२३ भाद्र २०८१, आईतवार

काठमाडौँ महानगर प्रहरी र बालेनको ज्यादतीविरुद्ध क्रान्तिकारी ट्रेड युनियन महासङ्घको चेतावनी

काठमाडौँ : नेकपा (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले श्रमजीवी जनतामाथि काठमाडौँ महानगर प्रहरी र मेयर बालेन शाहका क्रियाकलापले सीमा नाघेको भन्दै श्रमिक जनतालाई दलाल पुँजीवादी व्यवस्थाविरुद्ध लड्न र संसदीय चुनाव अवज्ञा गर्न आह्वान गरेको छ । महासङ्घका अध्यक्ष विनोद थापाले शनिबार साँझ विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यतिखेर राज्य दलाल पुँजीवादी संसदीय व्यवस्थालाई थप सुदृढ पार्न निर्वाचनमा जुटेको छ । संसद्वादी पार्टीहरूलाई चुनावी सरगर्मीले छोएको छ । मङ्सिर ४ गते हुन लागेको चुनावी नौटङ्कीले श्रमजीवी जनता आक्रान्त बन्न पुगेका छन् ।’

श्रमिक–उत्पीडित जनतामाथि थोपरिएको ज्यादती उल्लेख गर्दै अध्यक्ष थापाले विज्ञप्तिमा भनेका छन्, ‘अहिलेको संसदीय व्यवस्थाले कसैको हित गर्न सक्दैन बरु यति बेला सर्वहारा, उत्पीडित श्रमिक वर्ग भने बिहान–बेलुकाको छाक कसरी टार्न सकिन्छ भन्ने पिरलोले छट्पटाइरहेका छन् । राजनीतिक वृत्तमा कहिल्यै अस्तित्वमा नरहेका पात्र–प्रवृत्तिहरू सतहमा देखिइरहेका छन् । कोही स्वतन्त्रका नाममा उद्दण्डता मच्चाइरहेका छन् । साम्राज्यवादी भूमण्डलीकृत पुँजीवादको असली पहरेदारका रूपमा खडा भई श्रमिक, मजदुर, भूमिहीन किसानहरूमाथि अमानवीय हर्कत देखाइरहेका छन् । विभेदकारी कानुनको खुबै ठूलो वकालत गर्दै मजदुरको पेटमा लात हान्ने काम गरेका छन् ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘पछिल्लो चरणमा काठमाडौँका मेयर र नगर प्रहरीको सत्ता–उन्मादका कारण राज्यआतङ्क र ज्यादतीले पराकाष्ठा नाघेको छ । मेयरको डिस्को डान्स र ठेलागाडा प्रकरण र सामाजिक सञ्जालमा एउटी महिला आफ्नो जीवनको भिक मागिरहेको दर्दनाक, कारुणिक दृश्यले दलालहरू कति निकृष्ट छन् भन्ने कुराको पुष्टि भएको छ । काठमाडौँ महानगरमा बसोबास गर्ने स्थानीय बासिन्दा नेवार समुदाय, स्वरोजगार, ठेला मजदुर, फुटपाथ व्यापारीलगायतलाई विकल्पविहीन अवस्थामा पुर्याइएको छ । त्यसको चपेटामा पुनः शर्मिला तामाङ परेकी छिन् । यो क्रम जारी नै छ । यसर्थ आवारा वर्गको राजनीतिक भद्दा नमुना सदाका लागि अन्त्य गरी सम्पूर्ण श्रमिकलाई राज्यले न्यायोचित विकल्प नदिएसम्म श्रमजीवी वर्गले न्यायको लडाइँ जारी राख्न र हाम्रो जीविकामाथि तानाशाही हर्कत प्रदर्शन गर्ने दलाल पुँजीवादी सत्ताको हरेक अङ्गमाथि खबरदारी गर्दै आगामी संसदीय चुनावमा भोट नहाली कथित चुनावलाई अवज्ञा गर्न हाम्रो सङ्गठन सम्पूर्ण श्रमिक वर्गलाई यसै प्रेसविज्ञप्तिमार्फत हार्दिक अपिल गर्दछ ।’