१५ फाल्गुन २०८२, शुक्रबार

मधेश केन्द्रित एजेन्डासहित भरत गिरीको जनतासँग प्रत्यक्ष संवाद

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मधेश प्रदेश अध्यक्ष तथा समानुपातिक उम्मेदवार भरत गिरी यतिबेला मधेश प्रदेशमा कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रममा सक्रिय रूपमा अघि बढिरहेका छन। मधेश र यहाँका जनताको उन्नति तथा प्रगतिलाई मुख्य एजेन्डा बनाउँदै उनी गाउँ–गाउँ, टोल–टोलमा पुगेर मतदाता भेटघाटमा व्यस्त छन।

भरत गिरी मधेश प्रदेशका विभिन्न जिल्लामा पुगेर जनमानसका गुनासा, सुझाव तथा अपेक्षा संकलन गर्दै चुनावी कार्यक्रममा सहभागी भइरहेका छन। उनका अनुसार अभियानलाई प्रभावकारी र सफल बनाउन केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, जिल्ला तथा स्थानीय तहका कार्यसमिति, उम्मेदवार र भ्रातृ संगठनहरूले आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको छ।

अध्यक्ष गिरीले वर्तमान समयमा कृषि उत्पादन वृद्धि, किसानमुखी नीति अवलम्बन, ऊर्जा तथा पानीको सदुपयोग, शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणात्मक सुधार, धार्मिक–सांस्कृतिक पहिचानको संरक्षण तथा आर्थिक आत्मनिर्भरतालाई राप्रपाको प्रमुख प्राथमिकताका रूपमा अघि सार्नुपर्नेमा जोड दिएका छन।

मधेशका विभिन्न स्थानमा सम्पन्न घरदैलो कार्यक्रम र कोणसभामार्फत जनतासँग प्रत्यक्ष संवाद गर्दै गिरीले राप्रपाको योजना, कार्यदिशा र प्रतिबद्धता जनतामाझ स्पष्ट रूपमा पुगेको दाबी गरे। उनले आगामी निर्वाचनमा राप्रपाका उम्मेदवारहरू विजयी हुने विश्वाससमेत व्यक्त गरेका छन।

“राष्ट्रहित, सुशासन र समृद्ध मधेश निर्माणप्रति हाम्रो प्रतिबद्धता स्पष्ट छ,” उनले भने।

आगामी निर्वाचनमा चुनाव चिन्ह ‘हलो’मा मतदान गरी राप्रपालाई सशक्त बनाउन उनले मतदातासँग अपिल गरेका छन।

राप्रपाले ‘देशको भलोमा, एक भोट हलोमा’ नारासहित मधेश केन्द्रित चुनावी अभियानलाई तीव्रता दिएको जनाएको छ। कार्यक्रममार्फत पार्टीले संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन तथा मतदाता संवादलाई उच्च प्राथमिकतामा राखेको बताइएको छ।