाटो खोल्यो । यसबाट उहाँको चरम महत्वाकांक्षामाथि धक्का लाग्यो र उहाँमा असन्तुष्टि पैदा भयो ।

दोस्रो, उहाँ सम्बद्ध रातो खबर पत्रिका र अनलाइन लामो समयदेखि बन्द रहेको अवस्थामा त्यसलाई पार्टीको सहयोगमा
सञ्चालनमा ल्याउने गरी पार्टीले त्यसको आर्थिक दायित्व बेहोरिदिनु पर्नेमा उहाँको जोड थियो । प्रारम्भमा यसप्रति पार्टी
सकारात्मक हुँदै रातो खबरको स्वामित्व र सञ्चालन तथा व्यवस्थापन पार्टीले लिने गरी छलफल पनि भएको थियो। तर, कमरेड अशोकले रातो खबरसँग जोडिएका भनिएका पार्टी बाहिरका व्यक्तिहरूसँगको मिलोमतोमा रातो खबरको ऋण, तिर्नुपर्ने आर्थिक दायित्वको ठुलो रकम देखाएर पार्टीबाट नाजायज लाभ उठाउन खोजेको तथ्य पत्ता लागेपछि पार्टीले त्यसलाई पन्छाइदिएको थियो । यो विषयले पनि कमरेड अशोकमा असन्तुष्टि बढाइदियो । तेस्रो, कमरेड अशोकले पार्टीको आडमा पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको प्रस्ताव अघि बढाएपछि उहाँकै प्रस्तावअनुसार प्रारम्भमा पार्टीले त्यसको स्वामित्व लिने र सहयोग गर्ने गर्दै आएको थियो। तर, उहाँले त्यसलाई पार्टीको नीति, योजना र सामूहिक निर्णयभन्दा बाहिर गएर मनोमानी ढङ्गले चलाउने र त्यसमा पार्टीलाई घिसार्न खोज्ने, पार्टीलाई प्रयोग गर्न खोज्ने गरेको देखिएपछि पार्टीले त्यसलाई पनि पन्छाइदियो। यो विषयले पनि कमरेड अशोकमा असन्तुष्टि थप बढाइदियो । यी सबै विषयको कूल योगको परिणामको रूपमा कमरेड अशोकमा असन्तुष्टिको थुप्रो जम्मा भयो र त्यसलाई राजनीतिकरण गर्नको लागि उहाँले पार्टीको ‘नयाँ विचार पाठशाला’ को अवधारणामाथि कथित असहमति आविस्कार गर्नुभयो । त्यसले उहाँलाई कमरेड महासचिवको अत्याधिक चाकडी गर्ने ठाउँबाट सत्तोसराप गर्ने ठाउँमा पुऱ्यायो। आजको उहाँको हविगत यसै को उपज हो।

२. कमरेड अशोकद्वारा पार्टीमाथि लगाइएका आरोपहरू:
कमरेड अशोकले पार्टीमाथि लगाएका आरोपहरू आफैमा हास्यास्पद छन् । सम्भवतः अशोकसँग परिचित मान्छेले ती आरोपहरू र कमरेड अशोकको अनुहारलाई एकै ठाउँमा राखेर हेर्यो भने सम्झी सम्झी दिनमा दसपटक हाँस्छ होला ! कमरेड अशोकले पार्टीमा दर्ज गराएको भनिएका असहमति दुईवटा पदावली मात्र हुन्ः ‘सर्वहारावर्ग’ को सट्टा ‘श्रमजीवीवर्ग’, र ‘वैज्ञानिक समाजवाद’ को सट्टा ‘समाजवाद’ । यी विषयमाथि प्रशस्त छलफल भएको छ। उहाँले आफ्नो ‘असहमति’ लाई तार्किक रूपले राख्न सकेको पनि होइन। उहाँले आफ्नो ‘असहमति’ भनिएको विषयलाई स्पष्ट र तार्किक रूपले राख्न नसक्नुको कारण के हो भने यो उहाँको सक्कली कुरा थिएन। माथि बताइएका असन्तुष्टिहरूको पोकोलाई राजनीतिकरण गर्नको लागि उहाँले यी ‘असहमति’ का बनावटी बहाना गर्नुभएको थियो भन्ने कुरा नै पुष्टि हुन्छ। वैचारिकी निर्माणको चरणमा पार्टीभित्र केही सैद्धान्तिक विषयका पदावलीमा विमति रहनु सामान्य कुरा हो, यसलाई विधि र विचार दुवैमा समाधान खोज्ने उद्देश्यले सम्मानपूर्वक दर्ज गरिसकिएको अवस्थामा पार्टीका विरुद्ध अनैतिक ढङ्गले भँडुवा गतिविधि गर्नुले उहाँको गैरकम्युनिस्ट चिन्तन र प्रवृत्तिलाई प्रकट गर्दैन र ?
यी दुईवटा पदावली बाहेक पार्टीका निर्णयहरूमा कमरेड अशोकले कहीँकतै असहमति राख्नुभएको छैन । पार्टीको जिम्मेवारी पुरा नगर्ने व्यक्तिहरूको बारेमा गरिएको निर्णयमा होस् वा पार्टीका विभिन्न समितिहरूमा कमरेडहरूलाई जिम्मेवारी प्रदान गरिएको निर्णय होस्, जनसङ्गठनहरूको नाम र जिम्मेवारी हेरफेर गर्ने निर्णय होस् वा कार्यक्षेत्र र विभागीय कामको जिम्मेवारीको निर्णय होस्, सबैमा कमरेड अशोकको सहभागिता र सहमति रहेको कुरा माइन्युटमा लिपिबद्ध नै छ। आफ्नो तहको बैठकमा निर्णय गर्दा सहमति जनाउने, हस्ताक्षर गर्ने तर मातहतका कमरेडहरूलाई गलत सूचना दिएर भड्काउने, पार्टी निर्णयका विरुद्ध उक्साउने कमरेड अशोकको यो कुन ‘सर्वहारा’ वर्गीय संस्कार हो ? यो कुन ‘वैज्ञानिक समाजवादी’ परम्परा हो ?

३. नयाँ विचार पाठशालाको अवधारणा
पार्टीले कम्युनिस्ट आन्दोलनमा विचारको सङ्कट पैदा भएको निष्कर्षका आधारमा विचारको सङ्कट समाधान गर्ने कार्यभारलाई आफ्नो कार्यसूचिमा राखेको छ । यसअनुसार नयाँ विचार पाठशालाको अवधारणा विकास गरी बहसमा लैजाने निर्णय गरेको छ। यो निर्णयमा कमरेड अशोकको असहमति कतै थिएन। पार्टीको जिम्मेवारीबाट हटाइएको भोलिपल्ट उहाँमा कुन आकाशबाणणीले काम गर्यो ? वा कुन दिव्यज्ञान आयो ? र, यसमाथि कृत्रिम असहमति प्रकट भयो ?

४. कमरेड अशोकको अनैतिक धन्दा:
कमरेड अशोकले विज्ञप्तिमार्फत आफैलाई कार्यबाहक महासचिव घोषणा गर्दै केन्द्रीय समितिको बहुमत देखाउन केही भाडामा लिइएका मान्छेहरूको नामावली पेश गरेको देखियो। यी नामहरूमध्ये ५ जना मिति २०८३।०१।०५ गतेको बैठकबाट हटाइएका व्यक्तिहरू हुन् । १ जना एमालेको सदस्य हुन् र अर्को १ जना राजेन्द्र महतोको पार्टीका सदस्य हुन् । यसरी केही पार्टीको जिम्मेवारीबाट पहिल्यै हटाइएका र केही भाडामा लिइएका पात्रहरूलाई जम्मा गरेर केन्द्रीय समितिको बहुमत भन्दै जगत हँसाउने काम गर्नु कमरेड अशोकको अनैतिक धन्दा हो।
अन्त्यमा,
कम्युनिस्टहरू नैतिकवान् र इमानदार हुनु पहिलो सर्त हो। नैतिकवान् र इमानदार हुन नसक्ने मान्छे कम्युनिस्ट बन्न सक्तैन । शब्दमा चर्को क्रान्तिकारी देखिने तर व्यवहारमा अनैतिक धन्दामा रमाउने पाखण्डीपनको विरासतलाई हाम्रो पार्टीले तोड्न चाहन्छ । यो नै नयाँ विचार पाठशालाको मर्म हो। यसै जगमा मात्र एक्काइसौं शताब्दीको क्रान्तिको नेतृत्व गर्नलायक पार्टी निर्माण हुन सक्छ भन्ने हाम्रो ठहर छ। पहेंलिएका पातहरू झर्छन्, नयाँ पालुवा पलाउँछन् । प्रकृति विज्ञानको यो नियम समाज विज्ञानमा पनि लागु हुन्छ ।
समरजङ्ग
महासचिव´