जाजरकोट :जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–४ अन्तर्गत मौरीभिर मतदान केन्द्रमा निर्वाचन सम्पन्न भइसकेपछि ३०० थान प्रत्यक्षतर्फका मतपत्र फेला परेको घटनाले स्थानीय तहमा व्यापक चासो र चिन्ता उत्पन्न गरेको छ।
मतदान प्रक्रिया सकिएपछि यति ठूलो संख्यामा मतपत्र भेटिनु सामान्य नभएको भन्दै स्थानीय बासिन्दा र सरोकारवाला निकायले निर्वाचन कार्यालयको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन्।
स्थानीयका अनुसार मतदान सकिएर मतगणना प्रक्रिया अघि बढिसकेको अवस्थामा मतपत्र भेटिनु शंकास्पद देखिएको छ। “यदि यी मतपत्र प्रयोगमा आउनुपर्ने थिए भने किन छुटे? र यदि प्रयोगमा नआएका हुन् भने किन सुरक्षित व्यवस्थापन गरिएन?” भन्ने प्रश्न अहिले व्यापक रूपमा उठिरहेको छ।
यस घटनाले निर्वाचनको पारदर्शिता र विश्वसनीयतामाथि समेत प्रश्न चिन्ह खडा गरेको छ। कतिपयले यसलाई गम्भीर लापरबाहीको परिणाम मानेका छन् भने केहीले सम्भावित अनियमितताको आशंका पनि व्यक्त गरेका छन्।
यद्यपि, घटनाबारे निर्वाचन कार्यालयले अहिलेसम्म औपचारिक धारणा सार्वजनिक गरेको छैन। मौरीभिर मतदान केन्द्रस्थित गोरख आधारभूत विद्यालयका स्रोतका अनुसार फेला परेका मतपत्र प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिइएको छ।
स्थानीय बासिन्दाले निष्पक्ष छानबिन गरी यथार्थ सार्वजनिक गर्न माग गरेका छन्। उनीहरूले दोषीमाथि कडा कारबाही गर्नुपर्ने र भविष्यमा यस्ता घटना दोहोरिन नदिन सशक्त निगरानी प्रणाली आवश्यक रहेको बताएका छन्।
यस घटनाप्रति राजनीतिक दलहरूले पनि गम्भीर ध्यानाकर्षण जनाउँदै निर्वाचन व्यवस्थापनमा ठूलो लापरबाही भएको आरोप लगाएका छन्। उनीहरूले तुरुन्त पारदर्शी अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेको जनाएका छन
