– सुप्रेरक बिडारी
निर्वाचनको मुखमा देश फेरि राजनीतिक बहसको आँधीमा छ। सामाजिक सञ्जालदेखि सडकसम्म नाराहरू छन्, वाचा छन्, आश्वासनका भारी बोकिएका छन्। तर प्रश्न उही छ—के यी होडबाजीले देशलाई साँच्चै निकास दिन सक्छन्? कि फेरि पनि हामी केवल भावनाको भीडमा उभिएका दर्शक मात्र बन्ने हो?
आजको पुस्ता, विशेषतः Gen Z, परिवर्तनको भाषा बोलिरहेको छ। उनीहरू पारदर्शिता, सुशासन र उत्तरदायित्व खोजिरहेका छन्। तर दुर्भाग्य, राजनीतिक ‘manipulation’ को खेल पनि त्यत्तिकै गहिरिएको छ। नयाँ अनुहार आए भने नयाँ युग सुरु हुन्छ भन्ने विश्वास दिलाइँदैछ, तर नयाँ अनुहार मात्र परिवर्तनको ग्यारेन्टी होइन। परिवर्तन सोचमा, प्रणालीमा र मूल्यमा हुनुपर्छ।
के निर्वाचनभन्दा अघि युवाका आधारभूत मागहरू सम्बोधन हुनुपर्दैन? रोजगारी, शिक्षा, अवसर, समानता र भ्रष्टाचारमुक्त शासन—यी कुराहरू सुनिश्चित नगरी केवल चुनाव गरिरहनु समाधान हो त? निर्वाचन लोकतन्त्रको आधार अवश्य हो, तर लोकतन्त्रको आत्मा सुशासन र नैतिक राजनीति हो।
मेरो धारणा स्पष्ट छ—नेपालमा राजसंस्थालाई पुनः संवैधानिक सीमाभित्र स्थान दिनु आवश्यक छ। कसैले यसलाई राजावाद भन्ला, तर प्रश्न व्यक्तिको होइन, संस्थाको हो। नेपाल केवल भूगोल होइन, इतिहास र आध्यात्मिक परम्पराको संगम हो। पृथ्वीनारायण शाहले गरेको एकीकरण केवल राजनीतिक घटना थिएन; त्यो सांस्कृतिक र राष्ट्रिय एकताको आधार थियो। जब हामीले इतिहास र पहिचानलाई बिर्स्यौं, राजनीतिक स्वार्थको प्रभावमा पर्यौं, त्यहीँबाट विखण्डन सुरु भयो।
आज देशलाई चाहिएको छ—एकता। त्यो एकता दलगत निष्ठाभन्दा माथि हुनुपर्छ। संविधानिक राजसंस्था एउटा साझा प्रतीकका रूपमा उभिन सक्छ, जसले दलभन्दा माथि रहेर राष्ट्रलाई प्रतिनिधित्व गर्छ। यसले सत्ता सञ्चालन नगरी, तर राष्ट्रिय एकताको धुरी बनेर भूमिका खेल्न सक्छ।
संस्कृति र धर्मको प्रश्न पनि त्यत्तिकै गम्भीर छ। सनातन परम्परा केवल आस्था होइन, ज्ञान र जीवनदर्शन हो। “एक ब्रह्म, द्वितीयो नास्ति” भन्ने सिद्धान्तले विविधतामा एकता सिकाउँछ। हिन्दू दर्शन आफैंमा सहिष्णु र समावेशी छ—त्यसैले त्यसलाई असहिष्णुताको प्रतीक बनाउनु अज्ञानता हो। हाम्रो पुरानो अध्ययन, गुरुकुलीय परम्परा, आध्यात्मिक चिन्तन—यी सबै हाम्रो बौद्धिक सम्पत्ति हुन्। आधुनिक शिक्षा आवश्यक छ, तर आफ्नो जरा बिर्सेर होइन।
आजको Gen Z लाई आफ्नो पहिचान बुझ्न अवसर दिनुपर्छ। आधुनिकता र परम्परा विरोधी होइनन्; समन्वय हुन सक्छ। धर्मको संरक्षण भनेको अरूको अधिकार हनन होइन, आफ्नो सम्पदाको रक्षा हो।
यो निर्वाचनमा धेरै घोषणापत्र देखिए, तर “हामी सबै नेपाली हौं” भन्ने भाव कम देखियो। दलका समर्थक धेरै भए, तर राष्ट्रका समर्थक कति? नेपाल भक्ति दलभन्दा माथि हुनुपर्छ।
अन्ततः, परिवर्तन केवल सरकार बदल्नु होइन—चेतना बदल्नु हो। नयाँ पुस्ताले प्रश्न उठाउनु पर्छ, बहस गर्नुपर्छ, तर आफ्नो जरा र पहिचानसँग जोडिएर। संविधानिक राजसंस्था, सुशासन, भ्रष्टाचारमुक्त राजनीति र सांस्कृतिक संरक्षण—यी सबै मिलेर मात्र देशले निकास पाउन सक्छ।
अब हामी आफैंलाई सोध्ने समय आएको छ—हामी दलका भक्त हौं कि राष्ट्रका?
