१ जेष्ठ २०८३, शुक्रबार

काठमाडौंलाई स्वच्छ बनाउने जनलहर : चक्रपथ सरसफाई महाअभियानको ४७६ औं हप्तामा फोहोर संकलन प्रतियोगिता हुँदै

काठमाडौं । राजधानीलाई स्वच्छ, सफा र सुन्दर बनाउने लक्ष्यसहित वर्षौंदेखि निरन्तर चलिरहेको “चक्रपथ सरसफाई महाअभियान” ले आफ्नो ४७६ औँ हप्तामा प्रवेश गरेको छ । सामाजिक उत्तरदायित्व, नागरिक सचेतना र वातावरण संरक्षणको सन्देश बोकेको यस अभियान अन्तर्गत आगामी २०८३ जेठ २ गते शनिबार विशेष फोहोर संकलन प्रतियोगिता आयोजना गरिने भएको छ ।

दशक नाघ्दै गएको यो अभियान केवल सरसफाइ कार्यक्रम मात्र नभई काठमाडौंलाई प्रदूषणमुक्त बनाउने सामाजिक आन्दोलनको रूपमा स्थापित हुँदै गएको अभियानकर्मीहरू बताउँछन् । हरेक हप्ता बिहानै सडकमा निस्किने स्वयंसेवक, युवाहरू र सामाजिक अभियन्ताहरूको निरन्तर सक्रियताले राजधानीका धेरै क्षेत्रमा सकारात्मक सन्देश फैलिएको छ ।

चक्रपथ सरसफाई महाअभियानको आयोजनामा हुने उक्त कार्यक्रमका संयोजक लोक बहादुर टण्डन रहेका छन् भने व्यवस्थापनको जिम्मेवारी डिबि पराजुली र तिलक बस्नेतले सम्हालिरहेका छन् । कार्यक्रमको मिडिया संयोजन लिला खनालले गरिरहेकी छन् भने स्वयंसेवक संयोजन जित बहादुर हमालले गर्ने भएका छन् ।

यस पटकको अभियानलाई थप प्रभावकारी बनाउन विभिन्न संघसंस्था, व्यवसायिक प्रतिष्ठान र सञ्चारमाध्यमहरूको उल्लेखनीय साथ प्राप्त भएको आयोजकले जनाएको छ । कार्यक्रमको मुख्य प्रायोजकको रूपमा ग्रीनसिटी हस्पिटल रहेको छ ।

त्यसैगरी नेप्सेम्याक सेवा प्रालि, हिमालयन वातावरण संरक्षण प्रा.लि., खुशी इन्डस्ट्रिज नेपालको उत्पादन “माईती लिक्वीड डिसवार”, ॐ बुद्ध डेन्टल प्रा.लि. बाईपास , खुशी डेरी उद्योग तथा पानी व्यवस्थापनमा दिक्षा थापा कलंकीले सहयोग गरिरहेका छन् ।

अभियानलाई जनस्तरसम्म पुर्‍याउन विभिन्न सञ्चारमाध्यमहरूले समेत मिडिया सपोर्ट गरिरहेका छन् । तुफान न्यूज डटकम, राष्ट्रिय खबर डटकम, नेपाली मिडिया अनलाइन टिभी, बिएमएन न्युज, मिसन भण्डाफोर, रोज नेपाल डटकम र साराखबर डटकमले अभियानलाई समाचार, प्रचारप्रसार र जनचेतनामार्फत साथ दिइरहेका छन् ।

अभियानकर्मीहरूका अनुसार “फोहोरमुक्त काठमाडौं” केवल नारामा सीमित नभई व्यवहारमा उतार्न सबै नागरिकको साथ आवश्यक छ । वातावरणीय संकट, प्रदूषण र अव्यवस्थित फोहोर व्यवस्थापनका कारण राजधानीको अवस्था दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गइरहेका बेला यस्तो अभियानले नागरिकमा जिम्मेवारीबोध जगाउने विश्वास गरिएको छ ।

४७६ हप्तासम्म निरन्तर एउटै अभियानलाई जिवन्त राख्नु आफैंमा असाधारण उदाहरण भएको भन्दै आयोजकहरूले सबै सरोकारवाला निकाय, युवा, विद्यार्थी, सामाजिक अभियन्ता तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई “सफा काठमाडौं” अभियानलाई थप बलियो बनाउन आग्रह गरेका छन् ।